• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कालीञ्चोक मन्दिरः एक्लै त जानहुन्न!

६ वर्ष अघि, सायद साउन महिना थ्यो। सम्झना पनि मधुरो मधुरो भैसकेछ। झरीसँगै कुहिरो लागेको मौसम भने मलाई प्रष्टै याद छ।
एक्लै जाँदा खिचिएको कालिञ्चोक मन्दिर

काठमाण्डौबाट साथीले खबर पठाथ्यो। हामी केहि दिनमै चरिकोट आउँदैछौं। कालिञ्चोक लगिदिनुपरो।

उ र उसकी प्रेमीका मोटरसाइकलमा चरिकोट आइपुगे। मैले अफिसमा समय मिलाएर कालिञ्चोक जाने योजना अन्तिम बनाएँ।


हामी विहानै पैदल जाने भयौं। वर्षा र भर्खरमात्र बनेको सडकका कारण मोटरसाइकल नलाने निधो भो। अर्को सहायक कारण चाँहि ३ जना हुनु पनि थियो । 
उनिहरु डिएसएलआर क्यामेराका साथ आएथे। म पथपर्दर्शक। विहान उज्यालो खस्नेवित्तिकै हामी उकालो लाग्यौं। 

साथीहरु खुलेको मौसमको सदुपयोग गरिराथे। वर्षाको समय। हामीले वर्षामा जोगिन कुनै सामाग्रीको जोहो गरेका रैनछौं । सिमसिम पानी परेपछि हामीले प्लाष्टिक खोजी गर्‍यौं। सायद साथीहरुसँग मोटरसाइकल चढ्दा लगाउने वर्षाती थियो होला। त्यो पनि चरिकोटमै छोडेछन् ।

हामीले देउरालीमा प्लाष्टिक किन्यौ । खरिजुकाबाट जोगिनु अर्को मूख्य ध्याउन्न भो। हामी गफ गर्दै गर्दै उकालो लाग्यौं। मलाई उनिहरुले अगाडि हिड्न भने। जसले उनिहरुलाई अझै धपेडी भो। उकालो बाटो, सायद उनिहरुको हिड्ने बानी थिएन ।

गैरीमा हामीले चिया खायौं। चौरी माथी लेक चढेका कारण चौरीको दूध खाने साथीहरुको इच्छा अधुरै भो। 

कुरी नजिकको फलामे डाँडामा पुग्नुअघि २ जनालाई टाउको दुख्न सुरु भो। एकछीन बसेर थकाइ मार्दा पनि दुखाइ कम भएन। लेक लागेको भन्नेमा एकमत भइयो। साथीहरु विस्तारै चरिकोटतिरै फर्कने कुरा भो। उनीहरुको भेटी समेत बोकेर म मन्दिरतिर लागें। 

कुरीका होटल सुनसान थिए। यो तिर्थालु आउने मौसम नभएर होला। सडक बनेपछि हिँडेर मन्दिर आउनेहरु गाडी नै कुर्न लागेका थिए। वर्षामा गाडी चल्दैनथ्यो। 

चिसो अनुभव भो। म एउटा होटलमा छिरें। होटल चलाउने दिदी तारेभिरकी तामाङ रहिछन्। तारेभिर पुग्न कुरीबाट १ घण्टाजति हिँड्न पर्छ रे। 

चिया र बिस्कुट खाँदै गर्दा उनले मन्दिर जान लाग्नुभा भनेर सोधिन। मैले चिया सुर्क्याउँदै टाउको हल्लाएँ। कहाँदेखि आउनुभो उनको अर्को प्रश्नमा मैले इशारा गरेर मात्र नपुग्ने भो। म चरिकोटबाट साथीहरु काठमाण्डुबाट। मैले छोटोछोटो कुरा गरेकाले होला उनले अरु केहि सोधिनन्। पैसा तिरेपछि म उकालो लागें। 

मन्दिर सुनसान थियो। चारैतिर कुहिरो घुमिरहेको थियो। उकालो चढ्दै गर्दा परेको पानी रोकिएको थियो। साथीको क्यामेराबाट केही तस्विरहरु खिचें। मन्दिर पुगेर वल्लो र पल्लो छेउबाट तस्विर लिएँ। मन्दिरमा दर्शन गरें । कुण्डबाट जल र पाती लिएपछि म ओरालो लागें। 
पढ्नका लागि तस्विरमा क्लिक गर्नुहोस अन्नपूर्ण फु्र्सद २०७६ बैशाख १४ पेज च

अघि चिया खाको होटलकी दिदी होटलबाहिर भेटिइन्। 

'एक्लै पो मन्दिर पुगेर आउनुभो कि क्या हो?'  

'हो त साथीहरु त लेक लागेर फलामेडाँडा उक्लनै सकेनन्।' म बोल्दै गर्दा उनको निधार एकदमै मुजामुजा परेको थियो। अनुहार पनि फरक थियो। 

'एक्लै त जानुहुने थिएन। तपाँइलाई केहि भा छैन नि....'

'छैन त। एक्लै जानु हुन्न र?'

'तिम्रो दिन बलियो रैछ भाई।' मैले उनिसँग धेरै सवालजवाफ गरिँन । अघि लेक लागेर बीचैबाट फर्किएका साथीहरु भेट्न मलाई हतारो थियो । 
...................

मन्दिर गएर आएको केहिपछि चरिकोटको इमेज प्रिन्टिङ प्रेसमा कालिञ्चोक मन्दिरको कुरा चल्यो । प्रेस सञ्चालक अनिल श्रेष्ठलाई केहि दिनअघि म एक्लै मन्दिर पुगेर आएको कुरा सुनाएँ । उनले पनि पत्याएनन् । मैले बाटोमा खिच्दै गएका तस्विरहरु प्रमाणका रुपमा पेश गरेपछि उनलाई पत्याउन करै लाग्यो । उनले पनि दोहोर्‍याए '...दिन बलियो रैछ बाहुनको!'

म अचम्मा परेको थिएँ । धेरै पटक कालिञ्चोक गइसकेको थिएँ । तर एक्लै गएको भने त्यही बेलामा मात्रै रैछ । 

किन एक्लै जान नहुने मन्दिरमा ? मेरो प्रश्नमा केहि बेर नबोलेपछि उनले विस्तारै भने साँच्चै थाहा नपाएरै गा हो? 

मलाई त थाहा छैन । म गएँ केहि पनि भएन त खै । 

त्यसपछि उनले त्यहाँको कथा सुरु गरे । '…एकजना मानिस पाठी पुजा गर्न गएछ । मन्दिरमा एकलै गएको उसले पाठी पुजा पनि गरेछ । त्यसपछि ऊ मन्दिरबाट फर्केछ। अलि तल आइपुग्दा उसको ध्यान कम्मरमा भएको खाली दापमा गएछ । ओहो ! मैले खुकुरी त मन्दिरमै पो बिर्सिएछु भनेर उ मन्दिरतर्फ फर्कि गएछ । मन्दिरमा देवीले उसले छोडी गएको खुकुरीमा लागेको रगत चाट्दै गरेको देखेछ । उसलाई देखेर देवीले किन आइस भनेर सोधीछन् । उसले खुकुरी छुटेको र त्यहि लिन आएको बताएछ । ल तँ गलत समयमा आइस । अव तँ फर्कन पाउन्नस् । देवीले यति भनेपछि उसको त्यसै ठाउँमा मृत्यु भएछ ।'
....................

मान्छे साँच्चै मरेको थियो वा के थियो? मरेकै थियो भने कहाँको को मरेको थियो? मानिस एक्लै थियो भने उ मरेको कुरा चाँहि कसले कसरी थाहा पाएर श्रुति परम्परा बस्यो ? प्रश्नहरु अनुत्तरित छन् । तर पनि यो कथा कालिञ्चोक क्षेत्रमा प्रचलित छ । र यसले भक्तजनमा गतिलै प्रभाव छोडेको छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना