• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

खरानीबाट रानी भएको जापान र हामी नेपाली !

यो लेख ९ अगष्ट २०२१ (२०७८ साउन २५) मा प्रकाशन हुने गरी लेख्नु पर्ने थियो । अगष्ट ६ तारेखमा सक्न सकेको भए ! त्यसो हुँदा यो लेखको सान्दर्भिकता अलिक धेरै हुने थियो । आफ्नै कारणले यो जुन दिन प्रकाशन हुनुपर्ने त्यसदिन मात्रै अन्तिम रुप दिएर छापिने अनलाईनलाई मेल गर्न सकियो । के कस्तो भो ? त्यो पाठकहरुले प्रतिकृया जनाउनुहुनेछ नै ।


अहिले अगष्ट । अगष्टको ६ र ९ मा मानव इतिहासकै महत्वपूर्ण घटनाहरु भएका छन् । आणविक वम विष्फोटन । सारा संसारलाई यो गम्भिर लागेपनि वम बोकेर जाने जहाजका पाइलटलाई भने यो त्यती गम्भिर लागेको थिएन। उनले एक अन्तर्वातामा भनेका छन् । जापानका हिरोसिमा र नागासाकीमा बम खसालेकोमा मलाई कुनै आत्मग्लानी छैन । यसले खराबभन्दा असल गर्‍यो । युद्ध रोकियो ।


जापानको नागासाकीमा अणुवम खसेको थियो आजभन्दा ७६ वर्षअगाडि । हिरोशिमा शहरमा भएको पहिलो आणविक बम प्रहारबाट झण्डै १ लाख ५० हजार मानिसहरुको मृत्यु भएको थियो । लिटिल ब्वाइ नाम दिइएको उक्त परमाणु बम प्रहारको तीन दिन पछि अगष्ट ९ मा अर्को शहर नागासाकिमा पनि फ्याट ब्वाइ नामक आणविक बमको विष्फोट गराइएको थियो । यसमा करिब ७५ हजार मानिसको ज्यान गएको थियो ।


त्यसले जापानलाई वम खसाल्ने पाइलट पल टिबेट्सकै शब्दमा भन्दा खरानी बनाएको थियो (हेर्नुहोस अन्तर्वार्ता)। त्यसरी खरानी भएको देश आज रानी हुन पुगेको छ । उसले त्यसबेला संविधान बनाएको रैछ । त्यो आजसम्म कायम छ । हामीले ८ ओटा संविधान वनायौै । ७ ओटा लागु नै गरिसक्यौं । भर्खरैको पनि त्यती गतिलो छैन भन्ने बहस सुरु भएको छ । भर्खरै जापानले ओलम्पिक खेलकुद आयोजना गर्‍यो । विश्वकप फुटबल पनि उसले दक्षिण कोरीयासँग मिलेर आयोजना गरिसकेको छ ।


दोस्रो विश्वयुद्धमा जापानको पराजय भएपछि अमेरिकी गठबन्धनको नेतृत्व गरेका जनरल म्याकार्थरले बनाएको संविधान जापानले बाध्य भई स्वीकार्नुपर्‍यो । सन् १९४६ को ‘म्याकार्थर’ संविधानको अधीनमा आजसम्म बिना संशोधन नै जापानले लोकतान्त्रिक अभ्यास गरिरहेको छ । संविधानविद काशिराज दाहालले गोरखापत्र दैनिकमा २०७७ असोज ३ मा लेखेको संवैधानिक लोकतन्त्र, अभ्यास र अनुभव शिर्षकको लेखमा परेको यो अंशले हामीलाई जापानको संविधानका बारेमा बुझ्न धेरै सघाउँछन् । जित्नेले हार्नेका लागि लेखिदिएको संविधान कस्तो थियो होला ! यस्तो प्रतिगामी संविधान टेकेर विकास गर्न सक्ने जापानी, आफैंले बनाएको संविधान हुँदा पनि विकास गर्न नसक्ने नेपाली ! समस्या संविधानमा छ कि अन्यत्र कतै ?


अमेरिकाको आक्रमणबाट खरानी भएको देश, त्यहि देशका सैनिकले बनाइदिएको संविधान मानेर आज अमेरीकालाई नै चुनौती दिने अवस्थामा पुग्यो । हामी अझै संविधानका अक्षरमा अलमलिएर बसेका छौं ।


नेपालमा कस्तो खालको विकास चाहिएको हो ? के भएमा विकास भएको मानिने हो ? त्यसका सुचकहरु के के हुन ? सम्भवत हुनुपर्नेजति छलफल भएको छैन । यसैकारण कसैलाई धरहरा बनेको, मेलम्चीको पानी काठमाण्डौमा आएको, काठमाण्डौ तराइ द्रुत मार्ग बनेको वा यस्तै यस्तै कुराहरु निर्माण भएको कुरा नै विकास भएको छ । 


कसैका लागि यो विकास नै हैन । नहुनेहरु भनिरहेका छन् । संरचना बन्दैमा विकास भयो भन्न मिल्दैन । विकास हुन त जनताको प्रतिव्यक्ती आम्दानी बढ्नुपर्‍यो, शिक्षा, स्वास्थ्यमा पहुँच हुनुपर्‍यो यस्तै यस्तै ।


कुरा गर्दै जाँदा आइहाल्छ संविधान । यसले नै हामीलाई विकास गर्न रोक्यो कि ! यो हाम्रो विकास नगर्नका लागि एउटा गज्जबको बहाना हो बुझ्न सकिएको छैन । 


नेपाल किन बनेन ? यो विषयमा केही समयअघि अलिक गम्भिर रुपमै बहस भएको थियो । त्यस बहसबाट निस्केका निचोडहरुको अवस्था अहिले के छ ? बहसको सुरुवातकर्तासँगै पो गयो कि !

 

फेरी पनि संविधानकै कुरामा फर्किऔं । वैकल्पिक राजनीति गर्न कस्सिएका रविन्द्र मिश्रले संविधानका बारेमा प्रश्न उठाएका छन् । उनको दस्तावेजले धेरै कुरा भन्छन् । त्यो दस्तावेजमा आएका सामाजिक सञ्जालका प्रतिकृया हेर्दा लाग्छ सुधिर शर्माको प्रयोगशाला र The Nepal Nexcus मा लेखिएका सन्दर्भहरु झुट हुन् । यसमा शर्माले बुँदागत बहस गर्लान भन्ने लागेको थियो त्यो भएन ।


शर्माको किताबबारे २०६२/६३ को परिवर्तनका बखतमा एक प्रमुख राजनीतिक पात्रको नजिक रहेर काम गरेका एक अग्रजले चियागफमा भनेका कुरा जस्ताको तस्तै ‘प्रयोगशाला पढिसकेपछि विदेश बसेर पढिरहेकी छोरीले मलाई भनी बाबा तपाँईहरु यो सब काम आफैंले गरेको भन्नुहुन्थ्यो तर अर्कैले पो गरेको रैछ हगी ? छोरीको जिज्ञासामा मसँग कुनै जवाफ थिएन ।’


४० बुँदे माग राखेर केही मानिसलाई पछि लगाएर देउवा भेट्न गएका र प्रधानमन्त्री सम्म भएका बाबुराम भट्टराई नेपालको राजनीतिमा वैदेशिक सहयोग (हस्तक्षेप ?) का विषयमा भलिभाँती जानकार पात्र हुन् । उनले एक ट्विटमा  मिश्रका सबै बुँदा खारेज गरिदिए । उनको यो खारेज उनैले ५२ सालमा ४० वुँदे माग राख्दा तत्कालिन सरकारले कम आँकेजस्तो मात्रै हुने हो या  यसले अरु गम्भिर खालका परिमाण ल्याउँने हो त्यो भविष्यकै कुरा हो ।


प्रसंगवश, 

जनकपुरमा संविधान वनिसकेपछीको असन्तुष्टी साम्य हुन लागेको थियो । २०७३ जेठको महिनातिर राजनीति सेलाउन लागे पनि वातावरण त गरम नै थियो । हामी मधेस आन्दोलनका बारेमा गफिंदै थियौं बाह्रविघाको नजिकै । मेरो अग्रज जो काठमाण्डौको मुलधारको मिडिया हाउसमा पत्रकारीता छाडेर अन्तराष्ट्रिय संस्थामा आवद्द थिए । हामीले मधेस आन्दोलनका बारेमा कुरा गरेथ्यौं । नाकावन्दीमा भएको भनिएको छिमेकी सहयोग (?) राम्रो वा नराम्रो भन्ने बारेमा मैले उनलाई प्रश्न गरेथें । उनले मलाई राम्रो या नराम्रो केही भनेनन्  बरु एउटा कहानी सुनाए । 


एउटा वृद्धको घरमा घोडा र छोरा थिए । उनको दैनिकी घोडा चढेर  जंगल जाने ।  दाउरा ल्याउने । शहरमा वेच्ने थियो । यही कामबाट उनको जिवीका चलेको थियो । यसमा छोरोले बाबुलाई सहयोग गर्ने गर्दथ्यो । एकदिन जंगल जाँदा घोडा हरायो । वृद्ध चिन्तित भए । उनको काममा यसले ठूलो नोक्सान पार्‍यो । दैनिकी चलिरहेकै थियो । केहि दिनमा घोडा फर्किएर आयो अर्को एउटा जंगली घोडासहित । वृद्ध खुसी भए । जंगली घोडालाई तालिम दिन सके बाबु छोराका लागि १/१ ओटा घोडा हुन्छ । काम सजिलो हुन्छ आम्दानी बढ्छ । 


वृद्ध र उनका छोरा घोडालाई तालिम दिन लागे । यसै क्रममा घोडाबाट लडेर छोरा घाइते भए । थला नै परे । वृद्ध फेरी चिन्तित भए । आफ्नो काममा लागे । केहि समयमा देशमा युद्ध भयो । जवानहरु युद्धमा जानुपर्ने भयो । विरामी भएका कारण वृद्धको छोरा युद्धमा जानु परेन । वृद्ध फेरी खुसी भए । 


उनले यो कहानी सुनाएर मलाई भनेका थिए । अर्जुन, कुनै पनि घटना आफैंमा राम्रो या नराम्रो भन्ने हुँदैन । त्यो राम्रो वा नराम्रो भन्ने कुरा त्यस घटनापछिको अर्को घटनाले निर्धारण गर्छ । नाकावन्दी पनि अहिलेलाई यसैगरी बुझ्दा राम्रो होला । त्यस्तै किसिमले रविन्द्र मिश्रको दस्तावेजलाई पनि अहिले यसैगरी बुझ्दा राम्रो होला । 


अन्तमा, मानव विकास सुचकांकको पहिलो नम्बरमा पर्छ नर्वे । राजतन्त्र सहितको एकात्मक राज्य । त्यहीं बस्ने एकजनाले  सामाजिक सञ्जाल ट्विटरमा @nirazwagle ह्यान्डलबाट अगष्ट २ मा लेखेको कुरा यहाँ सान्दर्भिक लागेर साभार गरेको छु । 


‘म नर्वेमा छु। यहाँ राजा पनि मानिराखेका छन्। १ कक्षामै religion and christianity पनि पढाउँदा रहेछन्। संसारकै सम्पन्नशाली मध्य यिनै छन्। अनि आफ्नो देश तिर फर्कन्छु। राजा पनि मास्यौं, धर्म पनि मास्यौं, नेता मोटा, देश र जनता संसारकै दरीद्र। देश बनाउन के ले छेक्दोरैछ?’


यो लेख इकागज अनलाईनमा दोष व्यवस्थाको कि व्यवस्थापकको शीर्षकमा साउन ३२, २०७८ १९:३३ बजे प्रकाशित भएको थियो ।  


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना