ठ्याक्कै १ वर्षअघि । २०७८ साउन अन्तिम हप्तामा जीवन लामाले पुस्तक विमोचनमा निम्ता गरे । चौसठ्ठी वर्गमिटर रहेछ पुस्तकको नाम । पुस्तकको नाम सुन्दा लाग्यो कोरोना भोगाईबारेको पुस्तक होला ।
२०१९ डिसेम्बरमा चिनको उहानमा सबैभन्दा पहिला देखा परेको कोरोना छोटो अवधीमै विश्वव्यापी महामारी भएको थियो । उनले कोरोनाको अनुभवका बारेमा मसँग लेख पनि मागेका थिए । पहिलो चरणमै कोरोना पोजेटिभ भएको हुँदा एउटा लेख मैले पनि लेखेको थिएँ । कोरोनाले विश्व अत्याएको थियो । संक्रमणको फैलावट रोक्नका लागि लगभग सबै देशका सरकारहरुले बन्दाबन्दी (लकडाउन) गरेका थिए । यसले मानिसहरुलाई आफ्नै कोठामा खुम्च्याएको थियो । आफ्नै घरका पर्खाल र कोठाका चार भित्तामा मानिसको दैनिकी सिमित गरिदिएको थियो । यसकै संकेतका रुपमा यो पुस्तकको नाम जुराइएको होला भन्ने लाग्यो ।
विमोचन समारोहमा पुग्दा कुरा अर्कै भो । उनको कवितासंग्रह रैछ ६४ चौसठ्ठी वर्गमिटर । र यो रैछ दोलखाको सिमान्तिकृत, दोलखामात्रै नभइ नेपालकै सिमान्तिकृत सुरेल समुदायका बारेमा । आफ्नो छुट्टै भाषा, संस्कार र संस्कृति भएको सुरेलहरुको संख्या मात्र २३० भएको पुस्तक दावी गर्छ । यो सम्भवत २०६८ को जनगणनाको तथ्यांक हो । २०७८ मा देशभरकै जनसंख्याको वृद्धिदर ऋणात्मक भएका बेला सुरेलहरु पक्कै वढेनन् होला !
साउनको २५ गते सम्पन्न विमोचन समारोहमा सुरेल समुदायका विनोद सुरेल पनि उपस्थित थिए । उनले परम्परागत जीवनशैलीमा बाँचिरहेका सुरेलहरुलाई आधुनिकताले कसरी असर गरिरहेको छ भनेर आफ्नो भनाई राखेका थिए । सुरेलका विषयमा भनिएपनि ३५ वटा कविता समावेश संग्रहमा अन्य जातजाति र अन्य विविध सामाजिक विषयमा आधारित कविताहरु पनि समावेश छन् । तिनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुरेलहरुलाई प्रभावित पार्छन नै ।
कवितासंग्रहको दैलो राङराङथली कविताबाट उघ्रन्छ । राङराङथली थामीहरुको उत्पत्तिस्थल । यो भूमिमा थामीहरुको संस्कार संस्कृति जोडिएको छ । यहाँ थामी उत्पत्तीका अनेकन कथाहरु जोडीएका छन् । यसमा अहिले स्थानीय सरकारले विकासका काम गरिरहेको छ । यहाँ पर्यटकीय संरचनाहरु निर्माण भएका छन्/ हुँदैछन् । कवि यस स्थलमा पर्यटकहरु रमाएको देख्छन् र लेख्छन्;
कोही सेल्फीमा रमाउँछन्
कोहि टिकटकमा
मनले जसरी शान्ती पाउँछ
उसैगरी रमाउँछन् ।
कोरोनाकालमा हुर्कँदै गरेकाले हुन सक्छ । धेरै कविताहरुमा कोरोनाको कुरा परेको छ । लकडाउनको कुरा परेको छ । अव म सहर फर्किन्न आमा !, कोरोना कहरमा मेरा बा, म मर्छु रोगले होइन भोकले, धर्तीपुजकको गीत कविताहरुमा कोरोनाले आमजीवनमा पारेको प्रभावका कुरा छन् । अभावका कुरा छन् । कवि मनले अँध्यारोमा उज्यालो र उज्यालोमा अँध्यारो देख्छ । सारा संसार अस्तव्यस्त बनाएको कोरोनाले समस्यासँगै सम्भावना लिएर आएको छ भन्ने कुराको पनि वकालत गर्छ । यसले वर्षौंदेखि सुनसान रहेका गाउँहरुमा चहलपहल बढाएको र बाँझा खेतहरुमा खेतीपाती सुरु भएकोमा खुसी व्यक्त गरेको छ । लकडाउनको स्वागत गरेको छ ।
तिम्रो बाटो हेरिरहन्छु
तिम्रो बाटो कुरीरहन्छु
लकडाउन तिमि फेरी आउ बस्तीहरुमा
असार रोपेर मंसिर फलाउनु छ
निर्धक्क जीवन चलाउनु छ । (धर्तीपुजकको गीत)
कवितासंग्रहमा अहिले हाम्रो समाजमा हुर्कँदै गरेको पाखण्डपनको कुरा छ । मानिसमा वढ्दै गएको द्वैध चरित्रको कुरा छ । जीवनभर आलोचना गरिरहने र मरेपछि गुणगान गाउने प्रवृतीको आलोचना छ । इमान्दारीतापूर्वक बाच्नेहरुले अपराधीको व्यवहार खप्नुपर्ने र अपराधीहरुको जयजयकार हुने प्रवृत्तीलाई उनले कवितामार्फत जोडदार आलोचना गरेका छन् । मानवीय स्वभाव कवितामा कवि लेख्छन्;
मेरो समाजमा
मर्दा सबै प्रिय हुन्छन्
बाँच्दा सबै काँडा लाग्छन् ।
सुरेलका बारेमा केन्द्रति रहेका चौसठ्ठी वर्ग मिटर र सुरेलका सुस्केरा कवितामा उनले हालको सुरेलको अवस्थालाई चित्रित गरेका छन् । ६४ वर्गमिटर सुरेलको नाममा रहेको जग्गाको क्षेत्रफल हो । यही क्षेत्रफल उसको सर्वस्व हो । यसैमा उसले जन्मदेखी मृत्युसम्मका संस्कारहरु गर्नुपर्ने हुन्छ । यहि क्षेत्रफलमा विकास पनि थेग्नुपरेको छ । भर्खरै खनिएका सडकहरु यसै क्षेत्रफलमै आफ्नो हिस्सा लिएर गएका छन् । यि विकासले सुरेलको जनजीवनमा कस्तो असर गर्यो ? हामीले खोजेका छैनौं । खोज्न आवाश्यक पनि ठानिएको छैन । आश्वासनकै भरमा सुरेलहरुले राणा, पञ्चायत, बहुदल लगायतका शासन भोगिसके । तैपनि उनिहरुको स्तर बढेको छैन । विकासको यस अवस्थामा कवीले कवितामार्फत प्रश्न गरेका छन् के सडकको धुलो खानुमात्रै विकास हो ?
विहानै भालेले कुखुरी काँ नभन्दै
सुरु हुन्छ मोटरसाइकलको जुलुस
साँझसम्मै दौडिरहन्छन्
बोलेरोका धुनहरु
कोहि सुरेल भन्दै आउँछन्
सुरेल नछोएरै जान्छन् (चौसठ्ठी वर्ग मिटर)
अन्त्यमा, के विकास हो, के होइन ? त्यसको निर्क्यौल भएको छैन । यही निर्क्यौल नभएका कारण विकासको वहस लगातार जारी छ । विकसित ठानिएका समाजमा पनि समस्या छन् । समस्याग्रस्त भएका ठाउँमा पनि विकास छ भन्ने बुझाइ छ । सुरेलहरुका बारेमा लेखिएको पुस्तक अझै सुरेलहरुसँगै केन्द्रित हुन सकेको भए सुनमा सुगन्ध हुने थियो । सुरेलहरु ६४ वर्गमिटरबाट खुम्चिएर एउटा भाडाको कोठामा बस्न राजी भए भने विकास हुने कि नहुने ? आफ्नो भाषा संस्कृती छाडेर अन्य भाषा संस्कृतीमा रमाए भने विकास हुने कि नहुने ? विश्व नै एउटा गाउँ भैसकेको अवस्थामा यि प्रश्नहरु ज्यादै नै अप्ठ्यारा छन् नै । यिनीहरुलाई वेवास्ता गरेर अगाडी जाने कुरा पनि त गाह्रै छ नि !
यो लेख इकागज अनलाईन चैत १, २०७८ १०:५२ बजे सुरेल : के सडकको धुलो खानु मात्रै विकास हो ? शीर्षकमा प्रकाशित भएको थियो ।
No comments:
Post a Comment