• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

.. निर्वाचन, अपेक्षा र सन्देश !

२०५४ को स्थानीय निकाय निर्वाचन हो वा २०५६ को संसदीय निर्वाचन । ठ्याक्कै याद भएन । तर यी २ मध्ये १ चुनावमा भएको एउटा घटना भने मलाई राम्रोसँग याद छ । मकै छर्ने काम थियो । म मकैको विउ रोप्दै थिएँ । गाउँका एकजना जो राजनैतिक कार्यकर्ता थिएनन् । एउटा पार्टीका चिनिएका मतदाता मात्रै थिए । उनी जोत्दै थिए । जोत्दाजोत्दै कसैले खबर ल्यायो । उनलाई खोज्दै विपक्षी दलका कार्यकर्ताको समूह आउँदैछ । हातमा लौरा बोकेर ! 


यो थाहा पाउने वित्तिकै जोत्ने काम छाडेर उनलाई लुकाउनतिर बाबुआमा लाग्नुभयो । घरको सबैभन्दा माथिल्लो तला बुईँकलको अँध्यारो कुनामा कतै लुकाउनु भो । नारिएका गोरु त्यसै बसे । एकछिनमा उनलाई खोज्दै गरेको समूह लाठी बोकेर बारीमै आइपुग्यो । उनका बारेमा सोधखोज गर्‍यो । बाआमाले भर्खरै यहाँबाट निस्के भन्नुभयो । उनिहरुलाई अर्कै बाटो देखाइदिनुभयो । उनिहरु ति मतदातालाई खोज्दै गए । बाटो नै फरक परेकाले भेटेनन् । भेटेका भए उनले राम्रै कुटाई भेट्थे । विपक्षीलाई निमिट्यान्न पार्ने बहानामा उनको ज्यानै तलमाथि पनि हुन सक्थो !


भर्खरै सम्पन्न स्थानीय तह चुनावको प्रसङ्ग । मतदान गर्ने दिनको एक मतदानस्थलको दृश्य । मतदानस्थलमा एउटा पार्टीबाहेकका मतदाता छैनन् । उम्मेदवार पनि छैनन् । तर मतपेटिकामा मत राम्रै खस्यो । झण्डै २ हजार मत खसेको ठाउँमा एउटा पार्टीले लगभग सबै र बाँकी पार्टीले जम्माजम्मी १० मत पाए । जिल्लाको प्रमूख जिल्ला अधिकारी सहितको टोली पुग्यो । हेलिकप्टरबाट थप सुरक्षाकर्मी उतारिए । विपक्षी उम्मेदवार र मतदातालाई मत हाल्न आउन आग्रह गर्‍यो । हाम्रो ज्यानभन्दा ठूलो मत होइन भनेर कोही पनि मत हाल्न आएन । जसको मतपेटीकामा धेरै मत परेको थियो । उसले शानदार बहुमतले चुनाव जित्यो ।


यस्तो पनि हुन्छ ! गफ पनि पत्याउने खालका दिनु नि, भन्ने तपाँइको मनमा आउन सक्छ । यो आउनु स्वभाविक पनि हो । किनभने हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौं । जनताको मतबाट आफ्नो शासक चुनिने लोकतन्त्र राम्रोमध्येको राम्रो शासनव्यवस्था हो । लोकतन्त्रमा माथि उल्लेखित घटनाहरु कल्पनाबाहिरका कुरा हुन । तैपनि पहिलो घटनाको भोक्ता लेखक स्वयं हो । दोश्रोचाँही भर्खरै सम्पन्न चुनावका बारेमा एउटा दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री तथा बहालवाला प्रतिनिधी सभाका सांसदले सुनाएका हुन् । 


संविधानले परिकल्पना गरेको छ तीन तहका सरकार । आँगनको सरकार स्थानीय तह । यसमा हामीले दोश्रोपटक आफ्ना जनप्रतिनिधी छनौट गर्‍यौं । स्थानीय तहमा को मान्छे किन राम्रो हो भन्ने बहसभन्दा फलानो पार्टी ठीक फलानो पार्टी बेठिक भन्ने बहस ज्यादा भयो । अझ अगाडी बढेर कुनै नेतालाई देखाइदिन वा ठेगान लगाउन अभियान सुरु भए । यो खालको अभियान स्थानीय तहमा जरुरी थियो वा थिएन । बहस हुन सकेको छैन । हुन त हामीले लोकतन्त्रलाई आफ्नाले हत्या गरे नि अधिकार हुने र अरुले आँखा तरे नि अपराध हुने व्यवस्था बनाउन लागिसकेका छौं । 


सात सालमा प्रजातान्त्रिक आन्दोलनमा लडेको ईतिहास बोकेको पार्टीको झण्डामा माथिका हर्कत भएका हुन । अन्य पार्टीहरू पनि यो भन्दा फरक छैनन् भन्ने चुनावको बेलाका झडप तथा अन्य तिकडमबाट प्रष्ट हुन्छ । हामी लोकतन्त्रको कुन चरणमा छौं भन्ने कुरा चिडियाखानामा जनावर जसरी तारजालीले घेरिएर मतगणना गर्दै गर्दा प्रष्ट हुन्छ । अझ त्यो अवस्था सिर्जना गर्नेहरू नै जनताबाट अनुमोदन भैरहँदा हामी आफैंले आफैंलाई प्रश्न सोध्ने बेला भैसकेको छ । नागरिक मात्रै भन्दा पनि दलको यो गम्भीर चासोको विषय हुनुपर्ने हो । साँच्चै हाम्रा दलहरूले कस्तो समाजको परिकल्पना गरेका छन् ? उनिहरू खासमा के चाहन्छन् ? उनिहरूलाई एकले अर्काको खिसिट्युरी गर्दैमा ठिक्क छ । समाजलाई सहि बाटो देखाउनुपर्ने नागरिक समाज र सञ्चारमाध्यम लगायतका पक्षहरू तिनै दलहरूका पक्ष विपक्षमा गफ चुट्दै मस्त छन् । अन्यत्र पनि यस्तै होला कि हाम्रोतिर मात्रै !


कैलेकाँही घोत्लन्छु । मतदातालाई मत हाल्न नदिने कम्तिमा २३ वर्ष पुरानो अभ्यास हामीले अझै कायम राखेकै छौं । गाउँगाउँमा भएको भनिएको विकास यो वा त्यो तन्त्र नभएपनि हुन्थ्यो होला नै । सुचना प्रविधिमा आएको छलाङले पाएको सुविधामा वेलावेलामा भएका परिवर्तनको हिस्सा कति हो ? हाम्रो परिवर्तनले उत्पादनमा कतिको वृद्धि गर्‍यो । गाउँगाउँमा सडक त पुग्यो । तिनको उपयोगको अवस्था के छ ? कि तिनले मानिसलाई गाउँबाट शहरमा झिटिगुन्टा बोक्न सहज मात्रै बनाइदियो ? 


हामीले गरेको सबैभन्दा पहिलो २००७ सालको परिवर्तनभन्दा पछाडी हामीले धेरै शासन व्यवस्था अनुभव गर्‍यौं । धेरै संविधान पनि वनायौं । निर्दलीय, वहुदलीय, राजतन्त्र र गणतन्त्र सबै त भोग्यौं । अव फेरी हामीलाई यो संविधानले परिकल्पना गरेको व्यवस्था काम नलाग्ने भैसक्यो । वहुदल हैन निर्दलिय व्यवस्था चाहिन्छ भनेर एकखाले विद्धानहरु बहसमा जुटेका छन् । के हामीलाई परिवर्तनका नाममा  सधैं अस्थिरता चाहिएको हो ? 


हाम्रो पहिलो परिवर्तन हुनुभन्दा अगाडी बनेको संविधान बोकेर देशहरु विकासमा लम्किएकै छन् । ७० वर्षसम्म एउटै संविधान ! हामीले आधा दर्जन संविधान बनायौं । एकात्मक व्यवस्था भएका देशहरुलाई पनि विकास गर्न केहिले छेकेको छैन । हामीलाई भने सधैंको गनगनमात्रै किन होला !


नयाँ संविधान जारी भएपछि मलाई लागेथ्यो अब दलहरूले कसका अनुहारमा कालो पोत्लान् किनकि एकात्मक व्यवस्था, राजसंस्था गएको थ्यो हातमा आफैंले बनाएको संविधान थ्यो । समस्या हामीले देखाईरहेको चिज वा वस्तुमा थिएन । समस्या नेतृत्वको चेतमा थियो। सोचमा थियोे । समझमा थियो । त्यो डोकाले छोपेर राखेको भाले न थियो । एकछिन मौन थियोे । समय आएपछि बासीहाल्यो ।


अहिले भने आफू आफूमा कालोपोतो दल्दै रमाइलो गर्दै गरिराछन् । केपी ओली सकिएका दिन हाम्रा सुदिन फिर्छन् भन्ने गठबन्धन र गठबन्धन सकिएपछि सुदिन आउँछ भन्ने ओलीहरू दावी गरिराछन् । राजनीतिमा सिद्धान्त समाप्त भएर स्वार्थमात्रै बाँकी छ । नेताले भन्देपछि परर ताली बजाउन ईमानदार कार्यकर्ता छँदैछन् ।


यो वा त्यो व्यवस्थाका कारण हामी पछि परेका थिएनौं वा होईनौं। यसको एकमात्र कारण आफुले समर्थन गरेको पार्टी नांगै हुँदापनि लुगा लगाएको हुने र अर्कोले पुरै लुगा लगाएको बेलामा पनि नांगै हुने हाम्रो महान एवं गौरवशाली सोच हो। 


हामी ७० वर्षअघि यस्तै विषयमा वहस गरिरहेका थियौं, अवको ७० वर्षपछि पनि हामी यस्तै यस्तै विषयमा वहस गरिरहेका हुनेछौं । शब्दहरूमात्रै फेरिएलान । समयले गर्ने विकास गर्ला । तर सोचाइको दायरा लगभग उस्तै उस्तै !


जर्ज अरवेलको विश्वप्रसिद्ध उपन्यास छ एनिमल फार्म । हाम्रो पहिलो क्रान्ती हुनुभन्दा अघि नै प्रकाशन भएको थियो उपन्यास । अरवेलले नेपालबारे थाहा पाएका थिए वा थिएनन् थाहा छैन । उनको उपन्यासको कथावस्तु र नेपालको राजनैतीक विकासक्रम ठ्याक्कै मिल्दोजुल्दो छ । नेपालीमा यसको अनुवाद भएको छ चारखुट्टेको घरजममा । यसको विक्रिवितरणमा शिक्षक मासिक लागेको छ । सबै शिक्षकहरुले पढे अनि तिनका विद्यार्थीलाई सपनाको व्यापारबारे बुझाईदिए नेपालको राजनीति कसरी अगाडी जाला ?


उपन्यासको संक्षिप्त कथा यस्तो छ । मानिसले धेरै जनावरहरु पालेको हुन्छ । खोरमा मानिसको अत्याचार वढ्छ । यो अत्याचार खप्नुहुन्न भनेर बुढो सुँगुरले जनावरहरुमा क्रान्तिचेत भर्छ । जनावरहरुले क्रान्ति गर्छन् । क्रान्ति सफल भएपछि मानिसबाट जनावरहरुले खोर आफ्नो नेतृत्वमा लिन्छन् । क्रान्ति सफल हुँदा बुढो सुँगुरको मृत्यु भैसकेको हुन्छ । त्यहाँ भएको सुँगुरले क्रान्तिचेत भर्ने सुँगुरको असली उत्तराधिकारी आफु भएको बताउँछ र नेतृत्व लिन्छ । सुँगुरको नेतृत्व मानिसभन्दा भ्रष्ट भएर निष्कन्छ । अन्तमा खोर जसबाट खोसिएको हो उहि मानिसलाई नै जिम्मा लगाउँछ । 


उपन्यासको अन्तमा प्रयोग भएको वाक्य ज्यादै शक्तिशाली छ । उनि(जनावर)हरुले आफ्नो नेता र आफ्नो शत्रु मानिसको अनुहार पटकपटक हेर्छन् । कुन मानिस कुन सुँगुर छुट्याउन सक्दैनन् ।


यो उपन्यासमा चलचित्र पनि बनेको छ । यसमा कुकुर्नीलाई प्रमुख पात्र बनाइएको छ । खोर मानिसलाई विक्रि गरेपछि उसले भन्छे अव यो फार्ममा नयाँ मानिस आउनेछ । हामी पुरानो गल्ती(क्रान्ति गरेर आफ्नो मालिक आफैं हुने) दोहोर्‍याउनेछैनौ । 


स्थानीय चुनाव सकिएपछि सुनिने गरेका गफ मलाई यिनै कुकुर्नीका जस्तै लाग्छन् । अव हामीलाई फेरी पनि पञ्चायत चाहिएको हो ? हैन भने जनप्रतिनिधीहरुलाई उत्तरदायी बनाऔं । पहिलो कार्यकालमा केहि न केहि गजबका काम भएका छन् । तिनको प्रचारप्रसार गरौं । राम्रा काम गर्नेलाई यसले हौसला मिल्छ । अन्यलाई पनि यसले राम्रो काम गर्न अभिप्रेरित गर्छ । सिक्दै जाने क्रममा भएका सामान्य कमजोरी सच्याउन लागौं । गम्भिर किसिमका कमजोरी गरे कारवाहीको दायरामा ल्याउन लागौं । यसैले हाम्रा जनप्रतिनिधीहरु परिपक्व बन्दै सच्चिदै जान्छन् । नसच्चिए व्यक्तिका लागि कानुन छ । दलका लागि चुनाव छ । 


अन्तमा, अवको विकास के हो ? कसरी त्यसमा स्थानीय सरकारले काम गर्ने हो ? वहस चलाऔं । गाउँगाउँमा बनेका सडकहरुको अधिकतम कसरी प्रयोग गर्ने हो मन्थन गरौं । बाँझो खेतबारीमा मानिसहरुको आकर्षण वढाउन सोचौं । यसैले हाम्रो विकास सम्भव छ । नेतृत्वलाई इमानदार नबनाउने, खबरदारी नगर्ने तर शासनव्यवस्था मात्रै फेरिरहेर हामी कतै पुग्न सक्दैनौं । कतै पनि नपुगिने यात्रा गरेर लखतरान हुनुभन्दा यसै ठीक छ नि ! 


यो लेख नलाइन खबरमा २०७९ जेठ ११ गते ११:०४ मा  व्यक्ति नसच्चिए कानुन, दल नसच्चिए निर्वाचन शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना