• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कोही किन किसान बनोस !

असार ! किसानको व्यस्त महिना । मानो खाएर मुरी उब्जाउने समय । आर्थिक वर्षको अन्तिम महिना । किसानजत्तिकै कर्मचारी र नेताको पनि दौडधुप हुने महिना । 

यसकै विचमा पर्छ धान दिवस । असार १५ मा । धान नेपालको प्रमुख खाद्यान्न । अन्य अन्न भन्दा राज्य पनि धानमै जोड दिन्छ । जनता पनि धानतिर लोभिन्छन् । कोदो कति रोपियो हिसाब हुन्न । त्यसका बारेमा अध्ययन अनुसन्धान निकै कम छ । मकै, गहुँ, फापर, जौजस्ता बालिहरुको अवस्था पनि कोदोको जस्तै हो । धान कति रोपियो ? राज्यसँग तथ्यांक छ । रोपिएको मात्रै हैन फलेको तथ्यांक पनि छ । फलेको जस्तै किनेर ल्याएको पनि । तथ्यांक भन्छ १ वर्षमा झण्डै ४० करोडको चामल विदेशबाट खरिद गरियो । यो क्रम वर्षेनी वढ्दो छ । गमलामा धान रोप्ने र खेतलाई घडेरी बनाउने चलन जस्तै !

यो लेख लेख्नुअघि म कृषिबारेका केही समाचारहरु पढ्दै थिएँ । तीनवटा समाचार बाँदरका बारेमा थिए । बाँदर आतङ्क किसानको अहिलेको प्रमूख समस्यामध्येको हो । अहिले मल नपाउनुजत्तिकै महत्वपूर्ण । रासायनिक मलका बारेमा सबैतिर चर्चा छ । सञ्चारमाध्यमका प्रमुख समाचारमा मलका बारे धेरै कुरा छन् । यसका बारेमा विपक्षी दलका नेताले पनि बोल्न भ्याए । बाँदरका बारेमा भने धेरैलाई थाहै नहोला ! 

पहिलो समाचार बाँदर पाल्नेबारेको छ । दोलखाको कालिञ्चोक गाउँपालिकाले यस वर्ष किसानलाई बाँदर पाल्न बजेट छुट्याएको छ । बाँदर मार्न नमिलेपनि पाल्न मिल्छ भन्ने जनप्रतिनिधिहरुको भनाई छ । यसरी घरघरमा वाँदर पालेपछि वाँदरको प्रजननदर घट्छ र बाँदर आतङ्कमा राहत पाईने भनिएको छ । 

दोलखाकै अर्को गाउँपालिका शैलुङमा बाँदर लखेट्न जाँदा एक किसानको लडेर मृत्यु भएको छ । बाँदरले किसानको ज्यानै लियो ! पूर्व पालिका अध्यक्षले फेसबुकमा लेखे ‘मानिस भन्दा बढी महत्त्व बादरलाई दिनु हुदैन। बादर नियन्त्रणका लागि नयाँ कानुन आवश्यक। भावपुर्ण श्रद्धाञ्जली रामबहादुर कार्की दाइ’।

बाँदरको बारेमा प्रदेश सभामा पनि कुरा उठेको रैछ । प्रदेश १ मा यो विषयमा कुरा उठेको रहेछ । यसमा बाँदरले दिएको हैरानीका बारेमा अलिक विस्तारमा कुरा गरिएको छ । 

प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए ।‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ । केही बाँकी राख्दैनन्’, सांसद लिम्बुले भने, ‘ अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ ।’

बाँदरमात्रै हैन  अन्य जंगली जनावरले पनि किसानलाई हैरानी दिएका छन् । दुम्सी, मृग, बँदेलहरू पनि सास्ती दिने जनावरमा पर्छन् । बाँदरले दिने हैरानी खेतबारीमा मात्र सिमित छैन । किसानले आफ्नो बालीनालीको बोट समातेर बसेर भित्र्याएको बाली बाँदरले घरमै पसेर नोक्सान गर्छ । मान्छेविरुद्ध मुद्धा लाग्छ बाँदरसँग लाग्दैन । अझ सरकार भन्छ बाँदर मारे कारवाही हुन्छ !

वन्यजन्तुको विषय एकातिर छ । किसानले अन्न उब्जाउनु एक युद्ध जित्नुजस्तै छ । किसानले समयमा न बीउ पाउँछ । न मलखाद पाउँछ । पाएको बीउ असल छ कि कमसल ? ढुक्क हुने अवस्था छैन । सरकारले किसान पहिचान गरेर सहुलियत दिन्छु भनेको धेरै भयो । उसको किसान को हुने हो ? अझै टुंगो लागेको छैन ।

बैंक तथा वित्तीय संस्थालाई किसानलाई दिनैपर्ने ऋणको अहिलेसम्म को को ले लिए ? गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ । यसरी पाएको ऋणले कृषि उत्पादन कति बढायो ? कागज मात्रै मिलाएर किसान हुने र सहुलियत लिने अवस्था रोक्न प्रभावकारी संयन्त्र चाहियो । कानुन चाहियो । 

खेतीमा लागत नउठ्ने अवस्था छ । खेत बाँझो राख्न हुन्न भन्ने मान्यताका कारण मात्रै अहिलेसम्म जेनतेन खेती गरिएको हो । यो पनि नहुने हो भने खेतबारी सबै बाँझै रहने थिए ।

उत्तम खेती, मध्यम व्यापार र अधम नोकरी भन्ने आहान उल्टिएको छ । अब खेतीको काम गर्ने मानिस अधम हुने अवस्था भएको छ । शिर निहुरिने अवस्थामा रहेको किसानले के खेती गर्ला ? कसरी गर्ला ??

आफ्नो खेतबारीमा उब्जाएर खानुभन्दा बजारमा किनेर खानु सजिलो भएपछि मान्छे सजिलोतिर लाग्छ नै । सरकार कहिले वर्णशंकर जातको विउ लगाउ र उत्पादन बढाउ भन्छ । यसका कारण रैथाने बिउ लगभग लोप भए वा हुने अवस्थामा छन् । आजकाल रैथाने विउ पाइन छाडेपछि रैथाने पो राम्रो भन्छ । किसानले पशुमल प्रयोग गरिरहँदा अभियान नै चलाएर रासायनिक मल गज्जब भन्छ । किसानले पशुपालन गर्न छाडेपछि रासायनिक मलको व्यवस्था गर्न सक्दैन । अनि कसरी अन्न उत्पादन हुन्छ ?

भर्खरै अमेरीकाको टाईम्स पत्रिकाले खाद्यान्न अभावमा ठूलो मानवीय संकट आउन सक्ने सामाग्री प्रकाशन गरेकोे छ । युक्रेन र रूसको युद्धका कारण विश्वमा धेरै ठुलो खाद्य संकट आउने उसको अनुमान छ । हामीकहा यसको बारेमा त्यस्तो छलफल भएको देखिन्न । राजनीति मात्रै विक्ने देशमा यो अनुमान नविकेको पनि होला । घाटाको व्यापार गर्ने को ?

म आफैं किसान दावी गर्न सक्दिन । किसानको छोरो चैं पक्कै हुँ । १५-१६ सय मिटर उचाइमा पर्ने बारी लगभग सब्बै बाँझो छ । खेत आधामा मात्रै मुस्किलले आवादी गरिएको छ । रहरले १ सय बोट कागती किनेर हुर्काउँदै छु । मेरो स्थानीय सरकारले वर्षेनी हजारौं फलफूलका बिरुवा अनुदानमा बाँड्छ । स्थानीय सरकारजस्तै विभिन्न संघसंस्थाले पनि विरुवा वाँड्छन् । ती कहाँ हुर्किएका छन् कि छैनन् उसलाई पत्तै नहोला । पाँच वर्ष पुग्न लागेका कागतीमा फूल खेल्न सुरू भएको छ । मैले किनेर हुर्काइरहेका कागतीका बारेमा गाउँपालिका पक्कै जानकार छैन । उ आफैंले बाँडेका विरूवाका बारेमा त जानकारी राख्दैन । मेरा बारेमा किन राख्नु ? 

लामो समयपछि धान रोप्न गाउँ गएँ । यसपाल बा खेत अधियाँ दिने सोचमा हुनुहुन्थ्यो । यसका लागि उहाँले यथासम्भव प्रयास गर्नुभो । तर कोही मानिस खेती गर्न तयार भएन । अधियाँको कुरा छाडौं खेती मात्रै गरिदेउ म आफैं पैसा दिन्छु भन्दा पनि गाउँमा मान्छे छैन । भएको मान्छे पुरै बाँदर रूँघेर बस्नुपर्छ । अनि किन खेती गर्ने ?

धान रोप्दै गर्दा सुनियो । समय फेरियो पहिला मानिस पैसा कमायो भने गाउँमा जग्गा जोड्थ्यो । अहिले त शहरतिर मात्रै आँखा लगाउँछ । पहिला जागिर भनेपछि मान्छे मरिहत्ते गर्थ्यो । अहिले अष्ट्रेलिया जान पाए त स्थायी जागिर छाड्न तयार । के खालको समय ? पाखुरीमा बल भएकाहरु श्रम बेच्न खाडीतिर । अलिअलि पढेर प्रमाणपत्र लिएकाहरु जापान, अष्ट्रेलियातिर । उमेर घर्किसकेका वृद्ध र वालवालिकाको जिम्मामा कृषिकर्म ! 

धान रोप्न छाडेको खेतमा उम्रिएको उत्तिस बेचेर बाले राम्रै पैसा कमाउनु भो । अन्न फलाउन भन्दा रूख हुर्काउदा पैसा कमाईने भएपछि दुख किन गर्नु !

व्यक्तिगत प्रसङ्गबाट फेरी समाचारको प्रसङ्ग । अर्को समाचारमा हाम्रो खाद्यान्न उत्पादनको इतिहास र हालको अवस्थाका बारेमा जानकारी थियो । त्यो पनि यहाँ उल्लेख गरिएको छ ।

सन् १९६१ मा छिमेकी राष्ट्र भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धान चामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।

२०७३/७४ मा ४ अर्ब २८ करोड रूपैयाँ बराबरको धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ जुन २०७७/७८ सम्म आइपुग्दा बढेर १९ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ। यस्तै चालू आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोड रूपैयाँ बराबरको धान आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

२०७३/०७४ मा १९ अर्ब ५९ करोड रूपैयाँ बराबरको चामल आयात भएको देखिन्छ। २०७४/०७५ चामल आयात बढेर २३ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ। आव २०७५/०७६ मा २५ अर्ब ७४ करोड रूपैयाँ बराबरको चामल आयात भएको थियो। २०७६/७७ मा २३ अर्ब १७ करोड रूपैयाँ बराबरको चामल आयात भएको छ। २०७७/०७८ मा पुन: आयातको ग्राफ उकालो लागेको तथ्यांकले देखाउँछ । सो आवमा २८ अर्ब ६० करोड रूपैयाँ बराबरको चामल आयात भएको तथ्यांकले देखाउँछ।

ढिला हुनै लागेको छ, भैसकेको छैन । किसान कृषि कर्ममा छुट्टिन किन खोजिरहेको छ ? उसलाई सहुलियत कसरी दिन सकिन्छ ? कृषिमा बढिरहेको लागत कसरी घटाउन सकिन्छ ? वन्यजन्तुको संख्या नियन्त्रण कसरी गर्ने हो ? किसानलाई आवाश्यक मलखाद तथा अन्य कृषि सामाग्री कसरी सहज तथा सुलभ रूपमा उपलब्ध गराउने ? यस्तै यस्तै सवालहरुका बारेमा गम्भिर विमर्श जरुरी छ । यिनै विमर्शले हामीलाई समाधानको दिशातर्फ अगाडि बढाउँछ ।

आँगनको सरकार स्थानीय सरकार । को किसानसँग कस्तो खालको जमिन छ ? त्यसमा के फल्छ ? स्थानीय सरकारलाई जिम्मा दिऔं । कृषि प्राविधिकहरु किसानसँग नियमित सम्पर्कमा रहने वातावरण सिर्जना गरौं । किसान र उसको परिवारलाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको प्रत्याभुती दिलाऔं । भौतिक पुर्वाधार मात्रै विकास हैन । खानै पाइएन भने सडक र भवनहरु हेरेर भोक मर्दैन । फलफूलका विरुवाहरु हुर्काएवापत किसानलाई प्रोत्साहन गरौं । कृषि सुधार्न शहरका तारे होटलमा गरिएको सैद्धान्तिक वहसभन्दा खेतबारीमा गरिएका साना र मसिना कामले ठूलो भूमिका खेल्छन् ।  

अन्तमा, खाद्यान्न मानिसको जीवनका लागि अनिवार्य तत्व हो । अन्नमा हाम्रो जीवन छ । सबै कुरालाई वेवास्ता गर्दा पनि अन्न वेवास्ता गर्न सकिन्न । गर्नु हुन्न । अन्नलाई सबैले प्राथमिकतामा राख्ने हो भने अन्न आयातको अवस्था फेरिन्छ । हामीलाई चाहिएको वास्तविक विकास भनेकै यहि त हो नि !

यो लेख इकागज अनलाईनमा असार १९, २०७९ १५:२७ बजे कोही किन किसान बनोस् ! शीर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना