• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

विद्यालयः व्यारेक बन्ने कि विलय हुने !

एसइइको परिक्षाको नतिजाको समय छ । राम्रो ग्रेड ल्याउने विद्यार्थी हाईहाई छ । पढ्न नसक्ने अझ नपढाइएका विद्यार्थीहरु पनि त्यस्तो सारो चिन्तित छैनन् । किनभने पास हुन गारो छैन । सरकार यसैपनि विद्यार्थीको नाम गरेर शिक्षकहरुप्रति उदार छ । उसले शिक्षकहरुलाई मेहनत गरेर पढाउनैपर्ने वातावरण विस्तारै भत्काउँदै लगेको छ । गणितमा ऐकिक नियम गाह्रो भो । उसले पाठ नै हटाइदियो । 

एसएलसी हुँदासम्म यसको परिक्षाफल प्रकाशन भएपछि शिक्षामा कहाँ समस्या छन् । कुन विषयमा धेरै विद्यार्थी अनुतिर्ण भए । यसका बारेमा धेरथोर वहस हुन्थ्यो । सरकार जव एसइइमा लाग्यो । नतिजा अंकबाट अक्षरमा सर्‍यो । धेरै कुराहरु अक्षरजस्तै नबुझिने भए । हामीलाई समानता चाहिएको छ । समानता चाहिने समाजमा अघि पछि किन देखाउने । 

यसरी सरकार सबै विद्यार्थी पास गराउन कम्मर कसेर लागेको छ । शिक्षामा मात्रै हैन संख्या धेरै देखाउन उ सबैतिर यस्तै उदार छ । संख्या धेरै भएपछि उसलाई फाइदा छ । गुणस्तरतिर लागे भोलीलाई फाइदा होला । भोलीसम्म पर्खने किन ? आजै फाइदा हुन्छ भने ! आखिर हामी पिपल हुर्काउने ‘प्रतिगामी’ समय छाडेर उत्तिस हुर्काउने ‘अग्रगामी’ समयका मानिस न हौं !

नेपालका लागि सहि किसिमको शिक्षा के हुने हो ? जमानामा वुर्जुवा शिक्षाको काम छैन भन्दै क्रान्ती गरेको दल माओवादी सरकारमा छ । अझ त्यही दलका शिक्षामन्त्री छन् । उनीहरुले कल्पना गरेको शिक्षा प्रणाली कस्तो हो भन्ने विषयमा अरुलाई देखाईदिने यो गज्जबको समय थियो होला । योभन्दा २०६४ मा पहिलो दल भएको बेलामा झनै गज्जब हुनपर्ने हो । खै केहि गरेको त देखिएन । सायद त्यो पुरा हुन नसक्ने जुन टिप्ने सपना पो रैछ कि !

नयाँ संविधानले माध्यमिक तहसम्मको शिक्षामा स्थानीय तहलाई अधिकार दिएको छ । यो अधिकार पहिलो कार्यकालमा कति कार्यान्वयन भयो ? यसमा कहाँ समस्या थियो भन्नेमा धेरै बहस सुनिएको छैन । शिक्षामा लगानीलाई अर्को पुस्ताको लगानी मानिन्छ । बहस पनि अर्कै पुस्तामा हुने हो कि !

गुरु पुर्णिमाको दिन ! चोकमा भेटिए विद्यालय क्षेत्रमा केहि गरौं भन्ने हुटहुटि भएका प्रधानाध्यापक । उनलेे १० वर्ष अगाडि नै आफुले नेतृत्व गर्ने विद्यालयमा केही सकरात्मक सुरूवात गरेका थिए । समयक्रममा तिनलाई निरन्तरता दिन सकेनन् त्यो भिन्नै कुरा हो । उनको विद्यालयमा १५ मिनेटको विद्यालयमा जान छोडेर आधा घण्टा पैदल यात्रा गरेर विद्यार्थी पढ्न आउँथे। उनीसँगको चियागफमा मैले सोधें अहिले शिक्षाको अवस्था के छ ? उनी उत्साहित देखिएनन् भने ‘विद्यार्थी छैनन् । सरकारले विद्यालयमा भौतिक सुविधा त पुर्‍यायो तर गुणस्तर दिन सकेन ।’

शिक्षा क्षेत्रमा एक मापक थियो एसएलसी । अहिले यो मापन गर्ने कुनै तह छैन भन्दा पनि हुन्छ । विश्वविद्यालयका परिक्षामा प्रश्नपत्रहरु अघिल्ला वर्षका हुवहु निकाल्ने प्रशासन छ । गेसपेपर गाइड सार्न नपाए २ शब्द लेख्न नसक्ने विद्यार्थी । विग्रेको भत्केको एकातिर मात्रै त कहाँ छ र !

एक गाउँपालिकाका शिक्षा अधिकृतले चिया गफमा सुनाए । पालिकाले आठ कक्षामा पालिकाले प्रश्नपत्र तयार गर्‍यो र उत्तर पुस्तिका आफैंले जाँच गर्‍यो । परिक्षामा सहभागी पालिकाभरका विद्यालयका ४ सय जना । सबै विषयमा पास हुने मुस्किलले २५ जना । पालिकाभीत्रको एउटा विद्यालय बाहेक सबै विद्यालयका विद्यार्थी अनुतिर्ण । आठ कक्षामात्रै हैन ५ कक्षामा पढ्ने विद्यार्थीलाई शुद्धसँग अंग्रेजीमा नाम लेख्न नआउने अवस्था छ । उदार कक्षोन्नतीका कारण विद्यार्थीले केही नसिके पनि पास भएकै छ । जस्तो खालको नतिजा भएपनि दण्ड पुरस्कार नपाईने भएपछि केहि गरौं भन्ने निराश छ । कामचोरहरुलाई त योभन्दा राम्रो अवस्था के होला र ! 

चिया गफमा शिक्षा अधिकृतले भनेको कुरा अपवाद हैन आम समस्या हो । यो एउटा पालिकाको मात्रै अवस्था हैन धेरै पालिकाको अवस्था लगभग यस्तै यस्तै छ । पालिकाहरुको ध्यान सडक र भवन अनि मन्दिरमा मात्रै हुँदा यो अवस्था आएको हो । विकास भनेको बाटोमात्रै हैन शिक्षा स्वास्थ्य र रोजगार पनि हो भन्ने अवस्थामा हामी कुनै दिन पुग्नैपर्छ । त्यहाँ पुग्दा सम्म कति समय लाग्छ र कति क्षति हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । यो लेखमा उठाउन खोजिएको विषय त्यहि हो ।  

एसइइ उतिर्ण गरेको जनशक्ती अहिले सामान्य चिठी लेख्न नसक्ने छ । सामान्य २ अंकसम्मका हिसाब हैन ४ र ५ को योगफल जान्न क्यालकुलेटर नभई हुँदैन । आफ्नो वडामा को जनप्रतिनिधि चुनियो उसलाई पत्ता छैन । हामीले के सिकाइरहेका छौं । विद्यार्थीले विद्यालय आइदिए पुग्ने हो ? शिक्षक विद्यालय गइदिए पुग्ने हो ? 

असारको मध्यतिर म एउटा गाउँपालिकाले आयोजना गरेको नमुना गाउँसभा सञ्चालन कार्यक्रमको प्रशिक्षकका रुपमा एउटा विद्यालयमा थिएँ । युवाहरुका लागि भनेको कार्यक्रममा धेरै सहभागी ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरु थिए । उद्घाटनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पनि बोलाइएका थिए । मैले सहभागीहरुलाई सोधें तपाँइको वडामा यो पटक चुनिनुभएको जनप्रतिनिधीको नाम थाहा छ ? अधिकांश सहभागी यसका बारेमा बेखबर थिए । केहीले भने म राजनीतिलाई घृणा गर्छु । 

समाज कस्तो बन्छ भन्ने कुराको निर्धारक हो राजनीति । राजनीतिका बारेमा १५/१६ वर्षको किशोरले कुनै कुरा जान्दैन भने विद्यालय के सिकाउँछ ? १८ वर्ष पुरा भएका दिन पासपोर्ट बनाएर खाडी जाने जनशक्ति ! वा अलिक राम्रो पढ्ने रैछ भने जापान अष्ट्रेलिया पढ्न भन्दै काम खोज्न जाने कामदार !

शिक्षा क्षेत्रको सुधार अहिलेको प्रमुख एजेण्डा हो र हुनैपर्छ । शिक्षामा गुणस्तरियता कायम गर्नु अहिलेको पहिलो प्राथमिकता हो । यसमा गर्न सकिने केहि कामहरु छन् । तिनका बारे अव चर्चा गरीनेछ । 

विद्यालय क्षेत्रमा व्यापक सुधारको खाँचो छ । गाउँहरु दिनानुदिन रित्तो बनिरहेका छन् । त्यसको एक प्रमूख कारण गाउँगाउँमा खुलेका विद्यालयमा शिक्षा गुणस्तरीय छैन भन्ने अभिभावकको वुझाई हो । यो बुझाईमा एक हदसम्म सत्यता पनि छ । यसलाई चिर्न तत्कालै गम्भिर खालका कदम चाल्नु जरुरी भैसकेको छ । सामुदायिक विद्यालयमा सरकारले प्रतिविद्यार्थी खर्च गर्ने रकम नीजि विद्यालयले लिने शुल्कभन्दा कता हो कता धेरै छ । हामीले हिसाब गर्न अल्छि गरेका मात्रै हौं । 

गाउँका विद्यालयमा विद्यार्थी शिक्षक ३ घण्टासम्म हिँडेर आउनपर्ने अवस्था छ । यसरी दिनमै छ घण्टा हिड्नुपरेपछि उसले के सिक्छ के सिकाउँछ शिक्षक र विद्यार्थी बराबर हुन लागिसकेको अवस्था छ । तैपनि विद्यार्थी केहि सिकिरहेको छैन वा शिक्षक केहि सिकाउँदैन ! विद्यार्थीको सिकाइस्तर त लगातार कमजोर बनिरहेछ किन ?

गाउँमा भएका विद्यालयमा पहिला कक्षाअनुसार विद्यार्थी पूर्ण गर्ने अभियान चलाऔं । विद्यालयमा भवनहरु गज्जब गज्जबका बनाइए । अव तिनमा आवासिय किसिमबाट विद्यालयहरु सञ्चालन गरौं । तिनमा विद्यार्थी र शिक्षक दुवैलाई आवासीय प्रवन्ध गरौं । प्रत्येक कक्षामा परिक्षाका लागि प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परिक्षणमा वाह्य परिक्षकहरुको व्यवस्था गरौं । यसबाट जसले राम्रो नतिजा ल्याउँछ उसलाई प्रोत्साहन गर्ने पद्धती विकास गरौं । यसले गर्दा पाठ्यक्रममा नपुगेपनि पाठ्यपुस्तकमा शिक्षकहरु पुग्नेछन् । शिक्षामा गरिएको लगानीको प्रतिफल वृद्धि हुनेछ । 

गाउँका विद्यालयमा गुणस्तरीय शिक्षा दिइन्छ भन्ने प्रमाणित गर्न सक्यौं भने यसले आफ्ना वालवालिकालाई असल शिक्षा दिनका लागि शहरमा बस्न थालेको परिवार गाउँ फर्कन्छ । त्यो परिवार गाउँमा फर्कँदा त्यसले सानै मात्रामा सही गाउँमा उत्पादनको लहर सुरु गर्छ । यसो हुनु भनेको हाम्रो उपभोक्ता जीवनशैली फेरिनु हो । यसले धेरैतिर दीर्घकालिन असर छाड्छ  नै । 

म बस्ने ठाउँ नजिकै सेनाको व्यारेक छ । सेनाको व्यारेकको नाम वर्ष/२ वर्षमा फेरिन्छ । त्यो नाम फेरिँदा त्यहाँका सबै जनशक्ति फेरिँदा रहेछन् । चल सम्पत्ति पनि सेनाले लानुपर्ने हुँदो रैछ। यसो हुँदा संरचना तिनैमा पनि नयाँ नयाँ जनशक्तिले काम गरिरह्यो । अब विद्यालय यहि मोडलका किन नहुने ?

विद्यालयहरुमा आवासिय व्यवस्था गर्न थाल्यौं भने समय समयमा विद्यालयहरु सबै सेनाको व्यारेकजस्तै सार्न मिल्छ । खान बस्न मिल्ने संरचनाहरु प्रत्येक विद्यालयमा हुनेछन् । यसो हुँदा महिना २ महिनाका लागि एक विद्यालयका सबै विद्यार्थी तथा शिक्षक नयाँ ठाउँमा जर्न सार्न कुनै समस्या हुने छैन । यसरी नयाँ ठाउँमा जाने विद्यार्थी तथा शिक्षकले नयाँ भूगोल, संस्कार तथा संस्कृति सिक्न पाउँछन् । यसले हामीलाई सबै जातजाती भाषा धर्मलाई आदर गर्ने वानीको विकास हुन्छ । हामीले परिकल्पना गरेको नयाँ नेपाल भनेको यस्तै हैन र !

अन्तमा, रुसले अन्तरिक्षमा युरी गागरिन उतारेपछि अमेरिका आँत्तियो । कारण खोज्यो रुसको प्रगतिको । शिक्षा भन्ने पत्ता लगाएपछि उसले निधो गर्‍यो अव हामी अन्तरिक्ष हैन चन्द्रमा पुग्नपर्छ । त्यसका लागि शिक्षा सुधारौं । उ अहिले चन्द्रमा मात्रै हैन मंगल पुगिसक्यो । हामीमा पनि तमाम समस्या हिजो थिए । आज पनि छन् । भोली पनि रहने छन् । तर भोलीलाई सपार्ने शिक्षा क्षेत्रमा भएका समस्याको जरो खोतल्न भने ढिला भैसकेको छ । अझै पनि सुध्रने समय छ । सुध्रिऔं, नभए सकिनुबाहेक अर्को बाटो छ र ?

यो लेख इकागज अनलाईनमा असार १९, २०७९ १५:२७ बजे सार्वजनिक विद्यालय : ब्यारेक बन्ने कि विलय हुने ? शीर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना