• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

एउटा (न)मिठो सपना !

काठमाडौंको सार्वजनिक वस चढेर बैंक जाँदै थिएँ ।  बैंकले आफै उपस्थित भएर भर्नुपर्ने कुनै फारम भर्नका लागि बोलाएको थियो । वसमा सिटभरी यात्रु थिए । म उभिनेमा परें । मजस्तै ५-१० जना अरु उभिएर यात्रा गरिरहेका थिए । छेउको सिटमा कोट लगाएका जागिरेजस्तै देखिने मानिस थिए । भाडा तिर्ने बेलामा छेउका सिटका मानिसले म किसान भएको थाहा पाए । उनीहरु सबैले मतिर हेरे । यो सिटमा बस्नु न म उभिन्छु । उनिहरुमध्ये धेरैले यसो भनेर सिट छाड्न खोजे । पर्दैन नजिकै ओर्लने हो मैले भनें । पाको सिट किन छाड्नु एक पुरुष आवाज सुनियो । यो बोल्ने को मान्छे थियो मैले भेउ पाइन । अर्कोले भन्यो जसका कारण हामी बाँचेका छौं उसलाई त पहिलो प्राथमिकता दिनैपर्‍यो नि । छेउमा अर्को भलाद्मीले भन्यो किसानलाई सम्मान गर्न नसक्नेले अरु कसैलाई पनि सम्मान गर्न सक्दैन !

बैंकमा पुग्दा हाकिम र म सँगसँगै भएछौं । हाकिमलाई कर्मचारीले नमस्कार गरे । उसले मलाई नमस्कार गर्‍यो । हाकिमले नमस्कार गरेपछि अरु कर्मचारीले मलाई पनि नमस्कार गरे । हाकिमसँग कुरा भएपछि म मेरो कामका लागि ऋण शाखामा छिरें । ऋण शाखामा तत्कालै काम भयो ।

शाखामा ४-५ जना ऋणका लागि आएका रहेछन् । कर्मचारीले उनीहरूलाई भन्यो तपाईंहरूको फाईल केन्द्र पठाको छु । त्यहाँबाट स्वीकृत भएर आएपछि ऋणको प्रकृया सुरू हुन्छ । एउटाले मलाई हेरेर भन्यो ‘यो कम व्याजदरमा लगानी गर्ने ऋण यतैबाट हुने, बढी व्याज तिर्छु भन्दा पनि हामीले ऋण नपाउने ?’ उनीहरूको कुरामा म केही बोलिन । ‘तपाईंको काम २/४ दिन पर जाँदा त्यति फरक पर्दैन । कृषिमा त मिनेट मिनेटकै कुरा छ त!’ ढोकाबाट निस्कँदै गर्दा ऋण शाखाका कर्मचारीको भनाई मेरो कानमा पर्‍यो । 

वसको सिटमा बसेर फेसबुक खोलें । गाउँपालिकाको कृषि शाखा प्रमुखले अफलाईन म्यासेज गरेको रैछ । तपाईंको कागतीमा नयाँ खालको रोग आएको जस्तो छ। हामी तपाईंको बगैंचामा आउन लागेको । कता हुनुहुन्छ ?

उसको सन्देश पढ्दै गर्दा सम्झिएँ । केही दिनअघि कागती काँटछाँट गरेको फोटो फेसबुकमा राखेको थिएँ । त्यहि देखेर उसले चासो राखेको रैछ । अहिले कृषि शाखा मात्रै हैन जनप्रतिनिधि पनि कृषिमा चासो राख्ने छन् भन्ने अस्ति छिमेकीले सुनाएको थियो । अध्यक्ष किसान मोटाए पालिकाको भलो हुन्छ भन्ठान्छन् रे । उनको कार्यकक्षमा `योजना बनाउँदा राजाको तस्बिर मात्र हेरेर होइन हलो जोतिरहेको किसान हेरेर योजना बनाउ´ भन्ने वाक्य ठूला अक्षरमा हातैले लेखेर टाँसिएको थियो रे । त्यसैको ठीक मुनि झुस्स दारी पालेका कांग्रेस नेता विश्वेश्वरप्रसाद कोईरालाको तस्बिर पनि थियो रे ।

उपाध्यक्ष त झन किसानकै हितका लागि भनेर जनयुद्ध गरेका व्यक्ति । किसान हितका लागि उनले उपाध्यक्ष कृषक प्रोत्साहन कार्यक्रम लागू गरेका छन् । किसानकोमा प्राय पुगेकै हुन्छन् । समस्या सुन्छन् । समाधानको पहल गर्छन् । उनले गर्ने भाषणमा थेगो नै छ हामी श्रमजीवी वर्गको हितमा काम गर्ने मान्छे । हाम्रो देशको विकासका लागि किसानको अवस्था सुधार पहिलो सर्त हो । 

फोन टिर्र गर्‍यो । उठाएँ । कृषि शाखाकै कर्मचारीको रैछ । अहिले बजार पठाउने के के उत्पादन तयारी भो भनेर सोध्न रैछ । मैले आफ्ना बारीमा फलाएका अन्न तरकारीको विवरण टिपाएँ । एकैछिन पछि घरबाट फोन आयो । उत्पादन लिने टोली त बारिमै पो पुगिसकेछ । 

अस्पतालमा जानुपर्ने । गाउकै भाइ विरामी परेर भर्ना भएको ४ दिन भो । ‘किसान परिचयपत्र देखाएपछि त उपचार मात्रै हैन औषधीमा पनि पो छुट पाईने रछ । अझ विरामी र कुरूवालाई खाना पनि व्यवस्था ।’ भाईले मलाई अस्पालतका बारेमा सुनाउँदै थियो ‘राज्यले किसानलाई यहाभन्दा के सुविधा दिनु र !’ छेउमा रहेको बेडमा अवकाशप्राप्त सरकारी कर्मचारी रैछ । उसले भन्दै थियोे यी भाईलाई डाक्टरले गरेको व्यवहार देख्ला मलाई त बेकार सरकारी जागिर खाईएछ भन्ने पो लाग्यो । अब किसानलाई पनि हरेक क्षेत्रमा सेवा सुविधा । पेन्सन पनि । ईज्जत पनि । पैसा मात्रै सबै थोक त कहाँ रहेछ र !

गाउँमा सामुदायिक स्वास्थ्य सहजकर्ता छन् । उनिहरु किसानकोमा महिनामा १ पटक अनिवार्य रुपमा पुग्छन । किसान र उसको परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था जाँच गर्छन् । अनलाईनमा रेकर्ड राखिदिन्छन् । तिनै रेकर्डका आधारमा भाइलाई अलिक गम्भिर खालको स्वास्थ्य समस्या छ कि भनेर काठमाण्डौले वोलाएको थियो । अहिलेसम्मको रिपोर्टमा त त्यस्तो समस्या देखिएको रैनछ । 

सरकारी कर्मचारी भेट्न अर्को कुनै कर्मचारी नै आएको रैछ । कुरूवा र उ पनि गाउँका बारे कुरा गरिरहेका थिए । म छेउमा बसेर सुनिरहेको थिएँ ।

‘...मिचाहा वनमाराले सवैतिर समस्या दिएको थ्यो । धेरै थरी मान्छे आए । यसलाई उखेलेर ब्रिकेट बनाउने र गड्यौला मल बनाउने काम गाउमा चलिरहेको छ । महिनाको २/४ हजार रूपैयाँ कम्तिमा सबै घरले कमाएका छन् । वनमारा उखेलेको ठाउँमा रोप्न सरकारले पोषिलो जातको घाँसको बीउ दिएको छ । यो घाँस हुर्किएपछि गाउँमा गाईभैसी पालेर दूध, मल सबै विक्री गर्न सकिन्छ । अझै भन्नुपर्दा  यता फर्के पनि पैसा । उता फर्के पनि पैसा !

सामुदायिक वनमा जति रूख हुर्काउन सको त्यति धेरै कार्वन सञ्चित गरेको भनेर पैसा आउँछ । आफ्नो खेतबारीमा हुर्काएका फलफूलका रूखको पनि गन्ती गरेर पैसा आउँछ । फलफूल पाक्ने बेलामा व्यापारी आफैं खेतबारीमा आउँछन् । त्यसमा सरकारी कर्मचारी पनि आउँछन् कसले कति परिणाममा विक्री गर्‍यो भनेर । सरकारले पनि उत्पादनका आधारमा प्रोत्साहन रकम दिन्छ नि ! तपाईंलाई खेतबारीमा आउँदा दु:ख भयो होला भनेको कर्मचारीले तपाईंले यसरी खेती गरेको भएर न मैले काम पाएको हुँ । कम्तिमा महिनामा एकपटक त आउनैपर्ने, भ्याईएन नरिसाउनु है ..’ 

मनमा आयो । मेरा गाउँमा मात्रै यस्तो होला भनेको त देशैभरी पो यस्तो अवस्था रैछ त !

छेउको दरबार हाईस्कुलमा छात्रवृत्तिमा आवेदन दिने बारेको सुचना अस्पतालको फार्मेसीमा टाँसिएको रैछ । किसान परिवारलाई विशेष सहुलियत दिईएको रैछ । छात्रवृत्ति तथा छात्रावास सुविधामा पहिलो प्राथमिकतामा किसानका छोराछोरी पर्ने रहेछन् । विद्यालयमा कृषि विषय पढाइ हुने रैछ । कृषि अध्ययन गर्ने विद्यार्थीले मासिक रूपमा पकेट खर्च पनि पाउने रैछन् । फार्मेसीमा काम गर्ने भाईले भन्यो गाउँबाट धेरै पुस्ताअघि बाउबाजे शहर छिरेछन् । अहिले पनि किसान बनौं बनौं लाग्छ । २/४ वर्ष काम गरेपछि माटै खोस्रने हो । 

काठमाडौ आ बेलामा यसो सिंहदरबार छिर्नु पर्ने । म सिंहदरबार तिर लागें । गेटमा पास लिनका लागि थुप्रै मानिसहरू लाईनमा थिए । एकजना सुरक्षाकर्मीलाई मैले किसान परिचयपत्र देखाएँ । उनले लाईन नबसी गेटबाट भित्र पुर्‍याए। भित्र छिर्ने बेलामा एकजनाले मलाई सोधिन् तपाईं त ठूलो मान्छे पो हुनुहुदो रैछ। म लाईन बसेको ४ घण्टामा बल्ल पास आयो । तपाईं त भर्खरै आउनुभएको हैन । के ठुलो मान्छे हुनु र । एक सामान्य किसान हुँ । राजधानी आको बेलामा मन्त्रालयमा पसौं भन्ने लागेर । अँ है किसानलाई प्राथमिकता दिनु त राम्रो कुरा हो नि । उहिले आफुले बेचेको उखुको पैसा नपाएर हाम्रा बाजेहरू माईतिघरमा धर्ना नै बसेका रैछन । मलाई सुरुमा प्रश्न सोध्नेको पछाडि कर्मचारी पोसाकमा रहेकी महिलाले थपिन । मैले केही बोलिन । 

भित्र गएर कृषि मन्त्रालय खोजी गरें । एकजना सुरक्षाकर्मीले मन्त्रालय गेटमा पुर्‍याए । उनले सोधे मन्त्रीसँग समय लिनुभाछ । मैले छैन भन्ने भावमा टाउको हल्लाएँ । त्यहा भएका कर्मचारीलाई भने उहाँ गाउँबाट आउनुभारैछ । मन्त्री ज्यूलाई भेट्न खोज्नुभाछ । खबर गरिदिनुपर्‍यो । हुन्छ म अहिले खबर गरिहाल्छु । मन्त्रीज्यु अहिले पनि किसानहरूसँग छलफल गरिरहनुभएको छ । उसले यति जवाफ दियो र मलाई कुर्सीमा बस्न लगाएर भित्र पस्यो । सुरक्षाकर्मी पनि बस्दै गर्नुहोला भनेर फर्कियो । 

कुर्सीमा बस्दै गर्दा मैले भित्तातर्फ विभिन्न क्षेत्रमा लागेका किसानहरूको तस्बिर देखें । हिमालमा पशुपालन, पहाडमा फलफुल खेति र तराईमा अन्न उत्पादन गर्दै गरेका किसानहरूको तस्विरले भित्ता लगभग सबै सजाईएको थियो ।

कर्मचारी फर्किए र मसँग कृषक परिचयपत्र मागे । मैले परिचयपत्र दिएपछि उनले कम्प्युटरमा हेरे । तपाँइले त १ हजार बोट सुन्तला र १५ सय बोट कागती लगाउनुभारैछ । तरकारी खेती पनि गर्नु भारैछ । खेतीपातीमा केही समस्या छ कि ? म चकित परें । आफै‌लाई  पो थाहा थेन कति बोट सुन्तला र कागती ? सरकारलाई त सबै पो था रैछ त ! अहिले छैन । २/४ वर्ष अघिचाँही फलमा औंशा पार्ने समस्या थ्यो । प्राविधिकहरु पुगेर उपचारको विधि सिकाउनुभो । त्यसपछी त यो समस्या देखिएको छैन । 

तपाँईलाई गाउँपालिकाबाट, प्रदेशबाट र संघबाट गरेर ५ लाख रकम उपलब्ध गराइएको रैछ । पाउनुभयो ? खै ४ लाख त बैंक खातामा आयो । अरु आको छैन । मेरो जवाफपछी कर्मचारीले भने त्यो प्रकृयामा रछ । केहि दिनमा आउँछ । मलाई लाग्यो मेरा बारेमा त सरकार १/१ जानकारी लिएर पो बसेको रछ त ! पहिला त सरकारी पैसा लिन हामी खेतबारीमा काम गर्नेलाई असाध्यै गाह्राे पो थियो त । काम गर्नेले त कागज पुर्‍याउन गाह्रै पो हुने !

चिया लिनुहुन्छ ? मैले नलिने बताएँ । तातोपानी लिनुस न । उनले तातोपानीको गिलास मेरा अगाडि राखिदिए । मैले तातोपानी खाँदै गर्दा अर्का किसान आइपुगे । उनले जंगली जन्तुले खेती नष्ट गरिदिएको गुनासो गरे । कर्मचारीले उनको परिचयपत्र नम्बर हेरे । कम्प्युटर हेरेर कर्मचारीले भने तपाँइको जग्गा जंगलको छेउमा रहेछ । त्यसमा जडिबुटि खेती गर्नुस । यसको बजारमा माग राम्रो छ । हामी विरुवा उपलब्ध गराउनका लागि वागवानी केन्द्रमा तपाँइको नाम र नम्बर टिपाइदिउँला । 

कुरा गर्दागर्दै उनले मलाई भित्रबाट बोलाएको छ भन्ने जानकारी दिए । उनले भर्खरै आएको किसानलाई बस्दै गर्नुस भनेर मलाई भित्र लिएर गए । त्यहाँ मन्त्री किसानहरुसँग उनिहरुका समस्या सुन्दै थिए । मलाई देखाइएको कुर्सीमा म बसें । मन्त्रीले भने मैले तपाँइहरुका धेरै समस्यहरु सुनें । केहि त मन्त्रालय तहमा नै समाधान गर्न सकिने रैछन । यिनका बारेमा तत्कालै निर्णय गरिनेछ । यस बैठकमा मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि निम्ता गरेको छु । उहाँले ३० मिनेट समय दिने भन्नुभएको छ । 

मन्त्री बोल्दै गर्दा रोकिए । प्रधानमन्त्री बैठक कक्षमा छिरे । मन्त्रीले किसानहरुसँग भएको छलफलका महत्वपूर्ण बुँदाहरु नोट गरेका रहेछन् । पशु विमा, वालि विमा, कृषि उपज वजारीकरण, वन्यजन्तु आतंक, कृषक निवृतिभरण लगायतका विषयमा उनले प्रधानमन्त्रीलाई जानकारी गराए । प्रधानमन्त्रीले मन्त्रीका सबै कुरा सुनिसकेपछि किसानहरुसाग केही थप कुरा छ कि भनेर सोधे । एकजनाले कृषि औजारहरुका बारेमा कुराकानी गरे । अरुले केहि कुरा गरेनन् । 

प्रधानमन्त्रीले आफ्नो भनाइ राख्दै भने । आज म ४-५ ओटा कार्यक्रमहरुलाई रद्ध गरेर यहाँ उपस्थित भएको छु । यो सरकार कृषि क्षेत्र र सो मा संलग्न किसानहरुको हितका लागि प्रतिवद्ध छ । किसान हाम्रो देशका पहिलो आधार हुन । किसानहरुको अवस्था सुधार्न सकिए अरु पक्षको अवस्था सुध्रन्छ । मैले तपाँइहरुका कुरा सबै टिपेको छु । अव गएर मुख्यसचिवसँग छलफल गरेर मन्त्रिपरिषदबाट हुने कुराहरु आगामी बैठकमा नै पारित हुनेछन् । केहि कुराहरु संसदले पारित गर्नुपर्ने देखियो । यसमा पनि सरकारले संसदमा प्रस्ताव लैजानेछ । विपक्षी दल पनि कृषि क्षेत्रमा किसानलाई हित गर्ने पक्षमा नै छ । हामी यसमा मिलेर काम गर्नेछौं । 

कुर्सीमा बसेर कुरा सुन्दै थिएँ । कसैले पाखुरामा समात्यो र तान्यो । म झसङ्ग भएँ । मन्त्रालयको बैठक कक्षबाट कटेरोमा पुगें । वरपर त बाँदरै बाँदर ! 

रामशरण मेरो पाखुरा तान्दै रछ । विउँझिँदा उ भन्दै थियो दाई बाँदरले मकै सक्यो त । जाँउ न । यसो हेरे‌ । बाँदरको फौज मकैबारीमा पसेर बाली नष्ट पारिसकेछ । उ र म सँगै गएर बाँदर धपायौं । 

रामशरण मकै रुघ्नका लागि बारीमा नै कटेरो बनाएर बसेको थियो । मकै छरेदेखि नै घरको एकजनाले कटेरो छाडेका छैनन् । म विहानै फोटो खिच्दै उसको कटेरोमा आएको थिएँ । उसले फेरि भन्यो ‘दाइ त यसो पल्टिनु भाथ्यो । भुसुक्कै ।’ उसले दिग्दारी स्वरमा भन्यो  ‘खै खेती गरी खान सकिने भएन दाई । न मल बीउ पाईन्छ, न कसैको साथ सहयोग ! बल्लतल्ल कमाई लगायो, बाँदर, दुम्सी, मृग केबाट मात्रै जोगाउनु? यो खेतीपाती सजिलो बनाउन केहि गर्न सकिँदैन त ?’

गर्न चाहे त नसकिने के थियो र । कृषि कर्म र किसान कहाँ हाम्रो राज्यको प्राथमिकतामा छन् र ? मलाई त भर्खरै देखेको सपना नै सुनाइदिन मन थ्यो । त्यसो गर्न सकिन । उसलाई जिस्क्याएको जस्तो हुने भो । 

सुनाउन नसके पनि लेख्न त होला । लेखे पढिएला । आखिर गम्भिर दुखमा पर्दा पनि अगाडि बढाउन सहयोग गर्ने भनेको त सपना न हो । सपना देख्न छाडेका दिन त मानव आखिर मानव रहला र ? मानिसको यो दौडधुप पनि कहाँ जारी रहला र ! असाध्यै कष्टकर अवस्थामा पनि अत्यन्तै मिठा सपना देखिन्छन् पो कसरी ?

यो लेख नलाइन खबरमा  २०७९ भदौ ११ गते १४:४५ मा  एउटा (न)मिठो सपना ! शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना