• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सुधार्ने के ? चुनाव कि व्यवस्था !

The Truth Illusion (सत्यको सम्मोहन) अलजजिरा टेलिभिजनको खोजी पत्रकारिता समूहले निर्माण गरेको वृतचित्र हो । ४ महिनाअघि २०२२ को मे महिनामा प्रसारित यस वृतचित्रले तथ्याङ्कलाई राजनीतिज्ञले कसरी आफ्नो अनुकुल व्याख्या गर्छन भन्ने बारेमा व्याख्या गरेको छ । यस व्याख्यामा उसले अमेरिकामा डोनाल्ड ट्रम्पको जितका साथै अमेरिकाले भियतनाम र इराक आक्रमण गर्नेबेलामा जनतालाई कसरी गुमराहमा राखिएको थियो भन्ने विषयलाई समेटेको छ । यसमा अमेरिकाका विभिन्न क्षेत्रका विद्धानले अमेरिकी सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु तथ्यांकको व्याख्या गर्दा २ र २ को जोड ५ हुन्छ भन्नेमा सहमत भए भन्ने कुरामा गज्जबले आफ्नो धारणा प्रस्तुत गरेका छन् । 


लोकतन्त्रको उन्नत अवस्था भएको मानिने अमेरिकामा तथ्य तथ्याङ्कको व्याख्यामा मनपरीतन्त्रको नमुना हेरेपछि हामीकहाँ सिसिटिभीको व्याख्या कमै भएको जस्तो लाग्ने रैछ । धन्न सिसिटिभी काण्डमा त्यो घटना भएकै थियो भन्नेलाई कारवाही गर्न सरकार अगाडी सरेको छैन । नत्र हाम्रामा अहिलेका शासकहरु ह्यान्स एण्डरसनको कथा वादशाहको नयाँ पोशाकको प्रमुख पात्र बादशाहभन्दा कम्ता नांगा छैनन् । आफुले मन पराएकाहरुलाई नांगा नदेख्ने हाम्रो समाज, सञ्चारमाध्यम, वौद्धिक वर्ग राजनीतिज्ञभन्दा नांगा छन् । एकपटक नांगिईसकेपछि पटक पटक नांगिन शरम नलागेर मात्रै ! मिल्ने भए छाला नै उप्काएर देखाइदिन्थ्यौं होला । रामायणमा हनुमानले छात्ति चिरेर रामसीता देखाएजस्तै !

नयाँ संविधान जारी भएपछि नेपालीका सुदिन फिर्छन् भन्ने नेतृत्वको वाचा जाली नोटजस्तै काम नलाग्ने भैसकेको छ । अहिलेसम्म नयाँ संविधान समातेर ४ ओटा निर्वाचन पूरा भए । अर्को निर्वाचन घोषणाको चर्चा व्यापक छ । त्यो भन्दा नि व्यापक छ अब हामीलाई अर्को नयाँ व्यवस्था चाहिएको कुरा । अहिले केही नेता अनि तिनका तर्कमा हो मा हो मिलाउँदै केही विद्वान पनि नयाँ व्यवस्था नभई देश अगाडि जान सक्दैन भन्ने तर्क गर्न लागिरहेका छन् । यसो २/४ तर्क पछारेपछि हामीलाई हो जस्तो लागिहाल्छ ।

समस्या विविध छन् । त्यसलाई सुधार गर्न कुनै चासो छैन । सिसिटिभीमा अपराध भए देखियो भने कारवाही गर्नुको सट्टा सिसिटिभी नै फुटाउने कुरालाई सामान्य ठान्ने समाजमा अहिलेसम्म जे भयो त्यो पनि धेरै हो । सुडानको सोच राखेर सिंगापुर बन्दैन । बनाउन सकिँदैन । हामीले सुडानको सोच मात्रै राखेका छैनौं । यात्रा पनि हामी त्यतैतिर गरिरहेका छौं ।

ललिता निवास भर्खरै सतहमा आएको थियो । त्यसमा नेपाली राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू मुछिएका थिए । काठमाडौंमा चिया खाँदै गर्दा मैले सञ्चार, सरकार धेरै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एक मित्रलाई जिज्ञासा राखेको थिए, ‘जसको नाम अहिले ललिता निवासमा मुछिएको छ । तिनीहरूलाई त आगामी दिनमा राजनीति गर्न पक्कै गाह्राे होला’ । उनले सहज रूपमा उत्तर दिएका थिए, ‘केही हुँदैन’ । मैले चकित परेर सोधेको थिएँ, ‘त्यस्तो कसरी होला र’ । उनले मलाई भनेका थिए, ‘नेपाली समाजले जति छिटो र चर्को प्रतिक्रिया जनाउँछ, त्यत्तिकै चाँडो विर्सिन्छ ।’

तत्कालै उनको कुरा मलाई मन परेको थिएन । मनमा लागेथ्यो गल्ती गर्नेले सजाय पाउँछन् । गल्ती गर्ने को हो सरकारले पत्तो लगाउनेछ । त्यस्तो केही भएन । केहिले जग्गा फिर्ता गरेर आफुले आफैंलाई सुनपानी छरे । त्यो निर्णय गर्नेमा आफूलाई सच्चा कम्युनिस्ट नेता बाबुराम भट्टराई र माधव नेपाल भएको सञ्चारमाध्यमबाट थाहा भयो । दुवै देश बनाउन विभिन्न योजना बनाइरहने नेता हुन् । उनीहरु दुवैले त्यहाँ के भएको थियोे हालसम्म बताउन परेको छैन । यहाँ ख्याल गर्ने अर्को कुरा के हो भने यी दुवै नेता भ्रष्टाचारका कारण देश विग्रियो र तिनलाई कडा कारवाही गर्नुपर्छ भनेर कुनै अन्तर्वार्ता वा भाषणमा सम्भवत छुटाउँदैनन् होला !

मित्रको कुरा मन नपराए पनि सत्य थियो । कालान्तरमा प्रमाणित भो । हामी भ्रष्टताको अन्तिम भद्दा प्रहसन हेरिरहेका छौं । भर्खरैको एम अधिकारी र सिसिटिभी काण्ड त्यसका ज्वलन्त उदाहरण हुन । शासकहरू उहि हुने तर व्यवस्था फेरेर समृद्धि ल्याउने हाम्रो कथन वा सपनामा फिस्स हाँस्दा पुग्ने कि गम्भीर हुनपर्ने हो भेउ पाएको छैन । 

अहिले अपराधको तरिका फेरिएको छ । अहिलेको वजेटमा अनधिकृत व्यक्ति प्रवेशको हल्ला र त्यसका बारेमा नेतृत्वको बचाउले त्यसलाई पुष्टि गरेको छ । व्यापारी घरानाले करका दर आफैं बसेर फेरेपछि उसले किन अरू उपाय गरेर देश लुट्न पर्‍यो र ! white color crime भनिने यो खालका अपराधमा वर्षौंपछी पनि कारवाही हुन्छ गरिन्छ । हाम्रोमा भर्खरै भएको घटना पनि सामसुम पारिन्छ । सिसिटिभी काण्डमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संसदिय समितिले सुनपानी छर्किएको छ । फेरि पनि अर्थमन्त्री बनाएर उनलाई उनले गरेको महान एवं गौरवशाली कामको पुरस्कार दिने राजनीतिक वृतमा चर्चा छ ।

यी सबै भद्रगोलहरुका बीचमा फेरि अर्को शासनशैली फेरेपछि देशमा कायापलट हुने कुरामा एकरत्ति विश्वास छैन । बरु चाहने हो भने अहिलेकै व्यवस्थाबाट परिवर्तन गर्न सकिन्छ भन्ने दृढ विश्वास छ । अव त्यसकै बारेमा उदाहरणसहित चर्चा गरिनेछ । 

अनलाइनबाट मतदाता नामावली संकलन गर्ने काम सुरू गर्‍यो निर्वाचन आयोगले । काठमाण्डौसहित अन्य केही जिल्लामा पनि परिक्षणका रुपमा यो काम सुरु भएको समाचारमा जनाइएको थियो । यो समाचार पढेपछि मलाई चाहने हो भने निर्वाचन प्रणालीमा सुधार गरेर हाम्रो भ्रष्ट शासनव्यवस्थामा परिवर्तनको सुधार गर्न सकिने अवस्थामा पुगिएछ भन्ने लागेको छ । नेतृत्व भने अझै विद्युतिय मतदानमा शंका गरिरहेको अवस्थामा धेरै हौसीनु त जरुरी छैन । तैपनि साना सुधारहरु सुरु गर्ने हो भने तिनले धेरै ठूलो प्रभाव छाड्न सक्छन ।  

अहिलेको निर्वाचन प्रणालीमा मेरो नाम जुन मतदान केन्द्रमा छ मैले मत हाल्न त्यहीँ जानुपर्छ । यसका कारण उम्मेदवारले धेरै खर्च गरेर मतदाता ओसार्ने गर्छन् । उम्मेदवारको खर्चको ठूलो हिस्सा यसमा छ । यसका बारेमा खर्च विवरणमा खुलाउन मिल्दैन । नखुलाएपनि कतिसम्म खर्च भो भन्नेमा अनुमान गर्न सकिन्छ नै । यसलाई सुधारेर मलाई जहाँ पायक पर्छ मैले त्यहीँबाट मतदान गर्न पाउने हो भने दलहरूमा खर्चको भार पनि कम हुने थियो । आफुले खर्च गरेर ल्याएपछि मैलाई भोट दिन्छ भन्ने ढुक्कता नहुने हो भने पार्टीलाई राम्रा उम्मेदवार छान्न करै लाग्थ्यो । हामी विदेशमा भएका मतदातालाई मताधिकार दिने पक्षमा सोचिरहेका छौ । स्वदेशमै पनि पायक पर्ने मतदान केन्द्र छान्न दिँदा हानी हुँदैन फाईदै हुन्छ । बरू एक मतदान केन्द्रमा रहेको मतदाताले अर्को मतदान केन्द्रमा मतदान गर्ने दिन फरक पारौं । फरक मतदान केन्द्रबाट मतदान गर्नेको विवरण पहिला नै अनलाइनबाट संकलन गरौं । अनलाइन मतदाता नामावली नै संकलन गर्न सकिने अवस्थामा यो त्यत्रो ठूलो कुरा नै हैन ।

अर्को समस्या भनेको मतदाताभन्दा मत वढि खस्ने अवस्था हो । मतदाता नामावलीमा नाम भएपछि सबैको मत खसे पनि केही नहुने अवस्था छ । यसमा सुधार गरौं । पहिला नै नामावली व्यापक रूपमा अद्यावधिक गरौं । बाहिरबाट मत खसाल्ने र विदेशमा रहेकाहरूको विवरण उतारौं । त्यसभन्दा १ मत बढि परेको पाईए पनि जति मत बढि पर्यो त्यति मत रद्ध गरौं । यसरी मत रद्ध हुने भएपछि दलहरूले फर्जि मत हाल्ने जाँगर चलाउन छाड्छन् । यसले दलहरूलाई चुनावमा वाहुवली परिचालन गर्ने वाध्यता पर्दैन । यसमा पनि खर्चको कुरा जोडिन्छ । यसले चुनाव जित्न जनता नै चाहिन्छ अरूले हुँदैन भन्ने सन्देश दिन्छ । यो सन्देश जानू नै लोकतान्त्रिक पद्धतिमा सबैभन्दा ठूलो कुरा हो । 

सार्वजनिक स्थानमा दलका व्यानर राख्न नदिने निर्वाचन आयोगको निर्णयका कारण २०७९ को चुनावमा सार्वजनिक स्थलहरू फोहोर हुनबाट जोगिए । त्यो मात्रै हैन यसले उम्मेदवारको खर्च समेत कटौती भो । यसरी सहि निर्णय गर्ने र त्यसको ईमानदारीपुर्वक पालना गर्ने हो भने अहिलेकै शासनव्यवस्थाले हामीलाई लक्ष्यमा पुर्‍याउनेछ । खेल उहि, खेलाडी उहि, खेल्ने मैदान उहि अनि नतिजा फरक खोजी गर्नु भनेको मुर्खता मात्रै हो । यसैकारण चुनाव सुधारौं बाँकी आफैं सुध्रदै जान्छन् । 

अघिल्लो लेख व्यक्ति नसच्चिए कानुन, दल नसच्चिए निर्वाचन पढेपछि मलाई एक राजनीतिक व्यक्तिले भनेथे लोकतन्त्र यस्तो व्यवस्था हो यसमा गान्धी र हिटलर दुवै जन्मन सक्छन् । उनको कुरा सुनेपछि म एकछिन सोचमग्न भएँ । जुनसुकै व्यवस्था भएपनि नेतृत्वमा विवेक र ईमानदारीता भएन भने त हिटलर जन्मन्छ नै । गान्धी जन्माउन भने हामीले मेहनत गर्नुपर्ने छ । यो पनि विधि प्रविधिको व्यापक प्रयोग गरेर हिटलरहरूलाई नै गान्धी बनाउनु छ ।

शासनव्यवस्था सवारीसाधन हो । नेतृत्व चालक । नेतृत्वमा इमानदारिता भए सवारी साधन समस्या हुन सक्दैन । हुँदैन पनि । नेतृत्व गैरजिम्मेवार भए जतिसुकै राम्रो सवारी साधन भएपनि त्यसलाई गन्तव्यमा पुर्‍याउन सकिन्न । सुरुमा उल्लेख गरिएझै नेतृत्वले आफ्नो अक्षमता ढाकछोपका लागि शासनव्यवस्था फेर्ने कुरा गरेको हो । 

शासनव्यवस्था नयाँ नभइ काम गर्न सकिन्न भन्ने नेतृत्वलाई सोध्न लागौं । विश्वका एकात्मक मुलुकले पनि प्रगति गरिरहेकै छन् किन ? तिनीहरु तन्नम पनि छन् किन ? राजतन्त्र मानेका मुलुक पनि विकसित छन् किन ? अविकसित छन् किन ? गणतन्त्र भएका मुलुक समृद्ध छन् किन ? तिनीहरु तन्नम छन् किन् ? पचासौं वर्ष एउटै शासन व्यवस्था हुने मुलुकमा विकास रोकिएको छैन । अर्काले संविधान वनाइदिएको मुलुक धनी हुन केहीले रोक्दैन । हाम्रोमा मात्रै हरेक १० वर्षमा नयाँ संविधान अनि शासन व्यवस्था चाहिने हो ?

नेतृत्वले जवाफ दिँदैन । उसले समस्या म आफैंमा छ भन्दैन । भन्न सक्दैन । आउनपर्ने जवाफ हो नेतृत्व सहि भए जुनसुकै व्यवस्थामा उन्नति प्रगति गर्न सकिन्छ नभए सकिन्न । 

अन्तमा, केही समयअगाडि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो क्लिपको कुरा । मृगलाई चितुवाले लखेट्दै गर्दा व्वाँसाहरुले जोगाउँछन् । मृग खुसी हुन्छ ज्यान वच्यो भनेर । तर एकै आक्रमणमा ज्यान जाने चितुवाबाट बचेको मृगले आफ्नो अन्तिम श्वाससम्म व्वाँसाहरुले लुछ्दै गरेको भोग्नुपर्छ । हामी चितुवाबाट बचेर व्वाँसाको आहार हुने अवस्थामा पुग्नु प्रगति हैन । प्रगति भनेको अलिक लामो समय बाँच्नु हो । त्यो शासनव्यवस्था बदलेर हैन चुनाव वदलेर मात्रै सम्भव छ । नत्र त एकछिनअघि खुसी भएर रमाएको मृगले केहि छिनमै पलपल दुख्दै मृत्यु अँगालेको अवस्थाभन्दा के मा फरक छ र !


यो लेख नलाइन खबरमा  २०७९ साउन १६ गते १५:१२ मा  सुधार्ने के ? चुनाव कि व्यवस्था शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना