• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

चोलेन्द्रको चाल, लोकतन्त्रको वेहाल !

लेखको सुरुवातमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनः  

स्थानीय तहको निर्वाचनको उम्मेद्वारी दर्ता हुँदै थियो । गठबन्धन गरेका दलमा सामेल एक पार्टीका जिल्ला तहका नेतासँग म चियागफमा थिएँ । उनले गठबन्धनमा सामेल अर्को पार्टीको नेतालाई आफ्नो पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बनाएका थिए । कुराकानी हुँदा उम्मेदवारी दर्ता भइरहेको थियो । हामी जिल्लामा चुनावी नतिजा कस्तो आउला भन्ने बारेमा गफिँदै थियौं ।



त्यसपछि उनकै स्थानीय तहका बारेमा कुराकानी भयो । गठबन्धनबाट उठेका उम्मेदवारका विषयमा पनि कुरा भयो । मैले उनलाई सोधें `उनी त अलि विवादित मान्छे भन्छन् त ?´ मेरो प्रश्नको उत्तरमा उनले भने `उनलाई विवादित बनाएको हामीले नै त हो । अव हामी नै उनलाई असल र इमानदार बनाउँछौं ।´


उनले भनेनन् मात्रै आफैंले खराव मान्छे भन्दै दुत्कार्दै हिँडेका व्यक्तिलाई सबैभन्दा असल र इमान्दार भने र काँध हाले । चुनाव जिताए । अहिले भेट हुँदा उनले आफुले जिताएको उम्मेदवारको बखान मात्रै गर्छन् । आफूले १ भोट हालेको नेताले गल्ती गर्दा त पाइलापाईलामा बचाउ गर्ने इमानी जनता भएको ठाउँमा उनी गलत हुन र ! 


नेपालको राजनीतिको यो अहिलेको कठोर यथार्थ हो । स्वार्थ मिलेपछी सबै गज्जब हुने र नमिल्दा खराबी ! मानसिक उपचारका लागि अस्पताल पठाउनपर्ने भन्ने लिखित निर्णय गरेकाहरु उसैलाई प्रधानमन्त्री बनाएर आफू मन्त्री भए । उसैलाई पहिलो अध्यक्ष बनाएर पार्टी चलाए । सम्भवत राजनीति सबैतिर यस्तै हुन्छ पनि होला । त्यसैकारण राजनीतिभन्दा बाहेकका मानिसहरु संलग्न हुने न्यायालय लोकतन्त्रमा महत्वपूर्ण अंग हो । लोकतन्त्रका तीन प्रमूख आधारमा बाँकि दुईमा राजनीतिमा संलग्न मानिसहरु प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । न्यायालयमा राजनीति हुँदैन । कार्यपालिका र व्यवस्थापिकाले जहिले पनि कानुन परिवर्तन हुन सक्छ भन्ने मान्यता राख्छन् । कानुनमा समस्या भए उनिहरुले परिवर्तन गर्न सक्छन् । नयाँ विषयहरु आएमा कानुन निर्माण पनि गर्न सक्छन् । 


अदालत भने कानुन निर्माण र संसोधनकर्ता होइन । यो कानुनको व्याख्याता हो । यसले कानुनभन्दा बाहिर गएर सोच्न सक्दैन । हाम्रो लोकतन्त्रले यही कुरामा विश्वास गर्छ । व्यवहारमा त्यो नभए पनि !


ठ्याक्कै १ वर्ष अगाडि नेपालमा एक राजनीतिक पात्र सत्ताबाट ओर्लिएका दिन कायापलट हुन्छ भनेर व्यापक प्रचारप्रसार गरियो । १ वर्षको यो अवधीमा त्यो तर्क वहस गफैमात्र थियो भन्ने प्रष्ट भएको छ । राजनीतिक अभिष्ट पुरा गर्नका लागि मात्रै यो काम भएको थियो भन्ने छर्लंग भएको छ । 


न्यायालयले केपी ओलीलाई सत्ताबाट निकालेपछि हाम्रा विद्धान वर्गहरुले न्यायालयको उच्च स्वरमा जयजयकार गरे । न्यायालयले गर्नैपर्ने काम गरेर नेपालको संविधान जोगाएको भनेर लामालामा लेख लेखिए । अनि यो देशका सदावहार रुपमा अग्रगामी भनेर चिनिएकाहरुले पनि न्यायालयले लेखेको १ सय २७ पाने फैसलाको खुलेर प्रशंसा गरे । यस्तो रूपमा प्रचार गरियो कि `के भन्ने र, देश त भड्खालैमा परेको थियो । उनै चोलेन्द्रको ईजलासबाट आएको फ‌सलाले न जोगिएको थियो !´ 


आजचाँही रमिता छन् । त्यो फैसला गर्ने टोलीका नायक प्रधानन्यायाधिस संसदिय समितिमा आफैंले न्यायालय ध्वस्त पारेको बारेमा वयान दिइरहेका छन् । अहिले यस्तो कथ्य तयार गरिएको छ `न्यायालयमा चोलेन्द्र भएका कारण न्यायालय रसातल पुगेको थियो । उनी हटे/हटाईएका दिनदेखि सबैकुरा ठीकठाक हुनेछ । ´


चोलेन्द्रको वयान दिँदा भने `न्यायालय न्यायालय भएन । म न्यायाधिस जस्तो पनि भइन । मेरा दौंतरीहरु जस्ता थिए । म त्यस्तै थिएँ ।´ तर त्यहाँ वयान सुन्ने र मुलधारका सञ्चार माध्यम त्यो भन्दा फरक कुरा सुनिरहेका छन् । 


संसदीय समिति अहिले जमानामा माओवादीले चलाउने कङ्गारु कोर्ट जस्तै भएको छ । जेजस्तो कुरा आएपनि आफुलाई लागेको फैसला सुनाउने । सो बमोजिम कारवाही गर्ने । नत्र महाअभियोग दर्ता भएको यत्ति लामो समयपछि सुनुवाइ सुरु गर्नुपर्ने थिएन । नियममा वसेर प्रक्रिया अगाडि बढाएको भए जमानामै यसको छिनोफानो भैसकेको हुने थियो । 


अदालतले कुनै मुद्दामा फैसला गर्छ भनेर महाअभियोग ल्याइयो भनेर सार्वजनिक भाषण गर्ने नेता हाम्रो समाजको आदर्श नेता हो । यस्ता आदर्श नेता भएका ठाउँमा हामीले रमिता हेर्ने हो । भोग्ने हो । हामीले त्यही पाइरहेका न छौं । 


चोलेन्द्रले संसदीय समितिमा न्यायालयका विभिन्न प्रसङ्ग उप्काए । त्यस्ता प्रसङ्गहरु लोकतन्त्रमा कल्पनावाहिरका कुरा हुन् । अदालतले न्याय कसरी सम्पादन गर्छ ? यसमा कस्तो खालको खेलोमेलो हुन्छ ? न्यायाधिसको विवेक कसरी प्रयोग भैरहेको छ ? यस्ता विषयमा उनले व्यापक सवालहरु उठँइदिएका छन् । अहिले सामाजिक सञ्जाल नहुँदो हो त मुलधार भनिएका सञ्चारमाध्यमका हाउस एङ्गलीङ अनुसारका सामाग्री मात्रै सर्वसाधारणसम्म पुग्थे । अहिले त्यो अवस्था रहेन । उनले यसो भने रे हैन, भिडियोहरु नै तत्कालै सामान्यजनका पहुँचमा पुग्छन् । यसले को कति पानीमा छ भन्ने निर्क्यौल गर्न सर्वसाधारणलाई सहज छ । 


उनले आफ्ना सहकर्मीका बारेमा पनि गम्भिर सवाल उठाएका छन् । संविधान भनेर सत्ताको रक्षामा तल्लिन सरकारले यसमा कस्तो कारवाही गर्छ त्यो हेर्न बाँकी नै छ । 


चोलेन्द्रको वयान तत्काल सकिने जस्तो देखिँदैन । उनलाई महाअभियोग पारित गर्न नभइ अलमल्याउन ल्याइएको हो भन्ने अग्रगामी गठबन्धनका नेताले वेलैमा वताएका हुन् । चोलेन्द्रले पनि त्यसलाई संसदिय समितिमा उल्लेख गरे । हामीलाई भने कुनै क्षेत्रमा एक पात्र आउँदा वा जाँदा त्यो क्षेत्र पुराका पुरा परिवर्तन हुन्छ भन्ने महान एवं गौरवशाली मान्यताले डोहोर्‍याएको छ । आफूलाई मन पर्दासम्म उसले जसो गरेपनि विधिसम्मत हुने र मन नपरेका दिन अपराध हुने मान्यता पनि हाम्रो अर्को गौरवशाली मत हो । 


एक जमानाका राजनीतिक क्षेत्रका मियो हुन गिरिजाप्रसाद कोईराला । गिरिजाप्रसाद कोईरालाको निकटमा रहेर लामो समय राजनीति गरेका नेता हुन जयप्रकाश प्रसाद गुप्ता । उनले न्यायालयमा हालसम्म भएका रमिताका बारेमा एउटा लेख नै जत्रो फेसबुकमा स्टाटस लेखेका छन् । त्यहाँ कसरी प्रधानन्यायाधीश पदमा राजनीतिक दलहरूले रमिता गर्थे भन्ने सविस्तार उल्लेख गरेका छन् । उनको स्टाटसमा उमेर विवादमा सर्वोच्च अदालतबाट वाहिरिएका प्रधानन्यायाधीश 

गोपाल पराजुलीले कमेन्ट गर्दै लेखेका छन् `षडयन्त्रकारीहरूको प्रकोप मुखरित हुदै जाने छ । माफियाजमको करामत हेर्नु र देख्न छिटै पाइने छ हुनत मेरोकृतिमा अवको आन्दोलन अदालतको विरुद्धमा हुने भविष्यवाणी गरेको छु। सुरुवात भएको पनि छ ।´


बुझकीलाई ईशारा काफी छ । २ जनाको सवाल जवाफले न्यायालय भर्खरै  मात्र समस्यामा परेको होईन । यसका पछाडि लामो ईतिहास छ भन्ने देखिन्छ । समस्याले समाधान पनि लिएर आउँछ भन्छन् । यसले केही उज्याला किरण पनि छाडेको छ ।


साँच्चै न्यायालय सुधार्नैका लागि सबै काम भएका हुन भने चोलेन्द्रसँगै उनले भनेका अन्य श्रीमान्‌हरुका बारेमा पनि स्वतन्त्र छानबिन गरौं । अदालतले न्याय दिन्छ भन्ने नागरिकमा स्थापित गराउन यो जरुरी पनि छ । यसका लागि चोलेन्द्रका कुरामात्र हैन अदालतबाट निवृत्त भएका श्रीमान्‌हरुले विभिन्न समयमा बोलेका कुरा, लेखेका पुस्तक, लेख लगायतका सामाग्री र अदालत आफैंले प्रकाशन गरेका प्रतिवेदनहरुलाई आधार मानेर वृहत किसिमको छानविन गरौं । छानविनबाट निश्केको निष्कर्शलाई इमानदारीपूर्वक पालना गर्ने वातावरण सिर्जना गरौं । यसले हाम्रो अदालत स्वतन्त्र हुन्छ । स्वतन्त्र अदालतले आफैंलाई बलियो बनाउनेछ । लोकतन्त्रमा अदालत वलियो हुनु शुभ संकेत हो । 


अहिलेजस्तै एकलाई जोगाउन अर्कोलाई खाडलमा हाल्ने, निहित स्वार्थपुर्तीका लागि मोलमोलाई गर्ने काम हुने हो भने एक चोलेन्द्र जाँदैमा केहि फरक पर्नेवाला छैन । त्यसपछिको अवस्था झनै खराब हुनेछ । शक्ति केन्द्र र नेता नरिझाए केही हुन सक्दैन भन्ने मान्यता स्थापित हुनेछ। यसकले गर्दा त्यस्ता ठाउँ रिझाउन हाम्रा श्रीमान्‌हरु लाईन लाग्नेछन् । मुद्धामा कानुन हैन वादीप्रतिवादीको अनुहार हेरिनेछ । तिनीहरुको कहाँसम्म पहुँच छ त्यसका आधारमा मुद्धा छिनोफानो हुनेछ । 


हामीले पक्कै यस्तो मत्स्यन्याय खोजेका हैनौं । पटकपटक ठूलो मूल्य चुकाएर स्थापना गरेको शासनव्यवस्था विधिका लागि हो । पद्धतिका लागि हो । हामीलाई विधिको शासन चाहिएको हो । विधिको शासनका लागि आफ्नो मान्छे हुँदा ८० सेमिमा १ मिटर हुने र अर्काको मानिस हुँदा १२० सेमीको १ मिटर हुने दोहोरो चरित्र त्याग्नैपर्छ । नत्र जित्न सबै सामर्थ्य हुँदा पनि युद्ध हार्ने कर्णको नियती हामी निरन्तर भोगिरहनेछौं । 


अन्तिममा महाभारतको कर्णको प्रसङ्ग

महाभारतको युद्ध चलिरहेको थियो । कर्णसँग भीमसेनको छोरा घटोत्कच लडिरहेको थियो । दुवै आफ्नो सामर्थ्यमा लडिरहेका थिए । कर्णले युद्धमा घटोत्कचलाई पराजित गर्‍यो । घटोत्कच मरेपछि अर्जुन साह्रै अत्तालिए । कृष्णलाई भन्न लागे `हामीले एक महत्वपूर्ण योद्धा गुमायौं । तपाईमा कुनै पनि चिन्ता देखिन्न त ?´


अर्जुनका कुरा सुनेपछि कृष्णले भने `तिमी चिन्ता नगर । हाम्रो महत्वपूर्ण योद्धा गुम्नु अवस्य पनि चिन्ताको कुरा हो । तर यसमा हर्ष मान्नुपर्ने कुरा छ ।´ यो महाविपत्तीमा हर्ष मान्नुपर्ने कृष्णको कुराले अर्जुन चकित परे । कृष्णले अर्जुनसँग भने । `कर्णले घटोत्कच मार्न आफुसँग भएको विशेष हतियार प्रयोग गर्‍यो । जुन उसले तिमीलाई मार्नका लागि  जोगाइरहेको थियो । अव तिमीले उसलाई सजिलोसँग मार्न सक्छौ ।´ 


यो कथा यहाँ प्रयोग गर्नुको कारण छ । कैलेकाँहि लाग्छ कतै हामीले पनि कर्णको जस्तै आफ्नो विशेष शक्ति त गुमाइसकेका त छैनौं । महान उद्धेश्यका लागि भनेर जोगाएको सपना मामुली काममा खर्च भएर सकिएन र ! नत्र गत वर्ष हामीले भनेका भाष्यमा एकपटक चिन्तन गर्दा आज कस्तो देखिन्छ ? यस्तै १ वर्ष पनि नटिक्ने गफ लगाएर अझ भनौं सपना देखाएर हामी अझै कति वर्ष यात्रा गर्छौं हँ ! 


यो लेख इकागज अनलाईनमा भदौ २०, २०७९ ९:४९ बजे  चोलेन्द्रको चाल, लोकतन्त्रको बेहाल शीर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना