• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

को सुध्रने ? नेता कि मतदाता ?

नेपाल अहिले उल्टो दिशातिर लम्किरहेछ । ती जो लोकप्रिय र जनविश्वास प्राप्त संस्था थिए, अलोकप्रिय र जनताको नजरमा गिरेका संस्थामा बदलिन गएका छन् । ती जो अलोकप्रियताको चुलीमा र जनताको विश्वास गुमेका संस्थाहरू थिए, ती विस्तारै लोकप्रिय हुन थालिरहेछन् । नेपाली राजनीतिले यतिखेर प्रतिगामी बाटो समातिरहेछ । 

राजनीतिमा मूल पुँजी भनेको जनताको विश्वास हो । नेतृत्वप्रति जनताको भरोसा छ भने, त्यो पुँजी भजाएर नेतृत्वले धेरै कुरा गर्न सक्छ । सिँगै देशलाई निर्देशित दिशामा लान सक्छ । कुनै पनि संकट मजाले झेल्न सक्छ । जनता र नेतृत्व एक ढिका भएको स्थितिमा दुनियाँको कुनै ताकतले पनि त्यसलाई परास्त गर्न सक्दैन, झुकाउन सक्दैन ।

नेपालको संसदीय पुँजीवादी प्रजातन्त्रको दश वर्षको मूल विशेषता के रह्यो भने, यो व्यवस्थाका सबै महारथीहरूले जनताको विश्वास साह्रै छिटो गुमाए । जनताबाट पहिले प्राप्त अपार विश्वासलाई उनीहरूले व्यक्तिगत स्वार्थ र मोजमस्तीसँग भजाएर खाए। 


सिद्धान्त जे भए पनि, आदर्श उन्नत भए पनि काँग्रेस आचरणमा पञ्चजस्तै देखियो, एमाले काँग्रेसजस्तो, माले एमालेजस्तो । भेद कहीं कतै गुणको देखा परेन, थोरै थोरै मात्राको मात्र देखियो । कतै त मात्राको पनि अन्तर देखिएन । राष्ट्रको अपार नोक्सानीमा महाकाली भारतलाई सुम्पने प्रवृत्ति र कर्णाली एनरोन्‌ (जलविद्युत कम्पनी ?)लाई सुम्पने प्रवृत्तिमा भेद के ? छँदाखाँदाको पार्टी फोडेर माले जुन कारणले एमालेबाट छुट्टिएको थियो त्यसको औचित्य कहीं कतै पुष्टि भएको देखा परेन ।


अहिले नेपाल भयावह अनिकाल भोग्दै छ । त्यो अनिकाल खानेकुराको होइन, भरोसायोग्य नेतृत्वको हो, त्यस्तो नेतृत्व जोसित वैकल्पिक भिजन छ, उन्नत नैतिक-सांस्कृतिक मूल्यहरू छन् र सिद्धान्तप्रतिको प्रतिवद्धता छ । एक्काइसौं शताब्दीको आजको नेपाललाई कता हाँक्ने ? कसरी हाँक्ने ? त्यसबारे सुस्पष्ट भिजन र भिजन अनुकूलको आचरण भएको भरोसायोग्य नेतृत्वको नेपालमा अहिले औधी खाँचो परिरहेछ । अहिलेको नेपालको अन्तरविरोध के हो भने जोसँग भिजन र उन्नत जीवनमूल्य छ, ऊ नेतृत्वमा छैन, जो नेतृत्वमा छ ऊसँग भिजन पनि छैन, इमान्दारिता पनि छैन । यो अन्तरविरोध हल गर्नु नै यतिखेरको नेतृत्वको संकट हल गर्ने एक मात्र उपाय हो ।…..

माथिका ५ अनुच्छेद पढिसकेपछि तपाँइ अलिकति अचम्ममा पर्नुभयो होला । कुरा त भर्खरैको छ । पञ्चको ठाउँमा माओवादी, मालेको ठाउँमा एस हुनुपर्ने ! लेख्नेले विगारेछ क्यार । अरू कुरा त अहिले सबै दुरुस्तै छ त ! के हो यो ? 

यो भर्खरैको सामाग्री हैन । दुई दशक अगाडि लेखिएको हो । २०५६ को आमनिर्वाचनपछि मुल्यांकन मासिकले लेखेको सम्पादकीयको अंश हो । कसरी हल हुन संभव छ वर्तमान नेतृत्वको अनिकाल ? शीर्षकको यो सामाग्री आज पनि उत्तिकै प्रासंगिक छ । हामीले गरेको विकास समृद्धि, परिवर्तन नि ! कस्तो हो ? कहाँ सम्म पुग्ने हो ?

यो लेखमा उठाउन खोजिएको विषय भनेको निर्वाचनमा सुधार गरेर कसरी हामीले खोजेको समृद्धी सम्भव छ भन्ने हो । यस विषयमा लगातार ३ लेखहरु लेखिसकेको भएर लेख लेख्न त्यत्ति जाँगर चलेको थिएन । जव २३ वर्ष अगाडिको पत्रिका हात पर्‍यो । त्यसपछि लाग्यो लेख्नैपर्छ । 

माथिको सामाग्री प्रकाशित भएका बेलामा संसदीय राजनीति विकृतिको शिखरमा थियो । माओवादी चैं समाजवादी समाज स्थापना गर्नका लागि बन्दुक बोकेर जंगल छिरेको थियो । मुल्यांकन मासिकको हाउस एंगलिङचाँही माओवादीलाई समर्थन गर्ने थियो । यसका कारण यो र यस्तै सामाग्रीले माओवादी आन्दोलनलाई सानोठूलो सहयोग गर्‍यो । अझ २०५६ पछिका संसदिय अभ्यासका रमिताहरुले माओवादी जनयुद्धमा बल पुर्‍यायो । २०६४ मा माओवादी पहिलो शक्ति भएर सिंहदरबार छिर्‍यो । त्यसपछि पनि माओवादी पटकपटक सरकारमा छ। तर यस पार्टीका सुप्रिमो प्रचण्डलाई अझै एकपटक प्रधानमन्त्री हुने रहर छ । सरकार र सत्तामा हुँदा नागरिकलाई नसम्झने पार्टीले आज फेरि जनताको जीवनस्तर परिवर्तनको गफ दिएको छ देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ल्याएर ! संसदले बनाएको प्रधानमन्त्री हटाउन अदालत/न्यायाधीश प्रभावित पार्न परेको कुरा चोलेन्द्र प्रकरणबाट प्रष्ट छ, यस्तो अवस्थामा कार्यकारीले के के हर्कत गर्ला अनि उसलाई हटाउन अर्को के जात्रा गर्नपर्ला ? 

बाँकी दलहरुको अवस्था त २०५६ मा प्रकाशित सामाग्रीले नै प्रष्ट पारेकै छ ।  नामहरु फरक होलान तर पार्टीहरु उहि चरित्रका छन् । 

गएको वैशाखमा भएको स्थानीय निर्वाचनको १ प्रसङ्ग । १ जना नेता पहिला पालिका अध्यक्षले गरेको विकासको ज्यादै आलोचना गर्थे । उनको भनाइ थियो गाउँका जनताहरुसँग ति विकास जोडिन सकेनन् । राम्रो भवन बनाउनुभन्दा पनि गरिब जनताहरुको आर्थिक स्तर सुधार गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । जनताको जीवीकामा परिवर्तन गर्न नसक्ने भौतिक संरचना निर्माण गर्नुभन्दा गरिब जनतालाई दैनिक रोजिरोटीको सवालमा काम गरिनुपर्छ । 

तिनै नेता २०७९ वैशाखको स्थानीय चुनावमा पालिका अध्यक्ष चुनिए । उनले सबैभन्दा पहिला गाउँमा डोजर किन्ने निर्णय गरे । खरिद पनि गरे । सदरमुकाममा हाम्रो भेट हुँदा मैले उनलाई उनको पहिलाका भनाई सम्झेर भनें गाउँमा अहिले सडकको काम त गरिवहरुले गर्ने थिए नि ! अहिलेको काम भनेको सडकको गुणस्तर सुधार हो । नाली लाउने, पर्खाल लाउने, सोलिङ गर्ने र सडकमा खसेको पहिरो हटाउने हो । जसमा मेसिन भन्दा मानिस प्रयोग गर्नु उत्तम हुन्छ । डोजर किनेपछि त गरिबको काम खोसिएन र ? मैले सोधेको प्रश्नको जवाफमा उनले भने मेरो पालिकामा कुनै गरिब नै छैनन् ! 

म अचम्ममा परें । एउटा नागरिकका सवालमा निरन्तर पैरवी गरिरहेको नेतृत्व सत्तामा पुगेपछि सबै नागरिक धनि भएको कसरी देख्छ ? कि सत्ता वास्तवमै केहि देख्न तथा अनुभव गर्न नसकिने चेतनाशुन्य हुन्छ ?

हाम्रोमा मात्रै होला कि अन्य देशहरुमा पनि यस्तै होला । जहाँ २ दशक पुरानो कुरा आजकै जस्तो छ । परिवेश त फेरियो । २ दशक पहिले हामीसँग राजतन्त्र थियो । एकात्मक राज्य थियो । हामीले यि व्यवस्था फेरेको पनि १५ वर्ष पुरा भैसके । अहिले हामी गणतन्त्रात्मक व्यवस्थामा छौं । गाउँगाउँमा हामीले सिंहदरवार पुर्‍यायौं । अझै हामी फेरी अर्को नयाँ शासन व्यवस्था चाहियो भन्ने वहस किन गरिरहेका छौं । के हामी किलामा बाँधिएका चौपाया जस्तै भैसकेका हौं । हिड्न एकक्षण पनि नछाड्ने ! वर्षौंसम्म कतै नपुग्ने ! 

मंसिर ४ को चुनाव पनि लागिसकेको छ । उम्मेदवार प्रचारप्रसारमा छन् । आवधिक निर्वाचन लोकतन्त्रको एक सुन्दर पक्ष हो । यसमा जनताले नयाँ नयाँ नेता चुन्छन । पार्टीहरु चुनावकै कारण आफुलाई जनताप्रति उत्तरदायी देखाउन प्रयास गरिरहन्छन् । गरीरहेका छन् । 

हाम्रो देशको परिवर्तनको इतिहास हेर्दा हाम्रो नेतृत्व सहजै सच्चिएला जस्तै देखिन्न । यसका लागि मतदाता सच्चिनुपर्ने अवस्था आएको छ । मतदाताले पार्टी, विचार, आफन्त, नजिक, पराई, लगायतका पक्षमा अल्मलिएर सहि तथा इमान्दार नेतृत्व नछान्दा आजको अवस्था आइपरेको हो । नेतृत्वलाई मतदाताले आफ्नो विवेक प्रयोग गर्छन । आफ्नो मन परेको कार्यकर्ताभन्दा जनतामा लोकप्रिय कार्यकर्तालाई टिकट दिनुपर्छ भन्ने विश्वास लाग्छ । यसले नै हाम्रो लोकतन्त्र बलियो हुन्छ । 

नेपालीहरुको केहि समान विशेषता छन् । जुनसुकै समय नै चिया खाने र देश किन बनेन भनेर लामा राजनीतिक गफ गर्ने । तर परिआउँदा उचित निर्णय गर्न नसक्ने । अनि लामो समय गनगन गरेर बसिरहने । 

समयमा सहि तथा उचित निर्णय गर्न नसक्दा हाम्रो जीवनमा भित्ताका क्यालेण्डर वर्षेनी फेरिनेबाहेक अरु त्यस्तो खास परिवर्तन भएको छैन । वर्षौं अघिदेखिको उत्पादकत्वमा सुधार आएको छैन । हिजो मुगलान जाने मानिस आज मलेसिया पुगेको छ । अलिक जान्ने टाठोबाठो युरोप अमेरिकातिर दौडिएको छ । गाउँहरु दिनानुदिन मानिसविहिन वन्दै गइरहेका छन् । धनी र गरिबबीचको खाडल झनझन बढ्दो छ । अवको २० वर्षपछि पनि हामी यस्तै अवस्थामा रहने कि फेरिने । यसको जवाफ आजै खोजी गर्नुपरेको छ । 

१ वर्षअघि एउटा राष्ट्रिय स्तरको पेसाागत संस्थाको चुनाव भयो । त्यो पनि अलिक वौद्धिकहरु नै सदस्य हुने संस्थामा । त्यो सामाजिक संस्थाको चुनावमा अहिलेको चुनावजस्तै पार्टी पार्टीको चुनाव भो । त्यसमा त्यो क्षेत्रका सबैभन्दा विवादास्पद अझ प्रष्ट शब्दमा भन्दा भ्रष्ट उम्मेदवारले भारी मतले चुनाव जिते । ति जिताउने एकजना पनि मतदाता अहिले पनि उक्त निर्णय किन सहि थियो भनेर भन्न सक्दैनन् । तैपनि उनिहरूले मत दिए पार्टीका नाममा, कसैलाई देखाईदिने नाममा । त्यस चुनावमा हारेकालाई किन मत दिनु नपर्ने भन्ने जवाफ नदिनेहरुसँग थिएन । जसले भारी मतका साथ जिते उनलाई किन जिताउने भनेर कोहि पनि २ वटा तर्क दिन सक्ने हालतमा थिएनन् । अहिले पनि छैनन् । 

हारेका उम्मेदवार गलत भन्नेमा जिताउनेहरु पनि थिएनन् । आज पनि छैनन् । आज पनि उनिहरुको एकमात्रै जवाफ भनेको राष्ट्रिय राजनीति भन्नेमात्रै छ । राष्ट्रिय राजनीतिका नाममा इमान्दारहरुलाई नछान्ने अनि गलत मानिसले शासन गर्‍यो भन्ने कुरा त गनगन मात्रै न हो । अब पनि केपीको, शेरवहादुर र पुष्पकमलहरूको मुहार हेर्दै ईमानदार पाखा लाउने र बेईमान काखाँ राख्ने हो भने लेखेर राखेहुन्छ, वि. स. २१०२ मा पनि २०५६ कै कुरा सान्दर्भिक हुनेछ । केही पात्रहरू फेर्नुपर्ला !

अहिले पनि आफ्नो ठाउँमा उठेका भ्रष्ट तथा विवादित पात्रहरुलाई मत दिनु भनेको वाँकी जीवन गनगनमा विताउनु मात्रै हो । कम्तीमा सहि मानिसलाई मत दिँदा भने अरु केहि नभए पनि मनमा शान्ती भने हुन्छ । 

अन्तमा, लोकतन्त्र उन्नत व्यवस्था हुनुका पछाडी यसमा नागरिकले आफुले मत दिएर आफ्नो शासक चुन्छ । यसैले नागरिकलाई सबैभन्दा बलियो शक्ति मानिन्छ । तर नागरिकले आफ्नो विवेक प्रयोग नगर्ने हो भने हामी अवको ५० वर्ष पछाडीपनि यहि अवस्थामा रहिरहनुपर्छ । 

एकजनाले सामाजिक सञ्जालमा लखेको कुरा मननीय छ ‘देश बदल्न नेता होईन, म बदलिँनु पर्छ । ईमानदार मतदाता बनौं, देशको मुहार फेरौ।’

यो लेख नलाइन खबरमा  २०७९ कात्तिक ३० गते १४:४७ मा  को सुध्रने ? नेता कि मतदाता ? शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना