• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

रवी लामीछानेज्यू, त्यो तामझाम यसैका लागि थियो?

गृहमन्त्रीज्यू रवि लामिछाने जि, नमस्कार । गृहमन्त्री हुनुभएकोमा बधाई साथै केही आशा र अपेक्षा सहित यो पत्र लेखेको छु। आशा छ पत्रमा उल्लेख भएका विषय सुधारमा ठोस पहल गर्नुहुनेछ ।

मतगणना हुँदै गर्दा पत्र लेखुँ कि भन्ने लागेथ्यो । चुनावी पुरै नतिजा आएपछि यो अति जरुरी छ भन्ने भो। गृहमन्त्री नै भएपछि त ढिला गर्नुहुन्न भन्ने भो । 


तपाईंलाई पत्र लेख्नुभन्दा अघि नै के सम्वोधन गर्ने भन्ने लाग्यो । कमरेड शब्दमा रमाउने कम्युनिस्टहरू अहिले बातिर लागेका छन् । अर्को कमरेड भन्ने शब्दको ठेक्का लिएको दावी गर्ने पार्टीमा पनि आजकाल कमरेड शब्द धेरै सुनिने गर्दैन । कांग्रेस दाईतिर छ । उसले आफ्नो सिद्धान्त सबै विर्सिसकेको छ। उसले र एमालेले ५५-५६ सालतिर नै सत्ता नै सबैथोक हो । बाँकी भ्रम हो भन्ने चरितार्थ गरेकै थिए । हामी जनताका पक्षमा काम गर्ने हौं भनेर जनयुद्ध नै चलाएको माओवादी सत्तामा जान जेसुकै गर्ने अवस्थामा पुगेको छ। त्यहि भएर यो लेखमा जि भनेर सम्बोधन गरिएको छ । जी शब्दले हामी भगवान सम्बोधन गर्छौं । तपाईंलाई पनि यो सम्बोधन ग्राह्य नै होला । तपाईंलाई ग्राह्य नभएपनि एकखाले मान्छेले तपाँईलाई पनि भगवान भनेर सम्बोधन गरिरहेको सुन्छु। 

नेपालको राजनीतिमा असम्भव भन्ने कुरा हुन्न । यो धेरै अनुमान योग्य पनि छैन । त्यसैमध्यको एउटा घटना भने वर्षदिन नवित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट राम्रो मत प्राप्त गर्‍यो । १ सिट जित्दैन भनेर सोचिरहेका परम्परागत दलका नेतालाई जिल खुवाउँदै प्रत्यक्षमा ७ सिट जित्यो । समानुपातिकमा ११ लाख ३० हजार ३ सय ४४ मत पायो । १३ सिट समानुपातिकमा प्राप्त गरेर २० सांसद प्रतिनिधि सभामा पुर्‍याउन सफल भयो । संसदमा चौथो ठूलो पार्टी भयो । २७ वर्षकै मानिसलाई राजनीतिमा आकर्षण मात्रै गरेन । प्रतिनिधिसभामै पुर्‍यायो । 

राजनीति कतिपय अवस्थामा अनुमान बाहिर हुन्छ । पार्टी दर्ता भएको कम समयमै देशभर गज्जबको उपस्थिति जनाउनु मेरा लागि अनुमान बाहिरको विषय थियो । अझै तपाईं उपप्रधानमन्त्री सहित गृहमन्त्री भएपछि म चकित परेको छु । यसले म जस्तो राजनीतिलाई नजिकैबाट नियाल्ने तर सहभागी हुन अस्वीकार गर्नेलाई लोभ्याएको छ । राजनीतिमा अब यतिवर्ष जेल बसेको, यति वर्ष संगठित सदस्यता भएको, बन्दुक बोकेको, भूमिगत भएको, जनयुद्ध लडेको लगायतका भाष्य नभएपनि चुुनाव जित्न सकिन्छ भन्ने भाष्य स्थापित भएको छ । तर गृहमन्त्री हुनाको नाताले मैले भन्नुपर्ने कुरा अर्कै छ । त्यो हो मेरोमा पनि चुनावले उत्साह ल्याउन पर्छ। आतंक होईन । 


अरूतिर चुनाव उत्साह बोकेर आउँछ । यसले उमंग ल्याउँछ । मतदाता मताधिकार प्रयोग कसरी गर्ने भनेर छलफल गर्छन् । दलका नेता कार्यकर्ता किन हाम्रो दल छान्नु जरूरी छ भनेर मतदाता मनाउन लाग्छन् । मतदाताले निर्भिक र सोचेर बुझेर आफ्नो मत प्रदान गर्छ । जित्ने जिम्मेवारीबोधले गम्भीर बन्छ । हार्ने आफैंमा कतै कमजोरी भएको थियो भन्ठान्छ । अर्को पटक चुनाव उठ्ने भए तयारीमा लाग्छ । नत्र आफ्नो अरू नै जिम्मेवारीमा फर्कन्छ ।

मेरो ठाउँ भने चुनावका बेला अपवाद छ । यहाँ चुनावले आतंक ल्याउँछ । अल्लि अघिसम्म त कुनै पार्टीको कार्यकर्ता हैन मतदाता भए मात्रै कुटाइ खाने अवस्था थियो । अहिले त्यो खालको उपद्रो त देखिन्न । तैपनि अझै पनि अनुपस्थित मानिसले मतदान गर्नु, मृत्युु भएका मानिसहरूले मत खसाल्नु ज्यादै सामान्य कुरा हो । गाउँका शिक्षित भनिएकाहरू नै यसलाई अधिकार भनेर अर्थ लगाउँछन् । केहि ठाउँमा त मतदान स्थल पुग्न पाउँदैनन् मतदाता । यो राज्य संयन्त्रलाई भलिभाँती जानकारी छ । यसमा पनि राज्य केही गर्दैन । किनभने भोट कसले हाल्यो कसरी हाल्यो भन्ने मतलब छैन । उसलाई मतदान अधिकृतले मतपेटिका बुझाईदिए पुग्छ । 

मतदानमा उम्मेदवार मतदाताको मत माग्न भन्दा पनि बलिया पाखुरा हुने सामाजिक कार्यकर्ता जोहो गर्न लाग्छन् । चुनावमा खटिएको कर्मचारीले कतिबेला कुटाइ भेट्छ पत्तो हुन्न । स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गराउन खटिएको सुरक्षाकर्मीले नै कुटाइ खाँदा पनि यो अपराध बन्दैन । उल्टै यस्तो कुरा भन्नेलाई नै आक्रमणको प्रयास हुन्छ । आफ्नो गाउँको ईज्जत गयो भनेर । 

मेरोतिरबाट शहर बसाँइ सरेकाहरुले लोकप्रिय मतले चुनाव जित्छन् । गाउँमै बस्नेहरुले मतदानस्थल हेरेरै चित्त वुझाउनपर्ने अवस्था छ । तपाँइको पार्टीको सभासद सोविता गौतमको परिवारको मतदान गर्ने स्थल दोलखाको कालापानी मावि जफे हो । यो ठाउँ चुनावमा रणमैदान भयो । त्यो पनि लोकतान्त्रिक व्यवस्थाका लागि रगत बगाएका नेताको अगुवाइमा । उनलाई यसो गर्न के ले प्रेरित गर्‍यो ? सोविता गौतम त्यहाँ आफैं भएको भए या मतदान नगरी फर्कन्थिन वा भौतिक आक्रमणमा पर्थिन । उनले आफ्नो ठाउँमा मतदान गर्न पाउँछिन कैले ? यसका लागि चुनावमा हुने फर्जि मतदान रोक्ने कानुन बनाउनुस । यत्ति गर्न सके धेरै ठाउँमा चुनाव स्वच्छ तथा निष्पक्ष हुनेछन् । यसैले तपाँइले कल्पना गरेको समाज वन्न सक्छ । 
 
मेरो जिल्लामा यसपटक मतपेटिकाको विर्को नै फुटाइयो तैपनि पुन निर्वाचनको आदेश भएन । त्यस्तो मतपेटिका पनि मिलाएर ल्याउनु भनेर माथिबाट आदेश भयो । पहिला २४ सय मत खसेको ठाउँमा पुन दोहोर्‍याएर मतदान गर्दा १४-१५ सय मत खसेन । पुन मतदानमा पहिलाको भन्दा धेरै मानिस गाउँ आएका थिए । यस्तो भद्रगोल देख्दा पनि पुन निर्वाचनको आदेश हुन हप्तादिन कुर्नुपर्ने अवस्था राम्रो हो त ? हाम्रोजस्तै अवस्था भएको अर्को जिल्लामा निर्वाचन आयुक्तहरुले मतपेटिका बुझिसकेपछि पुन मतदान गर्न हुँदैन भनेर टिप्पणी लेखे । यो जायज हो ?

मेरो जिल्लामा २०१५ को निर्वाचनदेखि नै भद्रगोल भएको छ। २०१५ मा भएको निर्वाचनमा मतदान स्थल नै हेरफेर गरिएको थियो । २०५१ मा अर्धकट्टीहरू नै मतपेटिका भित्रै भेटिएका थिए । २०६४ मा आफ्नो गाउँमा मन्तव्य राख्न त्यसबेलाको प्रमुख दलका पोलिटब्युरो सदस्यले पाएका थिएनन् । यस्ता भद्रगोलको चाङ लामो छ । यसमा अन्यायमा पर्ने जहिल्यै पुन निर्वाचन गर्न धाईरह्यो । निर्वाचन आयोगले सुनेन । अदालतले कार्यकाल सकिँदा पनि निर्णय दिएन ।

यसमा निर्वाचन आयोगलाई पनि धेरै के भन्नु र । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ ले माथि उल्लेखित कसुर गर्दा केहि कसुरदारलाई केहि नगद जरिवाना गराउने प्रावधान राखेको छ । मतदानमा खटिएको कर्मचारीले मतपेटिका मात्रै सुरक्षित वुझाउने ध्याउन्न राखेको हुँदा यो प्रावधानले काम गर्दैन गरेको छैन । यस्ता कामकारवाहीलाई निरुत्साहित गर्ने हो भने पुन निर्वाचन गराउनुको विकल्प छैन । यसमा हालको कानुन नै बाधक छ । यो कानुन परिवर्तन नगरी हाम्रा दलहरु सच्चिने छैनन् । यो ऐनको दफा १० ले एक अवस्थामा मात्र मतदान रद्ध हुने व्यवस्था गरेको छ । त्यसमा पनि आयोगको आयुक्त, सचिव वा आयोगबाट अधिकार प्रदान गरिएको अन्य कुनै अधिकारीबाट जाँचबुझ गरेर मात्रै । जाँचबुझको प्रतिवेदनबाट निर्वाचनको कुनै काम स्वतन्त्र र निष्पक्ष नभएको कुरामा आयोग विश्वस्त भएमा त्यस्तो कुरा खुलाई त्यस्तो निर्वाचन क्षेत्रको निर्वाचन वा त्यस्तो निर्वाचन क्षेत्रको कुनै वा सबै मतदान केन्द्रको मतदानको काम रद्द गर्न सक्नेछ ।

निर्वाचन कानुनमा भएको यो खुकुलो प्रावधानका कारण हाम्रा दलहरु जे पनि गर्न तयार भएका हुन । औसतमा खसेको मतभन्दा बढि मत खसेको पाइए बढि खसेको मत सुरुमा नै निकाल्ने कानुन बनाउन सकिए दलहरुले यो उपद्रो गर्दैनन् । यसमा मतदान अधिकृत र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले प्रतिवेदन वुझाउने र सो प्रतिवेदन अनुसार काम हुने हो भने दलहरु सुरक्षाकर्मी नै कुटेर फर्जि मत हाल्न अगाडि सर्ने थिएनन् । 

तपाईं आफैं चुनाव लड्दै गर्दा कत्तिको अनुभव गर्नुभयो ? चुनावको वर्तमान कानुनी व्यवस्था र यसमा दलहरूको रवैयाका कारण यो आमजनताबाट टाढा हुँदैछ । दलहरूले उम्मेदवार छान्दा जनतामाझ कति लोकप्रिय छ भन्ने भन्दा पनि कति रकम खर्च गर्न सक्छ भन्ने मान्यता विकास हुँदै गएको छ । नागरिक नेतालाई विश्वास गर्न छाडेको छ । यसैकारण असन बजारमा भन्दा चर्को मोलमोलाइ मतदानका लागि हुने गरेको छ । सकेसम्म उम्मेदवारसँग धेरै पैसा लिन मतदाता अलिकति पनि हिच्काउन छाडेको छ। चुनावमा दलका कार्यकर्ताले सुरक्षाकर्मी र कर्मचारीमाथि हातपात गर्नु गर्वको विषय भएको छ । यो अपराध कि अधिकार छुट्टिन सकेको छैन । 

यो पत्र लोकतन्त्रको लडाँइको सबैभन्दा पुरानो पार्टी कांग्रेसलाई लेख्न सकिन्थ्यो । त्यस पार्टीबाट भर्खरै प्रधानमन्त्री बन्छु भनेर दौडिएका युवा नेतालाई लेख्न पनि मनले मानेन । अहिलेको सत्ताको चावी लिएर बसेका एमाले पार्टी अध्यक्षलाई लेख्न पनि जाँगर चलेन । प्रधानमन्त्री तथा १० वर्ष लामो जनयुद्धको नेतृत्व गर्नेलाई पनि यो पत्र लेखेर के नै होला र भन्ने लाग्यो । यसको सहायक कारणहरु अरु अरु भए पनि मूख्य कारण भने एउटै छ । त्यो हो उनिहरु आफैं वा आफ्नो पार्टीका नेता जित्दा फर्जि मतको अ‌ंक धेरथोर छ । उनिहरुलाई मृत्यु भैसकेका मानिसहरुले यहाँ उपस्थित भएर मतदान गरेका छन् । ७ समुन्द्र पार गरेर खाडीमा पसिना चुहाइरहेका श्रमिक यहाँ आएर फुत्त मतदान गरेर फर्किएका छन् । चुनाव गराउन र त्यसको सुरक्षा गर्न खटिएका कर्मचारीहरुले पनि चुनावमा मत हालेका छन् । यसरी भएकाभन्दा नभएका धेरैको मत पाएकाहरुले त्यो मत गलत भन्ने नैतिकता देखाउन नसक्लान भन्ने मेरो विश्वास हो । मेरो विश्वासमा यो पटक तपाँइ नेतृत्वको स्वतन्त्र पार्टीले भने त्यस्तो मत पक्कै पाएन । यसो हुनाले यो फर्जी मतदान गलत हो भन्न सक्ने एकमात्र सहि व्यक्ति तपाँइ हो भन्ने लागेको छ । यसलाई गलत भन्ने व्यक्तीमा अझै चेत पलाएको छैन । यो अझै अधिकार मेरो ठाउँमा मात्रै हैन । देशका धेरै ठाउँमा यो अवस्था छ । यसलाई बदल्ने कसले ? कहिले बदल्ने ? यस्तै अपराध काँधमा राखेर हिडेको यो देशको लोकतन्त्र कतिञ्जेल टिक्छ ? 

नेपालको विभिन्न समयमा भएका परिवर्तनहरु पाका मानिसबाट सुनेको र पढेको अनि माओवादी आन्दोलन धेरथोर भोगेको हुँदा अहिले म शासनव्यवस्थाभन्दा नेतृत्वको नियत सफा भए अरु सबै ठीक हुन्छ भन्नेमा विश्वास गर्छु । यसमा पनि हामीले सबैभन्दा पहिला हाम्रो चुनावमा भएका केहि कुरा नसुधार्ने हो भने हाम्रो चुनावमा कोही गह्रौं खल्ती नभएको मानिस नजिक नै नपर्ने देखिन लाग्यो । जनतामा मन जितेर भन्दा पनि वाहुवली व्यवस्था गरेर चुनाव जित्नपर्ने अवस्थामा हाम्रो भविष्य के होला ?  हामीले खोजेको अवस्था यहि हो ? तपाँइको दलले यो काममा अग्रसरता लिनुपर्ने हैन र ?

हाम्रो चुनाव ज्यादै महंगो बन्नुको कारण भनेको मतदातालाई मतदान गर्न नाम जहाँ छ त्यहिँ पुग्नुपर्छ । यसले गर्दा उम्मेदवार र दलहरुलाई गाडी तथा प्लेनमा मानिस नओसारी भएको छैन । स्थानीय चुनावमा एकजना वडाध्यक्षले भारतका विभिन्न शहरहरुमा समेत गाडी पठाएर मतदाता ओसार्नपरेको थियो । यसलाई रोक्ने हो भने चुनावको खर्च पनि कम हुन्छ । रोक्नका लागि त्यत्रो ठूलो काम पनि गर्न पर्दैन म जहाँ चाहन्छु त्यहीँ मत हाल्न दिए पुग्छ । विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्न दिने कुरामा हामी वहस गर्न थालेका छौं । त्यहाँ पुग्न सकिन्छ । पुग्नैपर्छ । यसैगरी अव गाडीका गाडी मान्छे ओसार्ने भन्दा पनि उसको मतदानको अधिकार रक्षाा गर्ने हो । जहाँ मत हाल्न उसलाई अनुकुल पर्छ त्यहीं मत हाल्न दिने हो । निर्वाचन आयोगसँग मेरो विवरणमात्रै हैन मेरो औंठाछाप पनि छ । यो गर्न नसकिने भनेको त नियतमा समस्या भएर मात्रै न हो ।

अन्तिममा तपाँइको पार्टीबाट काठमाण्डौबाट सभासद चुनिएकी सोविता गौतम राजनीतिमा युवाले ठाउँ पाउँछ भन्ने उदाहरण हुन । उनको विजयले उनीजस्तै युवाहरु राजनीतिमा आकर्षित भएका छन् । उनिहरुलाई एजेण्डामा प्रष्ट हुन सके चुनाव जितिने रैछ भन्ने विश्वास पलाएको छ । तर आफ्नै घरछेउको मतदान केन्द्रमा भने सोविताजस्तै अन्य धेरैले अझै मतदान गर्नै पाउँदैनन् । यस्तो अवस्था हटाउन बरु गौतमलाई नै कानुन परिवर्तन गर्ने जिम्मेवारी दिनुस । उनको यो आफ्नो कामको क्षेत्र पनि हो । 

कम्तीमा पनि चुनावमा हुने फर्जी मतदानलाई अपराध मानिने भयो भने त्यसले हाम्रो चुनावलाई निष्पक्ष बनाउन सक्छ । दलका नेता कार्यकर्ताले चुनावमा अराजक गतिविधि गरेको पाइए पुन चुनाव हुने व्यवस्था गरौं । नागरिकलाई उसले चाहेको ठाउँमा मतदान गर्न दिऔं । यसो गर्न सके हामीले पनि चुनाव लड्ने रहर पाल्न सक्थ्यौं । यसो गर्न सकिएला त गृहमन्त्री ज्यू । 

यो लेख नलाइन खबरमा  २०७९ पुष १८ गते १३:२० मा  गृहमन्त्रीज्यू, सोविताका सँगीहरू कहिले सिहदरबार प्रवेश गर्लान् ? शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना