• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

च्छोरोल्पा यात्रा-१ः यात्रा च्छोरोल्पाको, चिन्ता विकासको

यात्रा सुरूवात गर्ने दिन प्रजातन्त्र दिवस परेको थियो । प्रजातन्त्र सुरू हुँदादेखिकै विकासे बहस अझै जारी छ। प्रजातन्त्र विकास भएर लोकतन्त्र भइसक्यो। हाम्रो गाउँठाउँमा भने अझै विकासकै कुराकानी हुन्छन्। नयाँ संविधान जारी भएपछि विकासे बहस अलिक कम भएजस्तो देखिएको छ। च्छोरोल्पा तिर पनि तीन दशकदेखि विकास भइरहेको छ, हेलिकप्टरबाट सामग्री ओसारेर ।

प्रजातन्त्र दिवसको दिन काठमाण्डौ थिएँ । चरिकोट आउँदा ११ बजेको थियो। खाना खाएर बजार निस्कँदा साँढे १२ बज्यो । यो वर्ष फागुनको पहिलो हप्तासम्म पानी परेको थिएन। तर मौसम भने पानी परेपछिको जस्तै सफा थियो। यो बेलामा च्छोरोल्पा जाँदा गज्जबै होला भन्ने लाग्यो। 

भर्खरै पुगेर आएका साथीहरूसँग खर्च र अन्य विषयमा बुझ्न फोन गरें। पुष्कर महत, जीवन लामा र देवराम बुढाथोकीसँग कुरा गर्दा उनीहरूले १०-१२ हजार रकम खर्च हुन सक्ने जानकारी दिए । देवरामले अहिले अफ सिजन भएकोले जान उपयुक्त नहुने सुझाए । खल्तीमा ५ सय जति थियो होला, १० हजार जति खर्च जोहो गरेँ । 

कोठाबाट केही लुगा र सामग्री लिनका लागि आउँदा पदम पाठकसँग भेट भो। उनले जगतगुरुसँग भेटाउने कुरा गरे। मैले उनलाई च्छोरोल्पा जान लागेको बताएँ। उनले मलाई नहुने कुरा नगर्नु भनेर गाली गरे। 

कोठामा पुगेर पानीको बोत्तल र एक जोर लुगा लिएर म बस चढें। बस झ्याकुतिर जाने रहेछ । सिंगटीमा झरेपछि मैले त्यहाँका साथीहरूसँग सम्पर्क गरें। प्रकाश बिरामी परेर घरमा रहेछन्। नवराज पाठक चरिकोटमा। अर्जुन खड्काको फोन उठेन। 

बोलेरोहरू सामान लिएर गाउँतिर जाँदै थिए। एउटा बोलेरो खारेसम्म जाने थियो। मैले त्यसमा जाँदा लामावगर पुगिन्न भन्ने सोचें। बोलेरो अगाडि गइसकेपछि लाग्यो, त्यसमा जाँदा पनि धेरै पर त पुगिन्थ्यो। म हिंड्दै अगाडितर्फ लागें। सिंगटी बजारबाट अगाडि सामुदायिक वनमा आगो लागिरहेको थियो। मैले त्यसक‍ो फोटो खिचें। अझ अगाडि बढ्दा बस्नेत एकेडेमीको बस आयो। त्यो भोर्लेतिर लाग्यो। म भने भोर्लेमा बन्दै गरेको जलविद्युत आयोजना हेर्दै अगाडि लागें।
 
माथिल्लो तामाकोसी जलविद्युत परियोजनाका लागि नदीको किनारैकिनार भिर काटेर बाटो बनाइएको थियो। त्यसकै छेउमा बिग्रिएको डोजर थियो। त्यो डोजर आगजनी गरिएको भन्ने मैले कतै सुनेको थिएँ। मैले त्यसको पनि फोटो खिचें।
 
वर्षायाममा भोर्लेको झरना यस क्षेत्रकै आकर्षणको केन्द्र हो। यसको तस्विर लिन आउनेहरूको ताँती लाग्छ। अहिले भने यो थोपा थोपा पानी चुहिने अवस्थामा थियो। यो ठाउँ पार गरेपछि म तामाकोसी पाँचौं आयोजनाको पावर हाउस रहने स्थानमा पुगें। त्यसको ठीक पारीपट्टी सुरिदोभानमा अर्को जलविद्युत आयोजना सञ्चालनमा रहेको थियो। 

जामुने पुल पुग्नै लाग्दा एक्लै घर थियो। घरकी महिला चकलेटको बट्टामा गुन्द्रुक खाँद्दै थिइन। एउटी छोरी केही पकाउँदै थिइन। अर्की पढ्दै थिइन्। मैले सोधेर थाहा पाएँ कि गुन्द्रुक रायोको बनाउन लागिएको रहेछ ।

जामुने पुलको मुखैमा रहेका पसलहरू खुल्लै थिए। पुल कट्नै लाग्दा पल्लो भित्तामा केही मानिसहरू देखिए। सुँगुरलाइ भाँडामा केही खान दिएर एकजना युवक एक हातले गर्धन सुम्सुम्याउँदै थियो। उसको अर्को हातमा खुकुरी थियो। एकजना महिला भन्दै थिइन त्यत्ति मोटो गर्धन यो खुकुरीले छिन्दैन है।

त्यहाँ नजिकै पुरानो पुल थियो। रामेछापको फलाम प्रयोग गरेर बनाइएको। त्यसको फोटो खिचेर अगाडि जाने सोच्दै थिएँ। बोलेरो आयो। मैले हात दिँए। बोलेरो जगतसम्म जान लागेको रहेछ। भित्रपट्टी ठाउँ थिएन। म बाहिर बसें। बोलेरो आफ्नै गतिमा दौडियो। पुलको फोटो खिच्न भ्याइएन। 

मन्थलीमा दाना झार्न बोलेरो रोकियो। मैले पनि दाना झार्न सहयोग गरें। महिला भएपनि पुरुषको जस्तै अनुहारभरी रौं थियो। भर्खरै झारेको दाना उनकै रहेछ। उनले गाउँमै कुखुरापालन गरेकी रहिछन्। उनका बारेमा धेरै अघि समाचार आएको थियो। 

गोगर बजारमा निस्कँदा रात परिसकेको थियो। एकछिन म स्थानीयहरूसँग गफिएँ। सिंगटीमा रहेको गौरिशंकर विद्यालयको बस मेरो नजिकमै थियो। यहाँबाट ९-१० जना विद्यार्थी त्यो विद्यालयमा पढ्न जाने रहेछन्। मसँग कुरा गर्ने वालिकाले चाँही आफु स्यालुमा रहेको विद्यालयमा पढ्ने वताइन्। 

मैले त्यहाँ देउलाङ मन्दिर कति टाढा पर्छ भनेर कुरा गरें। उनिहरूले एक घण्टामा हिडेर पुगिने बताए। नजिकै होला भन्ने अनुमान थियो। टाढै रहेछ। विहानै पुगेर फर्कनुपर्ला भन्ने लाग्यो। 

दोश्रो दिन (२०७९ फागुन ८)
देउलाङ मन्दिरका बारेमा चिरञ्जीवी मास्केले धेरैपटक लेखेका छन्। विहानै म मन्दिरतिर उकालो लागें। स्यालुको विद्यालयनिर पुगेपछि उताबाट आउँदै गरेका मानिसहरूलाई मैले मन्दिर जाने बाटोका बारेमा सोधें। उनिहरूले गइरहेको बाटो सहि भएको बताए। बाटो सिमेन्ट ढलान गरेर बनाइएको थियो। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाईनले बाटो पछ्याएको थियो वा वाटो पछ्याउँदै प्रसारण लाइन गएको थियो यसै भन्ने अवस्था थिएन। दुवै सँगसँगै थिए। गाउँ धेरै नै भिरालो थियो। 

३० डिग्रिभन्दा भिरालो जमिन बसोबासका लागि योग्य मानिन्न भन्ने सुनेको थिएँ। मेरो अनुमानमा यो ठाउँ ४५ डिग्रिभन्दा बढि नै भिरालो थियो। मान्छेहरू वर्षौंदेखि वस्दै आइरहेका थिए। भिरालो जमिनमा पर्खाल लगाएर खेतिपाती गर्दै आइरहेका छन्। यहाँ भर्खरै पनि वारी बनाउन ढुङ्गाका पर्खालहरू लगाएको देखियो। मैले केही तस्विर पनि लिएँ। अनि समाजशास्त्री चैतन्य मिश्रले भर्खरै भनेको कुरा सम्झिएँ। त्यो सामग्रीमा उनले भाग्यवादका बारेमा नयाँ तर्क अघि सारेका छन्। ..नेपालमा गएको २–४ सय वर्षमा कस्ता मान्छे रहे भने पहाड फोरेर घर र खेतबारी बनाए, पूर्वदेखि पश्चिमसम्म। कल्पना गर्नुस्, यति धेरै कान्लाबारी संसारभरि नै छैन। पेरुमा पनि यो भन्दा कम छ । सबैले पहाडमा अलिअलि कान्लो त बनाउँछन् तर नेपालमा जति कान्लो कहिँ छैन। यसरी पहाड फोरेर बस्ती र खेतबारी बनाउने मान्छे कसरी भाग्यवादी हुनसक्छ?..

गाउँ कटेपछि जंगल छिरियो। केही महिलाहरूसँग भेट भयो। मैले मन्दिर जाने बाटो यहि हो भनेर सोधें। उनिहरूले हामी त विहेमा जान लागेको भनेर जवाफ दिए। मैले फेरी दोहोर्‍याएर सोधें। उनिहरूले दोहोर्‍याएर उहि जवाफ दिए। त्यसपछि मैले थप सोधिन। नजिकैबाट उनिहरू जाँदा रक्सिको गन्ध मेरो नाकमा ठोकियो। 

उनिहरू छुटेपछि बालबालिका भेटिए। उनिहरू गोगरतिर जान लागेका थिए। उनिहरूले गएको बाटो सहि भएको बताए। म एक्लै अगाडि बढें। 

जंगलमा भिर भएका ठाउँमा छेउमा बार समेत वनाइएको रहेछ। पारी गाउँ पुग्नै लाग्दा एकजना वृद्धा र युवती भेटिए। नातिनी बजै हुँदा हुन। नातिनी मोबाइलबाट गित सुन्दै थिइन। मैले उनीहरूलाई मन्दिर कति टाढा होला भनेर सोधें। बजैले अव एक विसौनीमा मन्दिर पुगिने बताइन। 

भीरालो जमिनमा साँघुरा बारीका पाटा भेटिए। सिमेन्ट प्रयोग भएको बाटो सकियो। गाउँ सुरु भयो। कुनै कुनै बारीका पाटामा गाइबाख्रा बाँधिएका थिए। अलिक मास्तिर मकै छर्न लागेका मानिसहरू भेटिए। अन्दाजी २-३ वर्षजतिकी सानी नानी आमाहरूसँग बारी खन्न सिक्दै थिइन्। यो वर्ष हिउँदमा अहिलेसम्म पानी परेको थिएन। सबैतिर सुख्खा थियो। मैले मन्दिर कति टाढा होला भनेर सोधें। उनिहरूले माथितिर देखाएर उ त्यहीँ हो आईपुग्यो भन्ने जवाफ दिए। मैले मकै उम्रेला र ? भनेर उनीहरूसँग सोधें। उनिहरूले कुनै जवाफ दिएनन् वा टाढा भएका कारण मैले सुनिन। आफ्नो दैनिकी उनिहरूले छाडेका थिएनन्। 

अलिक मास्तिर एकजना युवा भेटिए। मैले मन्दिरका बारेमा कुरा गरें। मन्दिर आसपासमा तामाङ समुदायको वस्ति रैछ। योञ्जन थरका तामाङचाँहि मन्दिरका पुजारी रहेछन्। 

मन्दिरको अलिक तलतिर सडक पुगेको रहेछ। मन्दिर वरपर चिलाउने, बाँझ र खस्रुका ठूला रुख थिए। मन्दिरको छेउमै पानीको धारामा पानी निरन्तर आइरहेको थियो। मन्दिर पुरातत्व विभागबाट निर्माण गरिएको मैले अनुमान गरें किनभने त्यहाँ सुकीको प्रयोग गरिएको थियो। 

मन्दिरबाट गौरीशंकर हिमाल मधुरो मधुरो देखिएको थियो। तुँवालो लागेका कारण। मन्दिरमा दर्शन गरेपछि मैले मन्दिरका केही तस्विरहरू लिए। मन्दिरको कथा स्वस्थानीसँग जोडिन्छ। महादेवले सतिदेवीलाई हिमालय पर्वतका घरबाट ल्याएपछि राखेको खरको टहरा नै मन्दिर हो भन्ने किम्वदन्ती रहेको छ। 

फर्केर गोगर आउँदा ९ बजिसकेको थियो। माथिल्लो तामाकोसीको भुमिगत जलविद्युत उत्पादन गृह हेर्न चाहेको मैले अघिल्लो दिन नै पदमलाई सुनाएको थिएँ। पदमका अन्य साथीहरू पनि आएका हुँदा हामी सँगै विद्युतगृह गयौं। 

गोगरमा रहेको सुरुङको मुखबाट १ किलोमिटर भित्र छिरेपछि अर्कै साम्राज्य थियो। त्यहाँ भित्र ४ वटा तल्ला भएको संरचना निर्माण गरिएको रहेछ। पदमका साथीहरू पनि सिभिल इञ्जिनियरहरू नै भएका कारण उनिहरूको कुराकानी धेरै प्राविधिक थियो।

माथिल्लो तामाकोसी आयोजनाले नेपालमै विकासका क्षेत्रमा नयाँ मानकहरू स्थापना गरेको छ। स्वदेशमा नै ठूलो पुँजीका आयोजना निर्माण सम्भव छ भन्ने विश्वास दिलाएको छ। यो आयोजना यसरी नेपाली पुँजी परिचालन गरेर नेपालीकै नेतृत्वमा बन्दै बन्दैन भनेर अगाडि डाक्टरको फुर्को गाँसेकाहरूले सार्वजनिक रूपमै ग्यारेन्टी गरेका थिए। ती विदेशी थिएनन्। नेपाली नै थिए, सबैले पत्याएका अर्थशास्त्रीहरू! 

अनेकन अविश्वास छिचोल्दै तामाकोसी निर्माण सम्पन्न भयो। अहिले विद्युतको माग उच्च भएका बेला विहान र साँझमा ४ घण्टासम्म जडित क्षमता ४ सय ५६ मेगावाट विजुली यहाँबाट उत्पादन हुन्छ। यो क्षेत्रमा अरू योजनाहरू पनि धमाधम बन्दै छन्। 

अहिले यो क्षेत्रमा तामाकोसी बाहेक नै करिब १ सय मेगावाट क्षमताका विद्युत आयोजनाहरू सञ्चालनमा छन् । ४ सय मेगावाट क्षमताका विद्युत आयोजनाहरूमा काम सुरूवात भएको छ । यी योजना बन्न बाटो खोलिदिएको यहि तामाकोसी आयोजनाले हो। नत्र यो ठाउँमा बाँदर लड्ने भिर छिचोलेर अहिल्यै बाटो के पुग्थ्यो होला र! कस्का लागि यो भिर काटिन्थ्यो होला र ? देशका लागि सोच्ने नेतृत्व भए तिब्बत जोड्ने यो बाटो बनाउन तामाकोसी किन पर्खनुपर्थ्यो र! अझै पनि विभिन्न बहानामा चिन जोड्ने बाटो बन्ने काम रोकिएकै छ। दोष पाउने त विभिन्न पक्ष छँदैछन् ।

मलाई छ्योतछ्योत जानु थियो। आयोजनाकै गाडी लामावगर जाने रहेछ। म त्यसैमा जान लागें। 

छ्योतछ्योतको झरनाअघि म झर्नका लागि गाडी रोकियो। मलाई सिमीगाउँ जानु थियो। त्यहीबाट त्यो बाटो सुरु हुन्थ्यो। म झरेको ठाउँभन्दा अलि अगाडि सिमिगाउँ पुग्न कति समय लाग्छ भन्ने जानकारी भएको बोर्ड थियो। त्यसमा सिमिगाउँ पुग्न साँढे २ घण्टा समय लाग्ने कुरा उल्लेख थियो। त्यो म भएको ठाउँभन्दा ६ सय मिटर अग्लो ठाउँमा पर्थ्यो। म उभिएको ठाउँ समुद्री सतहबाट १ हजार ३ सय ९८ मिटर उचाइमा थियो। म पुग्नुपर्ने सिमिगाउँ २ हजार मिटरको उचाइमा पर्थ्यो। त्यहाँ पुग्नका लागि २.४ किलोमिटर खुट्टाले नाप्नुपर्ने थियो। 

ढुङ्गाको सोलिङ गरिएको बाटोमा अलिक अगाडि लाग्नेवित्तिकै रिगु र सिमिगाउँ जाने बाटो छोटियो। तामाकोसी नदीको किनारै किनारतिरको बाटो रिगु पुग्थ्यो। झोलुंगे पुल तरेपछि सिमिगाउँ पुगिन्थ्यो। 

झोलुंगे पुल तरेपछि उकालो सुरु हुनै लाग्दा बाटोको छेउमा पहरामा वौद्ध देवताको तस्विर कोरिएको थियो। बाटो असाध्यै उकालो थियो। भिरको बाटोमा छेउमा फलामे बार थियो। बाटोमा सिमेन्ट प्रयोग गरेर सिँढी निर्माण गरिएको थियो। 

पहिला छेउमा बार नहुँदा र व्यवस्थित सिँढी नहुँदा यो बाटो कस्तो थियो होला। कसरी स्थानीयहरूले दैनिक आउजाउ गर्थे होलान ? उभो हेर्दा टोपी खस्ने भिर। तल सुसाईरहेको तामाकोशी। पारिपट्टी कतै कतै १-२ घर। 

मैले हिड्न सुरु गरेको ठाउँ सिधै तल देखियो। बाटोमा धारा भेटियो। चौतारो पनि सँगै थियो। धारा बनाउनेको नाम पनि उल्लेख थियो। नामचाँहि सम्झन सकिन। 

सिमिगाउँ: पराईको पाखुरामा विकास!
अलिक माथि पुगेपछि एकजना अधबैंशे मानिस झर्दै गरेको भेटे। उनलाई सिमिगाउँ कति टाढा पर्ला भनें। उनले आधा घण्टा लाग्ने जवाफ फर्काए। त्यसपछि एकजना युवती भेटाएँ। उनी मोबाइलमा गित सुन्दै ओरालो झरिरहेकी थिइन। उनले २० मिनेटमा पुगिने बताईन। 

अलिक माथितिर चौतारीमा भारी विसाएर २ जना सुस्ताइरहेका थिए। उनिहरूका भारिमा कोक ड्यु लगायतका पेय पदार्थ र चाउचाउ विस्कुट लगायतका खानेकुरा थिए। मैले उनिहरूलाई यो सामान सिमिगाउँ पुर्‍याउँदा १ केजीको कति रूपैंया लिन्छ भनेर सोधें। उनले सत्तरी रूपैंया भन्ने जवाफ दिए। मैले मोबाईलमा त्यसको हिसाब गर्दा ठूलै अंक देखिएको थियो। 

उनिहरूलाई छाडेर अगाडि बढ्दा केही मानिस आलु बोकेर ओरालो लाग्दै थिए। आलु उनिहरूले अन्नसँग साटेका हुँदा हुन। त्यही भएर आलु कसरी दिँदो रैछन् भन्दा उनिहरूले फरक फरक उत्तर दिएका थिए। कसैले पाथीको २ सय भने, कसैले २ सय ५०। 

धेरै अगाडि मेरो गाउँबाट पनि सिमिगाउँमा मानिसहरू आलु लिन आउँथे। पैसाभन्दा अन्न बोकेर आउँथे। एकपाथी चामलमा ४ पाथी आलु पाईन्थ्यो। अन्य अन्नमा अलिक कम। चामलको महत्त्व कहिले घटेको छ र! न उबेला, न योबेला! 

घरबाट हिडेको ४ दिनमा गाउँलेहरू गाउँ पुग्थे। यहाँको आलुको विउले धेरै उत्पादन दिन्थ्यो। मलाई पनि यो काम गर्ने रहर त जागेथ्यो त्यस बखत। तर घरबाट कहिल्यै अनुमति नै मिलेन। 

म गाउँमा छिरेको थिए। अलिक मास्तिर एक घरको आँगनमा त्रिपालमाथि कोदो कुट्दै लागेका रह्छन्। ३-४ वटा ग्याल्वि भित्तामा ठड्याइएका थिए। घर ढुंगामात्रैको पर्खालले घेरिएको थियो। 

माथितिर केही मानिसहरू जम्मा भएको तलैबाट देखेको थिएँ। त्यहाँ पुरानो चैत्य मर्मत हुँदै रहेछ। ३ लाख बजेटको काम भैरहेको उनिहरूले बताए। `सिमेन्ट किन्न ८ सय पर्छ सर यहाँ बोकेर ल्याउँदा ९ सय।´ उनिहरूमध्ये कसैले कुराकानीमा सुनायो। त्यसैकारण होला उनिहरू चैत्य छेउमै चौतारोचाँही ढुंगामात्रै प्रयोग गरेर बनाइरहेका थिए।

अलिक माथितिर एउटा होटलको बोर्ड देखियो। बोर्डका छेउमा परम्परागत मौरीका घार थिए। मैले तिनको फोटो खिचें। होटलको छेउमा चुनावमा प्रयोग गरेका झण्डाहरू अझै थिए। शहरमा त आयोगले निर्वाचनको बेला प्रयोग भएका सामग्री हटाउ भनेर पत्र काटेर बस्छ। यो त गाउँ, सडक छाडेपछि कम्तिमा २ घण्टा पैदल दूरीको। 

लामो लामो काठ बोकेर आउँदै गरेका मानिस भेटें। यो अलिक अप्ठ्यारो थियो। उनलाई मैले काठका बारेमा सोधें। काठ गुम्बा पुनरनिर्माणका लागि ल्याइएको रहेछ। त्यो काठ गुम्बासम्म पुर्‍याउँदा उनले ५ हजारजति पाउने रहेछन्। त्यो सालको काठ थियो। 

अलिक मास्तिर अर्को काठ बोक्ने मानिससँग कुरा गरेपछि त्यो टिम स्थानीय हैन भन्ने पत्ता पाएँ। त्यो ठेकेदारले काम गर्न ल्याएका खोटाङतिरको समुह रहेछ।

तलदेखि मैले यो गाउँमा ५० जति घर देखेको थिएँ। बाटामा हिड्दा नदेखिने अरू पनि होलान। यो गाउँका मानिस काम खोज्न पक्कै अर्को ठाउँमा पुगेका होलान्। यहाँ काम गर्न अन्यत्रबाट मानिस आएजस्तै।

समयमा पानी नपरेका कारण सबैतिर सुख्खा थियो। तैपनी गाउँ हरियाली देखिन्थ्यो। मानिसहरूले बारीमा गहुँ जौ लगाएका थिए। सिञ्चाइको प्रवन्ध नभएका कारण त्यो भनेजस्तो फलेको थिएन। 

एकजना स्थानीयसँग निगालोको भकारी बुनेर चौपायाहरू बाँधेका थिए। मैले उनिसँग नेपालीमा कुरा गर्दा उनले धेरै राम्रोसँग उत्तर दिएनन्। उनिसँग तामाङ भाषामै कुरा गरेपछि उनीसँग केही समय कुरा भयो।

सिमिगाउँ लेखेको बोर्ड भेट्दा १२ बजेर ३९ मिनेट भएको थियो। काठको फल्याकले छाएको घर देखें। एउटा तस्विर खिचें। त्यो परम्परागत रूपमा घर छाउने हाम्रो समुदायको मौलिक परम्परा थियो। 

म सिमिगाउँको सिरानमा पुग्दा त्यहाँ केही काम भैरहेको थियो। लामाहरू त्यहाँ भएको मलाई गाउँलेले सुनाएका थिए। सायद वौद्ध धर्मको कुनै कार्यक्रम थियो होला। 

गाउँको टुप्पामा पुग्दा एकजना युवा होटलमा छारो मार्नका लागि पानी हाल्दै थिए। त्यो पानी खान मिल्ने हो कि होइन भनेर मैले सोधें। उनले खान मिल्ने हो भने। त्यो होटलका उनि मालिक रहेछन्। 

अब तेर्सो बाटो सुरू भो। ढुंगा बोक्ने मानिसहरू बाटोमा भेटिए। स्वास्थ्य संस्थाको नयाँ भवन भर्खरै बनेको जस्तो देखिन्थ्यो। त्यहाँ ढुंगा बोक्ने मानिसहरूलाई मैले च्छोरोल्पा जाने बाटो सोधे। उनिहरूमध्ये एक युवाले मलाई `त्यही बाटो जान्छन्। मचाँही यहाँबाट अगाडि गएको छैन।´ भन्ने जवाफ दिए। मैले उनको घर सोधें। उनी साविक चंखु गाविसका रहेछन्। उनीचाँहि अघि भेटिएका जस्तै अर्को जिल्ला नभई पालिकाकै अर्को वडाका रहेछन्।

यो लेख नलाइन खबरमा  २०८० वैशाख २ गते १४:१० मा  यात्रा च्छोरोल्पाको, चिन्ता विकासको शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना