• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

च्छोरोल्पा यात्रा-२ः विकास कुरिरहेको डाँडापाखा डुल्दा …

सहाराः मक्किएको लौरो!
म अलिक अगाडि बढें। चुत्रो फुल्न फुल्न लागेको थियो। त्यसको बासना मिठो आइरहेको थियो। अलिक अगाडि बढेपछि भिरमा उकालो सुरु भयो। त्यसमा उकालो चढ्न लाग्दा मेरा गोडा बाँउडिए। म विलखबन्धमा परें। अगाडि जान शरिरले देला जस्तो छैन। कम्तीमा ३ दिन त हिड्नु नै छ। मुख्य कुरा गोडा। त्यही नचले के गर्ने, कसो गर्ने? 


एउटा मक्कीएको लौरो भेटें। त्यो टेक्न खासै काम लाग्ने त थिएन। तैपनि टुप्पोसम्म पुग्न मलाई अरु सहारा पनि त थिएन नि। टुप्पोमा वौद्ध माने थियो। त्यो मानेसम्म त पुग्नै त पर्‍यो नि। पारीपट्टी तिनै ढुंगा वोक्ने मानिसहरू मैले देखिरहेको थिएँ। 

टुप्पामा पुगेर मैले चाउचाउ खाएँ। चाउचाउ सँगै मैले नजिकैको धारमा पानी खाएँ। २ प्याकेट चाउचाउ मैले सिमिगाउँमा किनेको थिएँ। धारामा नियमित रूपमा पानी आइरहेको थियो। मैले आफ्नै खुट्टा मसाज गरें। अलिकति ठीक भए जस्तो भो। मैले अर्को एउटा गुराँसको लौरो बनाएँ। त्यो सुरुमा भेटिएको भन्दा राम्रो त थियो । तर यात्राका लागि काम दिने खालको चैं थिएन। त्यसपछि जंगलको बाटो सुरु भो। म जंगलमा तेर्सिएँ। जंगलमा मैले एउटा हाँगा देखें। त्यसलाई लौरो बनाउन आफ्नो साईजमा भाँचें। अब मसँग बलियो खालको लौरो भयो।

श्रीमतीजीको फोन आयो। उनले `के रुखको मात्रै फोटो राखेको। मान्छेको राख्नु नि !´ भनेर गुनासो गरेकी थिइन। ओरालो सकिएपछि रिगुतिर जाने पुलनिर पुगेपछि म एकछिन अलमलिएँ। बाटो कुनचाँहि सहि हो भनेर। त्यो ठाउँमा कुनै संकेत थिएन। त्यहाँबाट हेर्दा नदी पारी जाने बाटो त्यत्ति राम्रो थिएन। वारीको बाटो भने राम्रो थियो। च्छो रोल्पा पुगुन्जेलको बाटो ठूलै लगानीमा बनाइएको थियो। यसका कारण पनि नदीवारीकै बाटो सहि बाटो हो भन्ने मैले अनुमान गरें। 

अलिकति माथितिर चौतारीमा पुगेर बसें। एउटा सेल्फि खिचें। मोबाइलमा डाटा राम्रै चलिरहेको थियो। मैले त्यो फोटो खिचेर फेसबुकमा राखें। 

अलिक अगाडि एउटा घट्ट बनाइएको थियो। त्यसको पानी पाइपबाट ल्याइएको देखें। त्यसपछि म अगाडि बढें। सिस्नो देखेपछि मैले मानिस बसेको अनुमान गरें। एउटा गोठ रैछ। कुकुर बेस्करी भुक्यो। नजिकै पाइपमा पानी रैछ। त्यो पानी पिएँ। गोठमा कोही छन् कि भनेर मैले बोलाएँ। त्यसमा कोही बोलेन। अलिक माथितिर एकजना मानिस देखिए। उनि बोलेनन्। बोल्दैनन् भन्ने लाग्यो। उनलाई गोठमा दूध पाइन्छ कि भनेर सोधें। उनले संकेतमै छैन भन्ने बताए। नजिक उनलाई देखेपछि मैले स्वस्थानीको शिवशर्मा सम्झिएँ। उनले केहि दिएकै भएपनि म खान सक्थें वा सक्दिनथें। 

माथि हिँडेको हो भनेर उनले सोधेको जस्तो लाग्यो। उनलाई मैले हो भन्ने उत्तर दिएँ। अलिक माथि पुगेपछि खोला तरेर निगालो भएको जंगलमा पुगियो। उकालो चढ्दै गर्दा मनमा कुरा खेलिरह्यो। जंगलका बीचमा एक्लै हुँदा पनि मान्छे जीवीका गरेकै छ ! अगाडि बढ्दा निगालोहरू सुक्नै लागेका थिए। पारिपट्टी रिगु गाउँ हरियाली थियो। 

उत्तिसे पुग्दा २ वज्नै लागेको थियो। त्यहाँ एउटा कटेरा थियो। कटेरामा ताला लागेको थियो। यो पर्यटन आउने सिजन थिएन। यसै जंगलमा को बसोस, किन बसोस् ?

म जाने बाटैबाटो विजुलीको पोल थियो। पोलमा प्लाष्टिक कोटेड तार थियो। तारहरू राम्रोसँग टाँगिएको थिएन। जंगलमा रुखहरू तारले छोएको थियो। प्लाष्टिक कोटेड तार भएका कारण त्यस्तो भएको हुन सक्छ। 

सुर्मुचे: फर्कँदै राम्रो हुन्छ!
सुर्मुचे पुगेको बोर्ड देखियो। यो २ हजार ४ सय ७० मिटरको उचाइमा थियो। घडिमा सवा तीन बजेको थियो। घना जंगलमा म एक्लै थिएँ। कतैकतै चराहरू कराएथे। खस्याकखुसुक सुनिँदा बाँदरहरू उफ्रिरहेको देखिन्थ्यो।

सुर्मुचेमा रहेको आचार्य सरको होटलमा पुगियो। होटलकै माथितिर केही मानिस दाउरा चिर्दै गरेको मैले सुनें। मैले होटलमा केही छ कि भनेर बोलाएँ। होटलमा ताला लागेको थिएन। मानिसहरू धेरै टाढा गएका छैनन् भन्ने अर्थ लागेको थियो। 

मैले वोलाएपछि घरको माथिल्लो ठाउँमा एकजना महिला देखा परिन। उनले म आउँदैछु भनेर संकेत गरिन। मैले चिया खान पाइएला भनें। उनले दुधको कि कालो भनेर सोधिन। मैले दुध पाइन्छ र भनें। उनले पाइन्छ भनेपछि मैले कालो चिया र दुध छुट्टाछ्ट्टै मागें। उनले बनाएर ल्याइन। मैले त्यो समयसम्म ‘म मकरध्वज’का केही पानाहरू सकाँए। उनले भेडीगोठमा दुख पाएको कुरा लेखेका थिए। आफ्नै रहरले त्यो भएको थियो। लाग्यो रहर गरेरै दुख पाउने स्वभाव त एकै पाराको रहेछ।

त्यहि बेलामा दाउरा काट्दै गरेको टोली फर्कियो। मैले पैसा तिर्ने बेलामा हिउँ पर्ला कि भनेर सोध्दा उनिहरूमध्ये एकजनाले आकाशतिर हेर्दै `तपाँइ ताल घुमेर नआइ यो सालको हिउँ पर्दैन´ भनेर उत्तर दिएका थिए।

म चिया खाएर सुर्मुचेको होटलको नजिकै रहेको खोला कटेको मात्रै थिएँ। उताबाट मैतिर आइरहेका युवा र युवतीसँग मेरो भेट भयो। मैले उनिहरूलाई तालमा जान लागेको जानकारी दिएँ। उनिहरूले माथि कोही पनि नरहेको हुँदा सुर्मुचेमै रहन उचित भएको बताएँ। मैले कसैलाई खबर गरिदिन आग्रह गरें। उनिहरूले भने उता बत्ती र फोन विग्रिएको १० दिन भइसकेको जानकारी दिए। त्यसपछि म सुर्मुचेमै बस्ने गरेर फर्किएँ। 

फर्किएपछि मैले गौरिशंकर गाउँपालिकाका रोजगार संयोजक देवराम बुढाथोकीलाई फोन गरें। उनले त्यो होटल चलाउने मानिस वेदिङकै शिक्षक भएको र उनले आवाश्यक सहजिकरण गरिदिने वताए। अघि मलाई हिउँ पर्दैन भनेर जवाफ दिने तिनै शिक्षक रहेछन्। नाम बोलेन्द्र आचार्य। देवरामले हिजो मलाई वडाध्यक्षको नम्बर दिएका थिए। वडाध्यक्षले फोन उठाएनन्। 

बोलेन्द्र सरले दाउरा काट्नका लागि टासिनामबाट मानिसहरू ल्याएका रहेछन्। उनिहरू बेलुका भएपछि क्यारेम खेल्न लागे। खेलमा बाजि परेको रैछ। एकजनाले मसँग २ सय रूपैयाँ सापटी मागे। अँध्यारो बढ्दै गयो। उनिहरूको खेल सकिएन। बरु उनिहरूले मोबाइल बालेर खेललाई निरन्तरता दिए। सानामा क्यारेम खेल्न तख्ती जोडेर बोर्ड बनाएको र प्लाष्टिक पगालेर गोटी बनाएको सम्झें। पग्लेको प्लाष्टिक कहिलेकाँही हातमा पनि पर्थ्यो। त्यसले घाउ पनि बनाउँथ्यो। होटल साहु आचार्य सरसँग यी सम्झना पनि बाँडेँ।

अघि चिया खुवाउने शेर्पा युवती आचार्य सरको श्रीमती रहिछन्। उनले मलाइ यो बेला अफसिजन भएको र अगाडिको यात्रामा दुख पाइने कुरा सुनाइन्। उनले भनिन अहिले फर्कनुस १ हप्तापछि आउनुस। मैले उनको कुरामा ध्यानै दिइन बरु आचार्य सरसँग राजनीतिक कुराकानी गरें। देश बनाउने सवाल छाड्न त कहाँ मिल्यो र !

तेश्रो दिन २०७९ फागुन ९
विहान उठ्दा गौरीशंकर राम्रोसँग खुलेको थियो। मैले केही फोटोहरू खिचें। होटलमा कामदारहरूलाई विहानै खाजा खुवाउने तयारी थियो। मैले खाजा उनीहरूसँगै खाने विचार गरें। विहान खाजा मैले चिउरा र तरकारी खाएँ। 

झोलामा केही खानेकुरा थिएन। केही किन्न पनि थियो। मैले चिउरा किन्न खोजें। चिउरा थोरै रहेछ। त्यो आफैंलाई चाहिने भनेपछि मैले केही विष्कुट किनें। अन्तिम हिसाब गर्ने बेलामा फेरी साहुनीले भनिन सर यो अफसिजन हो दुख पाउनुहोला। अस्ति भक्तपुरतिरका मानिसहरूले बस्ने ठाउँ नपाएर ओडारमा सुत्नु परेछ। उनले भनेको कुरा अविश्वसनिय थिएन। हिजो मलाई बाटोमा फर्काउनेले पनि त्यहि कुरा गरेका थिए। मलाई लाग्यो हिँडेको मानिस फर्कनुहुन्न। 

विहानको ८ बजेतिर म होटल छाडेर अगाडि लागें। त्यो दिन मलाई वेदिङ पुग्नु थियो। बाटोमा रहेको सुचनाअनुसार सुर्मुचेबाट वेदिङ पुग्न झण्डै १५ किलोमिटर यात्रा गर्नुपर्ने थियो। त्यो ठाउँ सुर्मुचेबाट ८ घण्टाको दूरीमा थियो। सुर्मुचेभन्दा म करिव १ हजार ३ सय मिटर उचाइमा पुग्नुपर्ने थियो।

अगाडिको बाटोमा बाक्लो जंगल थियो। च्छो रोल्पासम्म खनिएको बाटोको लागत ३ करोड जति रहेको मलाई आचार्यले वताएका थिए। उनका अनुसार केन्द्रिय प्रसारण लाइन वेदिङसम्मै पुर्‍याइएको थियो। हिउँ पर्दा भने हाँगा भाँचिएर विद्युत वेला वेला अवरुद्ध हुने गर्दछ। त्यसरी आवाश्यक हाँगा समेत नहटाएर कमजोर काम भएको छ। 
सवा ८ बजेतिर म केटाङ खोलामा पुगें। खोलामा झोलुङ्गे पुल थियो। खोलामा पानी धेरै थिएन। यो सुख्खा समय भएको हुनाले खोला सानो हुनु स्वाभाविक थियो। यस वर्ष त फागुनको पहिलो हप्तासम्म पानी नै परेको थिएन। वर्षामा यो खेलाले कति सुन्दर झरनाको रूप लिन्छ होला। माथीबाट झरेको पानी पटकपटक विचमा ठोकीएर फेरी झर्दा त्यसमा कति सुन्दरता भरिन्छ होला ?

पारीपट्टी एकदमै ठाडो भिर थियो। भिरको अन्तमा रोल्वालिङ खोला। मलाई पुग्नपर्ने यहि खोला सुरु हुने च्छोरोल्पा ताल। त्यसको छेउछाउका हिमालमा विहानको घाम पर्न लागेको थियो। मैले अलिक अगाडि एउटा चौरजस्तो ठाउँमा एउटा घरको नजिकमा उभिएर हिमालको तस्विर खिचें। छेउमा लोक्ता फुल्न लागेका थिए। यसकै वोक्राबाट नेपाली कागज बनाइन्छ। दोलखामा केही वर्षअगाडि एक गाउँ एक उत्पादन अन्तर्गत लोक्ताको कार्यक्रम चलाइएको थियो। कार्यक्रम सकियो। लोक्ताबाटै जिल्लाले छलाङ मार्ने गफ पनि सकियो। 

९ बज्दा म बहुला खोलामा पुगेको थिएँ। बहुला खोलामा १ थोपा पनि पानी थिएन। वर्षायाममा अनुमानै गर्न नसकिने गरेर खोलामा बाढी आउने भएका कारण यसको नाम बहुला राखिएको होला। यो पुल तर्नका लागि अलिकति ओरालो ओर्लनुपरेको थियो। खोलाबाट २० मिनेटको यात्रामा म क्याल्चे पुगें। क्याल्चे पुग्नअघि धेरै ठाउँमा पानीका मुलहरू भेटेको थिएँ। चिसो हुनाले पानी खाइहाल्न आँट गरिन। 

क्याल्चेमा मैले सूर्यको दर्शन पाएको थिएँ। म डिलमा बसेर आँखा चिम्लेर घाम ताप्न लागें। रिगु गाउँ निकै पर देखिन्थ्यो। त्यहाँबाट मानिस त्यहाँ मात्रै छन् भन्ने आभास दिन्थ्यो। म आँखा चिम्लेकै बेलामा २ जना कुरा गर्दै अगाडि गए। घामको न्यानोमा मलाई आँखा खोल्न जाँगर चलेन। सुर्मुचेबाट यो ठाउँ ३ सय ४० मिटर अग्लो ठाउँमा रहेको बाटो छेउको बोर्डमा देखिएको थियो। अव अर्को मानिस भएको ठाउँ डोगाङ पुग्न डेढ किलोमिटरभन्दा वढि यात्रा गर्नुपर्ने थियो। 

यहाँसम्म मोबाइलको टावर रहेछ। घाम ताप्दै गर्दा फोन आएको थियो। मैले उठाउन जाँगर गरिन। पछि हेर्दा मिस्ड कलमा रिता जी देखियो । श्रीमतीजीको फोन फर्काएँ। त्यसैबेला हिजो भेट्नेहरूले गलत कुरा गरेछन् जस्तो लाग्यो। उनिहरूले भनेका थिए क्याल्चेदेखि उता फोन र बत्ती नभएको कम्तिमा १० दिन भो। 

क्याल्चेमा एउटा होटल थियो। होटलमा ताला थियो। होटलकै छेउमा धारा थियो। त्यसमा टुटी थिएन। पानी निरन्तर आइरहेको थियो। मैले मेरो वोत्तलमा पानी भरें। 

क्याल्चेबाट अगाडि बढेपछि मैले गुराँस फुलेको भेटें। गुरास एक थुँगा टिपेर खाएँ। मेरो घरमुनी पनि गुराँसको ठूलै रुख थियो। पछि गाउँमा सडक आउँदा त्यो बाटैमा परेर उखेलियो। त्यो गुराँस खाइदिन्छनु भनेर म र कुमार काँडा ल्याएर बोट बार्थ्यौं। यही गुराँस खाइदिएका निहुँमा वाल्यकालका धेरै साथीहरूसँग झगडा नै परेको थियो। त्यो गुराँस त अति नै मिठो थियो। यो भने त्यति मिठो लागेन। बालापन मिठो थियो कि गुराँस। मैले पत्तो पाइन। 

अलिक अगाडि बाटोभरी बरफ थियो। हिउँ त परेको थिएन। तलतिर पानी नपरी लेकमा हिउँ पर्दैन। यसो माथितिर हेर्दा माथिवाट खसेको पानी खस्दाखस्दै जमेको रहेछ। 

डोगाङ रोल्वालिङ खोलाको किनारैमा थियो। क्याल्चे डाँडामा। क्याल्चेबाट यो ठाउँ २० मिटर गहिराइमा थियो। यसै हुनाले यसमा पुग्न तेर्सै तेर्सै हिडेर ओरालो लाग्नुपर्ने थियो। क्याल्चेबाट मोबाइलमा टावर हराएको थियो। अव मोवाइल क्यामेरा मात्रै बनेको थियो। डोगाङ नपुग्दै अर्को झरना भेटियो। यो पनि यस बेला त्यत्ति गज्जब देखिएको थिएन। वर्षामा यो कस्तो देखिएला। मैले गज्जबको अनुमान गरें। यो झरना हेर्दै गर्दा २ जना मानिस भेटिए। उनिहरू बेदिङ पुगेर फर्किएका रैछन्। विद्यालयको सामान पुर्‍याएर। अघि मैले घाम ताप्दा कुरा गर्दै जाने यिनीहरूकै साथी रहेछन्। यिनीहरूसँग कुरा हुँदा वेदिङमा वास पाइन्छ भन्नेमा विश्वास भो। जुन घरमा धुवाँ आउँछ। त्यहि घरमा गएर बास माग्नु बास पाइन्छ। उनिहरूले भने। उनिहरूको घर म हिजो यात्रा गरेको स्यालुतिर रहेछ। 

डोगाङमा एउटा हावाको दिशा पहिल्याउने यन्त्र घुमिरहेको थियो। घाम लागेको हुनाले मैले वोत्तल घाममा राखें। त्यो पानी एकैछिन भएपनि तात्ला भन्ने आश थियो। त्यतिन्जेल मैले प्रजातन्त्र दिवसमा कान्तिपुरले प्रकाशन गरेको विशेषाङ्कका केही कथाहरू पढेको थिएँ। यो मैले प्रकाशन भएकै दिन मोहन रिजालसँग उनकै पसलमा लिएको थिएँ चरिकोटमा। प्रजातन्त्र दिवस कान्तिपुरको वार्षिकोत्सव पनि हो। वर्षेनी पत्रिकाले विशेषांक निकाल्ने गर्छ। यस पटक भने उसले स्थानीय तहमा चुनिएका महिला पालिका प्रमुखका बारेमा निकालेको रहेछ। 

सँगसँगै मैले म मकरध्वजका केही पानाहरू पढें। पानी अलिकति तातेको जस्तो लाग्यो। पिएँ। पानी बोत्तलभरी बनाएँ। त्यहाँ बाहिर बनाइएको काठको कुर्सीमा बसें। यहि होटलका सञ्चालकहरू मैले हिजो सुर्मचेमा भेटेको थिएँ। नत्र म यहाँ हिजै वास वस्न आइपुग्ने थिएँ। 

बाटोमा हिड्दै गर्दा पानी तताउन मैले उपाय निकालेको थिएँ। झोला ढाडको विचमा पानीको वोत्तल राख्ने। हिड्दै गर्दा त्यो धेरैथोरै तातो हुन्थ्यो। मैले बोत्तल वाँधेर झोलाबाहिर राख्दा पनि त्यसले खासै काम गरेको थिएन। पछिल्लो आइडिया भने काम लाग्यो। 

डोगाङमा ह्विल व्यारोहरूमा काठका थप पाङ्ग्रा जोडिएका थिए। रवरको पाङ्ग्रा लामो समयसम्म टिकाउनका लागि यसो गरिएको हुनुपर्छ। मलाइ यो रमाइलै लाग्यो। मैले फोटो लिएँ र अगाडि बढें। 

जंगलको बाटो हिड्नु मेरो दैनिकी थियो। घरहरू देखिनु भनेको आकक्लझुक्कल मात्रै थियो। जंगल प्रकृति हो। प्रकृति अनेकन रहस्यले भरिएको छ। एउटा रुखको फेद बसेको जनावर जस्तै देखियो। मैले फोटो खिचें। त्यो भन्दा अगाडि बिजुलीको तार लत्रिएको पाएँ। तार नाघेर अलिकति अगाडि पुगेपछि रुखहरू ढलिरहेको भेटें। यिनै रुखहरूले तार विगारिदिएका कारण डोगाङ र क्याल्चेमा विजुली नभएको हो। वेदिङमा पनि विजुली छैन भन्ने मैले हिजै जानकारी पाएको थिएँ। यहि कारण हुनसक्छ। 

तिनछाँगे खोलामा पुग्दा साँढे ११ बजेको थियो। तिनछाँगे खोलामा तिनभन्दा धेरै छाँगा थिए। कुनै समय यहाँ तीनवटै छाँगा थिए होलान्। दोलखा छाडेपछि स्विस सरकारले यो बाटो बनाइदिएको रहेछ। खोलामा बनाइएको पुल ३ वर्षअघि झण्डै २५ लाखमा निर्माण गरिएको रहेछ। यो सुचना भएको वोर्ड भने च्यातिन च्यातिन लागेको थियो। 

अलिकति अगाडि एउटा ओडार देखियो। ओडारमा आगो पनि बालेको देखेपछि म ओडारमा कोही छ कि भनेर हेर्न ओडारतिर गएँ। ओडारमा मानिसहरू बस्थे भन्न देखियो। यसमा मानिसहरू सोत्तर ओच्छ्याएर सुतेको जस्तो देखिन्थ्यो। डोगाङमा घर नहुँदा सायद मानिसहरू यतै वस्थे होलान्। वेदिङ लैजाने लाइन टाँग्ने काम हुँदा पनि मानिस सायद यतै बसे होलान्। वा मजस्तै एकलै हिँडेकाहरू पनि रात पर्दा यतै रात काट्थे कि !

पारिपट्टी पहराहरूमा पानी बगेको दाग मात्रै देखिन्थ्यो। वर्षातको समयमा यि पक्कै सुन्दर झरनाहरूको रूपमा देखिँदा हुन। त्यी कत्ति त कैद भएका होलान्। 

ठेमलुङमा पुग्दा १२ वजेको थियो। म हिडेको ४ घण्टा। यहाँ निर्माण गरिएको झोलुङ्गे पुल कामै नलाग्ने गरी भत्किएको थियो। यस ठाउँको उचाई ३ हजार ७० मिटर रहेको भत्किएको पुलको मुखैमा राखेको सुचनापार्टीमा उल्लेख थियो। सायद यो सडकको छेउमा भएको भए समयमै पुननिर्माण भएको हुन सक्थ्यो। अथवा यसमा प्रयोग भएका धातुजन्य सामग्री विक्रिवितरण भैसकेका हुने थिए। यो मात्रै कहाँ प्लाष्टिक कोटेड गरिएको बाटाका छेउका असरल्ल तारहरू पनि यसै के भेटिन्थ्यो होला र !

रोल्वालिङ खोला ओरालो लागिरहेथ्यो। म उकालो। कहिले नजिक। कहिले टाढा। तैपनि हिजोदेखि म सँगसँगै थिएँ। फेदमा खोला बगेपनि डाँडाहरू उराठलाग्दा थिए। सबै श्रोत र साधन भएर पनि हरितन्नम भएको देशजस्तै !

यो सामाग्री नलाइन खबरमा २०८० वैशाख ९ गते २०:०७ मा विकास कुरिरहेको डाँडापाखा डुल्दा … शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना