• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

च्छोरोल्पा यात्रा-३ः च्छोरोल्पा पुग्नुअघि बाटोमा जे भेटिए …

शिकारी दोभान: सबैथोक प्रकृति !
शिकारी दोभान पुग्दा १२ वजेर २० मिनेट गएको थियो। अव मैले रोल्वालिङ खोला तर्नुपर्ने थियो। विजुलीको तारका आधारमा अव बाटो उकालो हुने मैले अनुमान गरें। अलिक अगाडि चौतारी थियो। त्यहाँ बसेर मैले झोलामा भएको विस्कुट र पानी खाएँ। नजिकै वासुकी नागले छहारी दिएको जस्तो पहाड देखिन्थ्यो। मैले १/२ ओटा तस्विर लिएँ। म बसेको चौतारो नजिकै फोहोर जम्मा गर्न खाडल बनाइएको थियो। खाडलको छेउछेउ ढुंगाको पर्खाल थियो। खाडलमा वियरका क्यानहरू, चकलेटका खोलहरू, शक्ति वर्द्धक पेय पदार्थहरू जस्तै रेड बुल, अर्ना र मैले बोकेको बिस्कुट कोकोनटका खोलहरू देखिएका थिए। त्यहाँ विभिन्न ब्राण्डका चुरोटका खोलहरू पनि थियो। यो चिसो ठाउँमा चुरोटले जिउ त तताउँथ्यो नै होला ? आफुले खाइएन। अनुभव नै भएन। 

अलिक अगाडि बढेपछि पात झरिसकेका रुखहरू देखिए। त्यसमा लामा लामा झ्याउहरू पलाएका थिए। ढुंगाहरू मात्रै थिए वाटोमा। पहाड खसेर टुक्रिएका ढुंगाहरू माटो बन्न अझै धेरै समय लाग्नेछ। मैले पढेको ज्ञानअनुसार। धेरै वर्ष पहिले खसेका ढुंगाहरू माटो भएका थिए। माटोमा त रुख उम्रिएका थिए। अन्य घाँसपातहरू पनि उम्रिएका थिए। वर्षाको समयमा त ढुंगामा नै पनि विभिन्न झ्याउहरू उम्रन्थे कि !

३ हजार ३ सय ४३ मिटर उचाइको ठाङदिङ पुग्दा दिउँसोको १ बजेको थियो। ठाङदिङमा ४-५ ओटा घरहरू भेटिए। त्यहा कोहि पनि मानिसहरू थिएनन्। वेदिङ यहाँबाट साँढे ५ किलोमिटरको दूरीमा थियो। बाटोको छेउमा रहेको बोर्डका अनुसार बेदिङ ठाङदिङबाट ४ सय मिटर अग्लो ठाउँमा थियो। अव २ घण्टा हिडेपछि त्यहाँ पुग्न सकिन्थ्यो। अन्य हिसाब मिलेपनि हिडाइको हिसाब भने मेरा लागि मिल्दैनथ्यो। म बोर्डमा राखेको समयभन्दा अगाडि नै पुग्ने गरेको थिएँ। 

२ वज्दा म समदर आइपुगेको थिएँ। त्यो ठाउँ नजिकै नदीको पानीको प्रवाहका जाँचका लागि मेसिन राखिएको थियो। च्छो रोल्पाका बारेमा पुर्व सुचना प्रणालीका बारेमा छलफल भएको कम्तिमा पनि २ दर्जन वर्षहरू वितिसकेका छन्। ठाङदिङभन्दा यो ठाउँ ५० मिटर उचाइमा रहेको थियो। पुर्व सुचना प्रणाली राखेको ठूलो ढुंगा नजिकै एउटा सानो धारा रहेछ। त्यसमा पानी आएको थिएन। म एकछिन वसेर मैले वोत्तलमा पानी भरें। धारालाई मर्मत गरें। बरालिएको पानी धारावाट खस्न लाग्यो। 


समदरमा रुखमा खादाहरू वेरिएको थियो। मलाई वौद्ध धर्मको धार्मिक स्थल रहेको आभास मिल्यो। त्यो स्थलमा पुगेपछि म चकित भएँ। त्यहाँ त्रिशुलहरू धेरै थिए। खादा र त्रिशुल। यो नै हाम्रो पहिचान थियो। एकै स्थानमा फरक फरक आस्थामा पुजा गर्न मिल्ने। मुक्तिनाथमा पनि एउटै शिलामा आनी र पुरोहितले पुजा गर्छन। खोजिहेरे यस्ता ठाउँ कत्ति कत्ति ! 

मन्दिर दर्शन सकेर बाटोमा उक्लँदा मैले वोर्ड देखें। त्यसमा मन्दिर निर्माण गर्नेहरूको नामावली थियो। ति सबै शेर्पाहरू थिए। सम्भवत वेदिङतिरका। नामावली भएको वोर्डमा ३० ओटा नामहरू थिए। जसमा १ एउटा संस्था, एकजना खत्री र एकजना तामाङको नाम थियो। बाँकी २७ ओटा नाम सबै शेर्पाहरूका। मन्दिरको नाम छेरिङमा र गोरा महादेव थान रहेछ। यसको मर्मत सम्भारको काम रोल्वालिङ साङ्ग छोलिङ गुम्बा संरक्षण तथा व्यवस्थापन समिति रोल्वालिङले गरेको रहेछ। 

मन्दिरको छेउमै पुल थियो। पुल तरेपछि डाल्डोङ हिमाल पुगिने रहेछ। यहि बाटोबाट टासिनाम पनि पुगिने रहेछ। वेदिङ पुग्नलाई रोल्वालिङ खोला तर्नु पर्ने रैनछ। म अगाडि वढ्न खोज्दा मैले थाहा पाएँ कि लौरो विर्सिएछ। हिजो सिमिगाउँको जंगलदेखी मसँगै रहेको लौरो विर्सिएपछि म अलिकती आएकै बाटो फर्किएँ। यहि ठाउँमा छुट्यो भन्ने समझमा आएन। यसैले लौरो विनै म अगाडि बढें। 

वेदिङः चौपाया जोगाउने कि चितुवा !
वेदिङ आइपुग्न लाग्दा एउटा पानी नभएको खोला भेटियो। घडिमा ३ वज्नका लागि २० मिनेट बाँकी नै थियो। भित्तापट्टी ३ जना मानिसहरू केही गरेर बसेका थिए। उनिहरू चौरीको मासु काट्दै थिए। मैले उनीहरूसँग कुरा गर्दा उनिहरूले बाघले चौंरी खाइदिएको बताए। म एकछिन उभिएर कुरा गर्न लागें। उनिहरूले मेरो आजको गन्तव्य नजिकै भएको वताए। 'तपाँइ जानुस हामीले काम सक्दा धेरै समय लाग्छ।'

सिंगटी बजारदेखि चिनको सिमासम्मै गौरिशंकर संरक्षण क्षेत्र पर्छ। नेपाल सरकारले जलवायु परिवर्तनबारे विश्वको ध्यान तान्न सगरमाथा आधारशिविर कालापत्थरमा मन्त्रीपरिषद वैठक आयोजना गरेको थियो। यही बैठकले सिन्धुपाल्चोक, दोलखा र रामेछापका हिमाली क्षेत्रमा पर्ने भुभाग समेटेर गौरिशंकर संरक्षण क्षेत्र घोषणा गरेको थियो। यो क्षेत्रमा केही समयअघि हिउँचितुवा रहेको पत्ता लागेको थियो। दूर्लभ वन्यजन्तु फेला परेपछि गौरिशंकर संरक्षण क्षेत्र र संरक्षणकर्मीहरू धेरै खुसी भएका थिए। उनिहरूको खुसीमा बेलाबेला चौंरीपालक किसानको आँसु मिसिने गरेको छ।

मैले अलिअलि घरहरू देख्न लागेको थिएँ। वेदिङको नजिकै पुगेको रहेछु। झोलुङ्गे पुल तरेर जाने बेलामा मलाई आफ्नै छाँया गज्जब लाग्यो। मसँग दिनभरी घाम लाग्दा अगाडि पछाडि रहेर साथ दिने त यहि छाँया न थियो। मैले १-२ ओटा आफ्नै छायाँको फोटो खिचें।

अलिक अगाडि लाग्दा कुकुर भुक्यो। मलाई लाग्यो कोही मानिस भेटिए। म वेदिङ गाउँआएजस्तो लाग्यो। मैले वेदिङ गाउँको तस्विर अगाडि पनि देखेको थिएँ। यो गाउँ त त्यससँग कतै मिल्दैन। कुकुर भुकेको ठाउँ रोल्वालिङ साङ्ग क्षोलिङ्ग गुम्बा विद्यालय रहेछ। यहाँ मैले मानिसहरू कोही छन् कि भनेर बोलाएँ। त्यहाँ विद्यार्थीहरू रहेछन्। यो विद्यालयमा रहेका विद्यार्थीहरूसँग मैले कुरा गर्दा थाहा पाएँ कि सुर्मुचेका होटल सञ्चालक वोलिन्द्र सर यसै विद्यालयका शिक्षक रहेछन्। विद्यार्थीहरूसँग कुरा गर्दा उनिहरूले वेदिङमा बास पाइने वताए। अगाडिको डिल काटेपछि त्यहाँ पुगिने पनि उनिहरूले जानकारी दिए। यो वेलामा उनिहरूको विद्यालयमा पठनपाठन भइरहेको थिएन। त्यो कुरा मैले सुर्मुचेमा थाहा पाएको थिएँ। 

विद्यालयमा भान्सेको व्यवस्था गरिएको रहेछ। अवको केही दिनमा पठनपाठन सुरु हुने विद्यार्थीले बताएका थिए। उनिहरूसँग म कुरा गरेर अगाडि बढें। 

वेदिङ पुग्दा नदीको किनारमा चौंरीहरू देखें। केही तस्विरहरू पनि लिएँ। ४ वज्न १५ मिनेटभन्दा धेरै समय बाँकी थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषले धेरै ठूलो बोर्ड टाँसेको रहेछ। त्यसमा बेदिङका बारेमा जानकारी राखिएको थियो। त्यो बोर्ड खिचेपछि म चौंरीको वथानमा पुगें। त्यो बथानमा एकजना महिला सानो भाँडा वोकेर मतिरै आइरहेकी थिइन। उनीसँग मैले बास पाइएला कि भनेर सोधें। उनले चौंरीलाई बाघले खाइदिएको वताइन। पर बाटोमा भेटिएको चौंरी उनकै जस्तो लाग्यो। पछि थाहा पाएँ उनको चौंरी घाइते भएको रहेछ। बाघको आक्रमणमा परेको त्यो चौंरी पछि मैले बथानमै देखेको थिएँ।

उनले मलाई होटल चलाउने महिला देखाइन। उनले बास बस्न आउनु भनिन। एक्लै हो? उनले सोधेको प्रश्नमा मैले हो भन्ने जवाफ दिएँ। म बस्ने होटलमा २ ओटा गिनिज वुक अफ वर्ल्ड रिकर्डका प्रमाणपत्र भित्तामा टाँसिएका थिए। एकै परिवारका ८ जनाले सगरमाथा आरोहण गरेकोमा एउटा र ४ जनाले एकैपटक सगरमाथा आरोहण गरेकोमा अर्को प्रमाणपत्र दिइएको रहेछ। ति सबैकी आमा किमजुङले मलाई होटलमा बास दिने भइन। होटलको नाम उनकै एकजना छोरा फुर्वा तेन्जिङ शेर्पाको नाममा राखिएको थियो। फुर्वा जोशेफ लज। 


मैले चुनावमा मत हाल्ने ठाउँ अघि भेटेको गुम्बा हो भनेर सोधें। उनले त्यो नभएको बरु पुरानो स्कुल भनेर वताइन्। के फेरी चुनाव हुँदैछ र ? उनको प्रश्नमा मैले कता पर्ने रैछ भनेर बुझ्न मात्रै खोजेको बताएँ। त्यसपछि म त्यो पुरानो स्कुल हेर्नका लागि निस्किएँ। मंसिरमा भएको चुनावमा त्यो ठाउँमा जानका लागि मैले विशेष पहल गरेको थिएँ। त्यहा जान कर्मचारीहरूको हानथाप हुने गरेका कारण मेरो पहल सफल हुन सकेन। ४ बजे होटलमा झोला राखें। होटलमा तातोपानी र विस्कुट खाएँ। त्यसपछि म वेदिङ गाउँ घुम्नका लागि निस्किएँ। 

झरना जमेको थियो। फोटोमा जस्तै टक्क अडिएको थियो पानी। मैले नजिकै गएर तस्विर लिए। त्यो खोलाको अलिक तलतिर परम्परागत घट्ट थियो। पानी ल्याउने डुँड पनि काठकै। मादल र पोरा पनि काठकै। मलाई सानोमा घट्टमा बसेको याद आयो। रातभर पिठो पिधिदिन म घट्टमा बस्थें। जुनेली रातमा कुमारहरू पारीपट्टी लाँकुरीको फेदमा वाँदर बनेर मलाई तर्साउँथे। अहिले घरघरै मिल जोडिएका छन्। ति ठुला ढुंगाका घट्ट, काठको डुँड, मादल र पोरा। सायद केही वर्षमा धेरैले विर्सिसक्नेछन्। 

त्यही घट्टको मुनितिर मैले एकजना महिला पानी थाप्न आएको भेटें। यो ठाउँमा पहिला खाद्यान्न कुन ठाउँबाट ल्याइन्थ्यो भन्ने मेरो जिज्ञासामा उनले जिरी र लामोसँघुको नाम लिइन्। अरु कुराकानी पनि भए। उनको पानी भरियो। उनि पानी लिएर आफ्नो घरतर्फ लागिन। म त्यस भेगको पुरानो विद्यालय वेदिङ प्राथमिक विद्यालयतिर लागें। यो विद्यालयमा भएको वोर्ड खुइलिन लागेको थियो। २०२८ सालमा स्थापना भएको रहेछ। अहिले विद्यालय वन्द थियो। पढ्ने विद्यार्थी नपाएर होला। विद्यालयमा सामुदायीक वन र एउटा क्लवको वोर्ड थियो। 

म फर्किएर होटलमा आएँ। त्यो दिन शेर्पाहरूको नववर्ष थियो। ल्होसार। ल्होसारमा खाप्से बनाउन लागेका थिएँ। मैले पनि खाप्से बनाउन सघाँए। त्यो खाएपछि होटलमा भात पकाए। भात पकाएपछि उनिहरूले भने दाल पकाउन जाँगर लागेन। दहिसँग भात खाने हो। मैले हुन्छ भने। खाना खाने वित्तिकै मलाइ कोठा देखाउन उनिहरूले साँचो खोजे। साँचो हराएपछि भान्साकोठाको नजिकैको खाटमा म सुतें। त्यहाँ बत्ती र विजुली नभएको धेरै दिन भैसकेको थियो। 

चौथो दिन २०७९ फागुन १०
किमजुङ: दर्जन सन्तानमा आठ सगरमाथा चुचुरोमा!
त्यो दिनको यात्रा च्छोरोल्पा पुग्ने थियो। होटलमा हिसाब गर्दा १ हजार ३ सय रूपैंया भएको थियो। ल्होसारको खाप्से त्यसमा समावेश थिएन। त्यसको पैसा पर्दैन भनेर मलाई साउनीले भनेकी थिइन। उनका ८ सन्तान सगरमाथा चढेको प्रमाणपत्र होटलको भित्तामा अघिल्लो दिन नै देखेको थिएँ। ३ जनाले चढेका छैनन् भनेर गिनिज वुक अफ वर्ल्ड रेकर्डसको बेवसाइटमा जानकारी राखिएको थियो। उनले मलाई १२ जना सन्तान जन्माएको वताएकी थिइन्। त्यो ठाउँमा स्वास्थ्य समस्या आइपरे कता जाने ? मेरो प्रश्नमा उनको जवाफ थियो त्यस्तो केही त परेन। 

मसँग खुजुरा पैसा थिएन। मैले विहान चियासँग चिउरा पनि खाएको थिएँ। हजारको र पाँच सयको नोट दिएँ। २ सय फर्कँदा लिनु नि। उनको प्रस्ताव स्विकारेर म होटलबाट निस्किएँ। चिसो धेरै नै थियो। म अलिक अगाडिसम्म लौरो टेकेर गएँ। वेदिङ प्राविसम्म पुगेपछि हात ठिहिर्‍याएर लौरो त्यतै छाडें। हात ज्याकेटका गोजीमा हाल्नु नै यो वेलाको उत्तम विकल्प थियो। 

अलिक अगाडि पुग्दा चौरीहरू चरिरहेका थिए। तिनीहरू म देखेर तर्सिए। म तिनलाई देखेर तर्सिएँ। त्यसो गर्दा म हिड्ने बाटो खाली भएको थियो। वेदिङ माथितिरको हिमालमा भर्खरै घामका किरण देखिएका थिए। मैले केही फोटो खिचेर अगाडि बढें। 

अगाडि बाटोमा पुग्दा घाम लागेको थियो। मैले आफ्नै छायाँको फोटो खिचें। ना गाउँ पुग्नु अघि ढुंगाहरूमा लुङ्दर टाँगिएको थियो। हाम्रा प्रत्येक ढुँगामा आस्था छ विश्वास छ। त्यसै भएर लेखिएको गाइएको हुन सक्छ यहाँ ढुँगा ढुँगामा देवताको वास छ। 

ना गाउँ

ना गाउँमा पुगेपछि म घाम ताप्न बसें। केही छिन घाम तापेपछि मैले आफुसँग भएको विष्कुट र पानी खाएँ। त्यहाँ चौतारीमा वौद्ध मन्त्रहरू लेखिएका ढुंगा थुपारिएका थिए। अन्य कुरामा ध्यान नदीएपनि धर्मका लागि हामीले ढुंगामा अक्षर कोरेका छौं। आफ्नो आस्था जनाएका छौं। 

ना गाउँबाट पुल तरेर पारी जानुपर्ने थियो। मैले तलतिर आउँदै बाटामा चितुवाका पाइला देखेको थिएँ। नाको पुल तरेपछि यस्ता पाइला भर्खरै हिँडेजस्ता पाएँ। त्यहाँ आँखाले देख्दा नभ्याउने लामा लाम फाँट थिएँ। नजिकमा रोल्वालिङ खोला अनि फुङ्ग भएका डाँडाहरू। 

अलिक माथि मैले अर्को पुल भेटें। त्यसको छेउमा दुधकुण्ड जाने बाटो भनेर लेखिएको थियो। बाटो भने मानिसहरू हिडेको जस्तो देखिएन। म मानिस हिडेकै चल्तिकै बाटो लागें। 

त्यहाँ पुर्व सुचना प्रणालीको संरचना थियो। त्यसमा जोडिएको सोलार प्यानेल व्याट्री तल्लो भेगमा माओवादी जनयुद्धमा प्रयोग भएका थिए। यता पनि कसैले प्रयोग गर्‍यो होला। 

च्छो रोल्पा पुग्नै लाग्दा म एकछिन सुस्ताएँ। त्यहाँ नेपाल सरकारको भनेर हातैले लेखेको एउटा सुचना टाँसिएको थियो। त्यो सुचना हेरेर अगाडि लाग्दा म थकित थिएँ। माथिल्लो डाँडामा पुगेपछि भएको एउटा विस्कुट खाने योजना बनाएँ। 

यो सामाग्री नलाइन खबरमा  २०८० वैशाख १६ गते १९:०८ मा च्छोरोल्पा पुग्नुअघि बाटोमा जे भेटिए … शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना