• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

च्छोरोल्पा यात्रा-४ःअफसिजनमा च्छोरोल्पा

गन्तव्य भेटेपछि 
माथिल्लो डाँडामा पुगेपछि मेरो भोक हरायो। थकान हरायो। लागेको तिर्खा हरायो। म मेरो गन्तव्यमा पुगिसकेंको थिएँ। ताल तरल अवस्थामा थिएन। जमेको थियो। केही भौतिक संरचना पनि थिए। मैले फोटो खिचें। भिडियो बनाएँ। ताललाई घटाइएको ठाउँमा पुगें। त्यहाँ ताल कसरी बढ्दै गइरहेको छ भन्नेमा विस्तारमा उल्लेख भएको सुचनासहितको वोर्ड थियो। 


च्छोरोल्पाका बारेमा मैले माध्यामिक तह उतिर्ण नगर्दै पाठ्यक्रममा पढेको थिएँ। त्यो पढाइ कक्षा उतिर्ण गर्ने हिसाबमा मात्रै पढियो। त्यहि भएर त्यसमा के थियो भनेर मैले विर्सिसकेको थिएँ। 

ताल छेउको बोर्डमा २३ वर्ष पहिले तालको सतह ३ मिटर घटाईएको उल्लेख थियो सन २००० मा। विश्व बैङ्क, नेदरल्याण्डस अन्तराष्ट्रिय विकास सहयोग निडा र नेपाल सरकारको संयुक्त पहलमा यो काम भएको थियो। त्यो भन्दा अघि दोलखा र रामेछापका १६ ओटा उच्च जोखिमममा रहेका गाँउहरूमा ठूलो रकम खर्च गरेर साइरन जडान गरिएको थियो। 

यस्तै कारणले यो तालले म सक्रिय पत्रकारितामा रहँदा भने विपद मात्रै सम्झाउँथ्यो। त्यो बेलामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले स्थानीय गैसससँग मिलेर विपद जोखिम न्युनिकरणको कार्यक्रम चलाउँथ्यो। १२ वर्षअगाडि चलेको यो कार्यक्रम ४-५ वर्ष सञ्चालनमा आयो । 

यो ताल जुनसुकै वेला फुट्न सक्छ भनेर निरन्तर कार्यक्रमहरू भइरहेका छन्। यसै फुट्छ भनेको ताल २०७२ मा दोलखा केन्द्रविन्दु भएर ६.८ रेक्टरस्केलको भुकम्प जाँदा पनि फुटेन। शंका गर्नेहरू चिनको सिमाभन्दा ५ किमिको मात्रै दूरीमा रहेका कारण सहयोगको अर्थ अरु पनि हुन सक्छ भन्छन्। कसका कुरा पत्याउनु, के मात्रै पत्याउनु!

पुरै आकाश खुलेको थियो। चारैतिर छ्यांग थियो। आकाशमा वादलका केही टुक्राटाक्री आउजाउ गरिरहेका थिए। एकछिन फोटो र भिडियो खिचेपछि म त्यहाँ देखाइएको दुधकुण्डतिर जाने बाटो लागें। त्यहाँ दुधकुण्ड जान साँढे २ घण्टा लाग्ने उल्लेख थियो। १ घण्टा हिडेपछि चल्तिको बाटो हरायो। कसैले इनामेलले बाटो संकेत गरिदिएको थियो। त्यो पछ्याउँदै आधा घण्टा हिडें। तालको कतै संकेत देखिएन। म केही फोटो खिचेर फर्कें।
 
फर्कँदा म आएकै बाटो फर्कँदा घुमाउरो पर्थ्यो। मैले सोझो बाटो लिएँ। त्यसैतर्फ म हिड्दा खोलाको किनारै किनार अगाडि लागें। खोला पनि अगाडि बढिरहेको थियो। म पनि अगाडि वढिरहेको थिएँ।

अलिक अगाडि आउँदा म सुनापातीको बुट्यानको जंगलमा पुगें। त्यहाँ पुग्दा मैले थाहा पाए यो वुट्यानमा पनि आगलागी पो भएको रहेछ। 

मैले अघि पुलको मुखमा आउँदा दुधकुण्ड जाने बाटो भन्ने लेखिएको ठाउँमा आइपुगेको थिएँ। अव म विहान जुन बाटो आएको थिएँ। त्यहि बाटो फर्कनुपर्ने थियो। 

मलाई २ बजेसम्म वेदिङ आइपुग्दा तपाँइ सुर्मुचे पुग्नुहुन्छ भनेर बोलिन्द्र सरले बताएका थिए। म त्यसै हुनाले अलिक चाँडै हिड्न लागेको थिएँ। ना अगाडि पुगेपछि मलाई हिउँको छिर्काले भेट्यो। आकाश त सफा नै थियो। 

वेदिङ आइपुग्दा ३ वज्नै लागेको थियो। बोलेन्द्र सरले भनेकोभन्दा म १ घण्टा ढिला भैसकेको थिएँ। वेदिङअगाडि अन्यत्र बास पाउने सम्भावना थिएन। जंगलको बाटो अँध्यारो हिड्न हुन्न भन्ने लाग्यो। म वेदिङमै वस्ने भएँ। हिजोकै होटलमा मलाई जानु नै त थियो। 

होटलमा जानु अघि मैले हिजो सुरुमा भेटेकी महिला भेटे। उनी आफ्नो घाइते चौंरीको उपचारमा थिइन। मेरो चौरीको फोटो खिचिदेन सर। उनले भनिन। उनलेे चौंरी बथानबाट छुटाएर घरमा लगेकी रहिछन। ‘केही खाँदैन मर्छ होला।’ कुरा सुनेपछि मैले उनलाई गौरीशंकर संरक्षण क्षेत्र कार्यालयमा जान सुझाएँ। ‘२ दिन लाग्छ कैले पुगेर आउनु।’ उनीसँग आफ्नै वाध्यता थियो। वन्यजन्तुबाट घरायसी चौपायामा क्षती हुँदा जनताहरूले क्षतिपुर्ती पाउने कुरा मैले सुनेको थिएँ। 

होटलमा झोला राखेपछि मैले पहरामा रहेको गुम्बामा जाने बाटो सोधें। होटलबाट सिधै माथीको पहरामा थियो गुम्बा। जाने बेलामा बाटो सहि रूपमा ठम्याउन सकिएन। गन्तव्य सहि हुँदा कैलेकाँहि थोरै गलत बाटा हिड्दा पनि पुगिन्छ। हिड्ने दिशा चैं सहि नै हुनपरो। 

गुम्बाबाट वेदिङ गाउँ सिधै तल देखिन्थ्यो। गुम्बामा कोहि मानिस थिएनन। म एकछिन वसेर फर्किएँ।


होटलमा बसेको थिएँ। फोन बज्यो। चरिकोटबाट इन्स्योरेन्स कम्पनीले कागजात माग्न फोन गरेको रहेछ। होटलवाला आमैले पनि फोन बजेको थाहा पाइन। आज `पर गुम्बा स्कुलमा आएका सरले बनाएका रैछन क्यार।´ उनको मैले यत्ति वोली सुनें। उनी आफ्ना काठमाण्डौमा रहेका सन्तानलाई फोन गर्न लागिन। होटलमा एकजना गेष्ट आ छ। यताबाट उनले भनेपछि उताबाट महिला स्वर सुनियो । ‘गारो भएको भए नराखेको भए पनि हुन्थ्यो।’ सायद उनकी छोरी हुँदी हुन । काठमाण्डौतिरकी। 

यहाँका बासिन्दा धेरै काठमाण्डौतिर बसोबास गर्छन्। यहाँको कमाइ शहरमा पुगेर खर्च हुन्छ। अहिले यहाँको मात्रै हैन धेरै ठाउँको कथा यस्तै यस्तै हो। अलिक सक्नेले नेपालमा कमाएर विदेशमा खर्चने। नसक्नेले गाउँमा कमाएर शहरमा! 

भात खाने कि ढिंडो। उनले मलाई सोधिन। तपाँइहरू जे खाने मलाई त्यहि दिँदा हुन्छ। उनले ढिडो पकाउन सुरसार गरिन। अनि फेरि सोधीन। सात्तुको खाने कि कोदोको। मैले कोदो रोजें। कोदो सिमिगाउँबाट ल्याएको होला मैले मनको कुर मनमा राखिन ? उनले काठमाण्डौबाट ल्याएको वताइन। चैत्रतिर हिजो पुगेको घट्ट चल्ने उनले मलाई जानकारी गराइन।

तरकारीमा सोल्मे पकाउँ भन्ने उनको प्रश्न थियो। मैले सोल्मे भनेको बुझिन। उनले यो दहीबाट बनाइने भन्ने जानकारी दिइन। मैले म त्यो थोरै खाउँला नत्र मलाई दही भए हुन्छ भनें। उनले सोल्मे पकाइनन्। दहिसँगै ढिँडो खाइयो। 

मैले फोन चार्ज गर्न खोजें। सोलारको व्याट्री दिँदै उनले भनिन् यो चार्ज गरेको २ सय लाग्छ नि। उनले मोबाइलको चार्जको पैसा भने लिइनन्। आज भने कोठाको चावी भेटिएको थियो। म कोठामा गएपछि नेट चलाएँ। सुस्त सुस्त गतिमा नेट चल्यो। त्यसपछि मैले च्छोरोल्पा पुगेको तस्विर पोष्ट गरें। धेरै समय लिएर पोष्ट भयो।

वत्ती अझै आएको थिएन। त्यसपछि गलेर लखतरान परेको ज्यान निन्द्रा लागिहाल्यो। 

पाँचौ दिन 
विहानको साँढे आठ बजे होटलमा हिसाब गरेर म निस्किएँ। अस्ती भेटेको गुम्बा विद्यालयमा एउटा ठूलो ढुंगा थियो। त्यसमा पुरै वौद्ध मन्त्रहरू लेखिएका थिए। त्यसकै छेउमा खेलमैदान थियो। भलिवलको नेट टाँगिएको थियो। खेलले शान्ती ल्याउँछ कि शान्तीले खेल। यहाँ त दुवैको मेल भएको अवस्था थियो। 


अस्ती जाँदा चौरी खाएको ठाउँको थोरै मात्र अगाडि एकजना मानिस खोलाबाट पानी बोकेर ल्याउँदै थिए। जाडोको समयमा पाइपबाट पानी आउँदैन। खोलाबाट ओसारेर दैनिकी चलाउनपर्छ। यसै भएको हुँदा अफसिजनमा जाने पर्यटकहरुले बास पाउँदैनन। यो देखेपछी सुर्मुचेमा बोलेन्द्र सरले भनेको कुरा मैले सम्झिएँ। मैले माथि बाटोबाट उनको फोटो खिचें। उनीसँग अलिकती कुराकानी भयो। उनले आफ्नो उमेर ठ्याक्कै बताउन सकेनन्। ८० वर्ष पुग्न ६ वर्ष बाँकि छ। आङतेन्जिङसँग मैले च्छोरोल्पा तालको आकार वढ्दै गएको भन्ने विषयमा प्रष्ट हुन खोजें। उनले आकार वढ्दै गएको वताए। हामी त्यहाँ त गाइवस्तु लिएर जान्थ्यौं। 

चौंरी: बेच्ने त भनेको किन्ने छैनन्!
मैले अर्को सवाल अस्ती बाघले खाइदिएको चौरीको मोलका बारेमा राखें। उनले १०-२० हजार परेपनि अहिले गाउँमा किन्ने मानिस नै नभएको बताए। गाउँमा बस्ने मानिस छैनन्। चौंरी पाल्नुभन्दा शहर वा विदेश पसेर कमाइ बढी हुने भो। कसले यो अनकण्टार गाउँमा बसेर चौंरी चराओस ? 

पानी राम्रोसँग नपरेपछि यहाँ आलु गत वर्ष पनि फलेन। यो वर्ष पनि फल्ला जस्तो छैन। आलु बाहेक यहाँ उब्जने सागमात्रै हो। त्यो पनि आकाशे झरिको भरमा। किमजुङले वेलुका होटलमा वताएकै कुरा यहाँ आङतेन्जिङले दोहोर्‍याएका थिए। 

ठाङदिङ आइपुग्दा १० बजेको थियो। आधा घण्टामा मैले सिकारी दोभान पार गरिसकेको थिएँ। उकालो जान पो गाह्रो। ओरालो त हुत्तिए पनि तलै पुग्ने त हो। रोल्वालिङ खोला मेरो सामुन्नेमा वग्दै थियो। पर हिमालमाथि वादलहरू दगुर्दै गरेको देखें। एकै दृश्यमा पानीका तीन रूप। ठोस, तरल र ग्यास। मैले तस्विर लिएँ। यस्तो सौन्दर्य कति ठाउँमा देखिएला ? यहि सुन्दरता मात्रै भजाएर पनि नहुने रछ। नत्र दैनिक श्रम बेच्न खाडीमा र वाँकी जीवन उतै विताउन अमेरिका अष्ट्रेलिया जान नेपाली के मरिहत्ते गर्थ्यो होला र?

म डोगाङको नजिक आइपुगेको थिएँ। ढलेका रुखहरू त्यत्तिकै थिए। जंगलमा अलिक पहिला ढलेका रूख कुहिन कुहिन लागेको मैले यात्राका क्रममा धेरै पटक देखेको थिएँ। ढलेका रूखहरू यता कुहिएर जान्छन्। अचेल नेपालमा काठ चैं विदेशबाट आउँछ। सरकार वातावरण संरक्षणका नाममा आफ्नै बारीमा हुर्केका रूख काट्दा पनि कानुन लगाउँछ! 

म एकछिन सुस्ताउन बसें। छेउमै रोल्वालिङ खोला वगिरहेको थियो। समय विताउन म आफूसँग भएको पुस्तक पढ्न लागें। एकजना महिला डोगाङतिरबाट आइन्। उनले झोला बोकेको थियो। झोला अलिक गह्रुंगै हो कि जस्तो थियो। कम्मरमा खुकुरी भिरेकी थिइन। यो अनकन्टार जंगलमा आफ्नो सुरक्षाका लागि थियो होला। टाउकोमा आफैंले बुनेको स्कार्फ थियो। 

वेदिङसम्मै जानुहुने हो ? कुराकानी मैले नै सुरु गरें। उनको घर नै वेदिङ रहेछ। माइती सिमिगाउँ। माइतबाट घर हिँडेकी। मैले उमेर ४० को आसपास अनुमान गरेको थिएँ। उनले आफ्नो उमेर ५० वर्ष भएको वताइन्। 

सिमिगाउँबाट वेदिङ दुर्गम हो। सुगमको मानिसले दुर्गम रोज्यो कसरी। मानिसको स्वभाव नै सजिलो खोज्ने हो। हिजोभन्दा आज सरल र सहज जीवनयापनका लागि मानिस दौडेको दौडेकै छ। उनको सन्दर्भमा यो विपरित भयो कसरी ? कसैको करकाप पो थियो कि। 

मैले आफ्नो मनको शंका निवारण गर्न कुराकानी त्यसैमा केन्द्रित गरें। उनको विहे गर्ने बेलामा सिमिगाउँबाट आलुको विउ लिन वेदिङ पुग्नुपर्थ्यो। आफैंले अन्न बोकेर जानुपर्थ्यो। त्यहाँसम्म अन्न बोकेर जानुभन्दा उतै विहा गरे सुख पाइएला भन्ने भो। उनको त्योबेला मनले भनेको कुरा यहि थियो। कुनामा पो परियो। पहिला चैं मान्छे त्याँ कसरी पुग्यो होला ? उनको मनमा यो जिज्ञासा आज पनि छ। 

मैले नाम सोध्दा उनले पासाङ भनिन। कुराकानीकै क्रममा उनले विष्कुट निकालिन। मलाई पनि सँगै खान प्रस्ताव गरिन। मैले ढिलोसँग विस्कुट खाएँ। उनले हिसाबै गरेर आधा विष्कुट नखाइ हुन्न भनिन्। मैले अस्विकार गर्न सकिन। मैले पानी खानुस भन्दा उनले त्यसले उकालो चढ्दा असर गर्छ भनेर मानिनन्। 

नेपालीहरूको स्वभाव मलाई गज्जब लाग्छ। अपरिचितहरूलाई विश्वास गर्छन्। मनपेट खेल्छन्। अहिलेको शिक्षा सभ्यताले त्यसलाई खराब ठान्छ। नयाँ मानिससँग दूरी बढाउ भन्छ। मानिस मानिससँग अन्तर्क्रिया हुन रोक्ने कस्तो सभ्यता ? कस्तो विकास ?

डोगाङनिर ३ जना विद्यार्थीहरू ड्यु, कोक पिउँदै थिए। मलाई अघि नै पासाङले ती माथि गुम्बामा पढ्ने विद्यार्थी भएको वताएकी थिइन। अलिक परतिर एकजोडि २५-३० वर्षका देखिने युवा युवती थिए। खोलाका छेउमा एकले अर्कोलाई तस्विर खिचिदिँदै गरेका। 

डोगाङका होटलहरू छाडेर जंगल पस्दा मैले अर्को जोडि भेटें। कुराकानी भने भएन। मैले पनि बोलाइन उनिहरूले पनि बोलाएनन्। 

क्याल्चे होटलको बाहिरपट्टी रहेको टेबुलमा एकछिन बसेर मैले घाम तापें। स्थानीय तहका महिला प्रमुखहरूबारेमा केही पढें। 

अगाडि जंगलमा बाँदरहरू भेटिए। म सुसेल्दै गएँ। मलाई देखेर बाँदरहरूले बाटो छाडिसकेका थिए। तर तलमाथिबाट गहिरो नजर दिइरहेका थिए। 

तिनीहरूको समूह म अगाडि बढेपछि उतै छुट्यो। सुर्मुचेमा आउँदा होटलमा चिया खाने मेरो मनसुवा थियो। ताला लागेको थिएन त्यसैले होटलका मानिस त्यहीँ छन् भन्ने लख काटेँ । होटलमा बोलाएँ, कोही बोलेन। मैले बाटो तताएँ। 

विद्युतीकरणः बत्ती बाल्न मात्रै हो?
अलिक तल एकजना महिला डोकोमा सामान लिएर उकालो आउँदै थिइन्। उनले डोकोमा ग्यास बोकेकी थिइन। अरु पनि सामग्री थियो। मैले सामान लगेको कति रूपैयाँ लिनुहुन्छ भनेर सोधेँ । उनले आफ्नै होटलका लागि भएको बताइन्। बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगिसकेको ठाउँमा अझै हामीले विद्युतीय चुल्होहरूको प्रयोग बढाउन सकेका छैनौं । यसको दायित्व कसको हो ? यत्रो खर्च गरेर वेदिङमा विद्युत पुर्‍याएपछि त्यहाँ अझै ग्यास बोकेर लानुपर्ने। बिजुली बत्ती बाल्नैका लागि मात्रै त हैन होला।

बोलिन्द्र सरले सिमीगाउँभन्दा रिगुबाट जान छिटो पर्छ भनेका थिए । म सिमिगाउँ नगइ रिगुगाउँ जाने पुल तरें। पुल तरेपछि नदीको किनारै किनारको बाटो अलिक तलसम्म गएँ । बिस्तारै नदी र बाटोको दूरी बढ्दै गयो। बाटो उकालो लाग्यो । मैले चल्तीकै बाटोलाई पछ्याएँ । चौतारो भेटियो। एउटा बाटो ओरालो र अर्को उकालो लाग्थ्यो । उकालो बाटोले रिगु गाउँ पुर्‍याउँथ्यो। म जानुपर्ने बाटो ओरालो थियो। 

ओरालो अलिकति झरेपछि अर्को चौतारो भेटियो। चौतारोसँगै धारा। यो खानेपानी नै थियो भन्ने भएपछि मैले अघाउँजी पानी खाएँ। अझै अगाडि बढ्दा मैले एकजना मानिस मतिर उकालो चढ्दै गरेको देखें। उनी रिगु गाउँका खड्का रहेछन्। माथिल्लो तामाकोसीमा रोल्वालिङ खोलाको पानी लैजानका लागि निरन्तर वार्ताहरू भइरहेको उनले बताए। ‘हामीले बोलेरो आउने बाटो चाहिन्छ भनेका छौं। कुरा मिलिरहेको छैन’ उनले मलाई बताए। 

म अस्ति आउँदा छुटेको बाटो जोडिँदा साढे ४ भएको थियो। यहाँ आउँदा मैले भारी बोक्न गधाको पिठ्युँमा लगाइने सामग्री सडक छेउमा देखें। त्यसको तस्विर पनि खिचें। 

गोगरमा आउँदा मैले गुम्बाडाँडामा रहेको गुम्बामा जान उकालो लागें। त्यहाँ २० मिनेटको समय लाग्ने बताइएको थियो। करिब १ घण्टा हिंड्दापनि नभेटिएपछि म गाउँ पुगेर फर्किएँ। रात परिसकेको हुँदा म साथी सोनामकोमा गएर बसें। यादव आचार्य भेटिए। उनले च्छोरोल्पा जाँदाका धेरै किस्सा सुनाए। 


दूधकुण्डमा पानी खाँदा विरामी परेको पनि सुनाए। मैले चितुवाको सम्झेर देखाएको पाइला उनले ब्वाँसोको भएको बताएँ। मैले उनको कुरा सुनेपछि त्यो चौंरीको घाउ सम्झँदा हो जस्तै लाग्यो। घाइते चौंरीको पछाडीको तिघ्रातिर घाउ थियो। चितुवाले त गर्धनमा पो समाउनुपर्ने।

खुट्टा रमरम दुखिरहेका थिए। म आफैंमा भने प्रसन्न थिएँ। अफसिजनमा एक्लै च्छोरोल्पा पुगेर फर्किएको थिएँ। कुनै कठिनाई नझेलीकनै। बाटाका अनकन्टार ठाउँ फेरि सम्झिएँ। त्यहाँको जनजीवन सम्झिएँ। विकास भएन भन्ने बहस सम्झिएँ। बेदिङमा टेलिफोन सेवा उपभोग गर्न पाउनु विकास हो कि हैन? राष्ट्रिय प्रसारणको बिजुली बाल्न पाउनु विकास हो कि हैन? सम्झि ल्याउँदा म आफैं रनभुल्ल परें। 

साथी सौरभले एकदिन भनेको थियो। हाम्रो नेतृत्वले विकास भनेको सडक मात्रै बुझ्यो। उसले कुनै दिन च्छोरोल्पासम्मै सडक पुर्‍याइदिन सक्छ। सुत्नै लाग्दा मनमा तर्कना उठ्यो साँच्चै विकास भनेको हो चैं के। ना, वेदिङ, डोगाङ जस्ता ठाउँमा विकास गर्न के गर्नै पर्ला ? अनि के गर्न रोक्नु पर्ला?

यो सामाग्री नलाइन खबरमा २०८० वैशाख २३ गते १८:५७ मा अफसिजनमा च्छोरोल्पा शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना