• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सन्दिग्ध शताब्दीः कविताजस्तै निबन्ध !

संदिग्ध शताब्दी पढिसकेपछि म फिसिक्क हाँसेको थिएँ । ८४ पेजमा रहेका १४ निवन्ध पढ्नलाई मैले पुरै २ महिना लगाएछु । कविताजस्तै पढेपछि ठाउँठाउँमा घोत्लनुपर्ने खालका निवन्धहरु थिए नि त । 



निबन्धकार श्रीबाबु कार्कीको पहिलो पहिचान कवि हो । यसका साथै चित्रकारका रुपमा पनि उहाँको परिचय छ । यसै भएर पनि हुन सक्छ निबन्ध पढ्दै गर्दा कविता पढेको जस्तो लाग्छ । सन्दर्भवश धेरै कविहरुका कविता पनि समावेश छन् निवन्धमा । यसले निबन्धमा मिठास थपिदिएको छ । आफ्नै कविता पनि छन् कतैकतै । 


निवन्ध पढ्दै गर्दा एकैछिनमा गाउँतिर पुगिन्छ । एकैछिनमा शहर । विभिन्न चित्रहरु देखा परिरहन्छन् । क्यानभासमा भएका चित्रहरु अवलोकन गरिरहेको जस्तो लाग्छ । झट्ट हेर्दा एकथरी देखिएको चित्र नियाल्दै गर्दा अर्कै भएको जस्तो अनुभुती हुन्छ ।


यो असार महिना । खेतीपातीको मौसम । निबन्धकार असार महिनामा आफ्नो चनौटे खेत सम्झन्छन । कंकृटको शहरमा दहि चिउरा खाँदै गाउँको रोपाँइ सम्झन्छन् । धान रोप्दा गाँइने असारे सम्झन्छन् । गुनगुनाउँछन् । विर्सनै लागेको बेठी सम्झाउँछन् । त्यसैमा जीवन दर्शन पस्कन्छन ‘असार किसान र माटोबिच प्रेम मौलाउने महिना। असार धरतीले हरियो पछ्यौरा पहिरेर समृद्धि मुस्कुराउने याम । असार धरतीले शृङ्गार गर्ने महिना ।’(हृदयमा बयली खेल्दै असार)


आजकालको दैनीकीमा विस्तारै मानवियता घट्दै छ कि भन्ने चिन्तासँगै ढुंङ्गा पो भएछु अचेल भन्ने निबन्ध तयार भएको छ । यो दौडधुपबाट भागेर चुपचाप चुपचाप ढुंगाजस्तै हुँदा पो राम्रो होला कि भन्ने पनि छ । 


निवन्धमा उनी भन्छन् `जीवन त ढुङ्गाको पो सहि । ढुङ्गाको कुनै सपना हुँदैन । ढुङ्गाको कुनै ईर्ष्या, लोभ र मोह हुँदैन ।´


अनेकन गन्थनहरु गरेपछि उनी मानव जीवनकै महत्व भएको सप्रमाण पेश गर्छन । यो खालका शैली उनका सबै निवन्धहरुमा पाइन्छ । यसले नै निवन्धहरुलाई खास बनाएको छ। 


हामीले दैनिक जीवनमा भोगिरहेका विभिन्न पक्षहरुलाई मसिनोसँग केलाइएको छ निवन्धहरुमा । रिस मानव स्वभाव नै होला । रिस निवन्धमा उनले रिसहरुको वर्गिकरण नै गर्न भ्याएका छन् । हाम्रा चलनचल्तिमा रहेका शब्दहरुलाई टपक्कै टिपेर त्यसमा बान्की भर्न सक्नु उनको खुबी हो । 


नितान्तै व्यक्तिगत कुरालाई पनि उनले निवन्धका विषयवस्तु बनाएका छन् । अस्पतालमा विरामी कुर्नुपर्दाको क्षणका बारेमा रचित निवन्धसंग्रह यस्तै एउटा उदाहरण हो । प्रस्तुतीकरणका शैलीले नितान्तै व्यक्तिगत विषय पनि सामुहिक विषय बनेको छ । उनको भोगाईसँगै पाठक आफु त्यसैमा डुब्न पुग्दछ । 


कोभिड १९ को सुरूवाती त्रासदी भनिसाध्य थिएन। विश्वकै नयाँ रोग। उत्पत्ति कसरी भयो? निवारण कसरी? सबै अलमलमा थिए। यहि बेलामा अस्पताल बस्नुपर्दाको अनुभव उनले नियतिको आकस्मिकतामा उतारेका छन् । निवन्धमा उनी भन्छन् `…यत्ति हो नियतीको बज्र कसले कतिखेर सहनुपर्छ । त्यो क्यालेण्डरमा लेखेजसरी नआउने रहेछ…´


सत्य ढाकछोप गर्नुपर्ने हाम्रो तौरतरिकालाई जीवनको पार्श्वमा मृत्युभय ! निवन्धमा कार्की मृत्युचिन्तन गर्छन् । बाँच्नकै लागि अनेकन तिकडमहरू अपनाईरहेको यो परिवेशमा उनले प्रतिगामी हुन रहर गरेका छन् । जीवनको सत्यलाई स्विकार्दै अघि बढ्नुको विकल्प नरहेको तथ्यमा छलफल चलाएका छन् । चर्चित गित `मर्ने कसैलाई रहर हुँदैन…´ देखि `आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो…´ भन्ने नेपाली समाजको चर्चित कविता उनले आफ्नो तर्क सावित गर्न प्रयोग गरेका छन् । 


उनका १४ निवन्धमा १४ प्रकारका परिवेश छन् । एउटै पात्रको पनि विभिन्न भोगाई छ । निवन्धकार कहिले किसान हुन्छ । कहिले दार्शनिक हुन्छ । कहिले प्रेमिल जोडी हुन्छ । कहिले रिसाईरहेको मानिस । वास्तवमा भन्ने हो भने जीवन भनेकै विभिन्न अवस्था परिवेशहरूको जोडजाड न हो !


निवन्धकार यात्रा गरिरहन्छन् । कहिले आफ्नो गाउँको चनौटे बेंसी पुर्‍याउछन् । कैले सुनसान बन्न लागेको आफ्नो गाउँको अवस्था वर्णन गर्छन् । लगभग यो पुस्ताले विर्सनै लागेको पत्रमार्फत साथी बनाईने पत्रमित्रताको समय सम्झाउँछन्। निबन्ध पढ्दै गर्दा लाग्छ। हामीले कस्ता कस्ता समय भोगेर आयौं! साँच्चिकै त्यस्तो थियो र?


अन्तमा, निर्वर्जित मन निवन्धक‌ै एक अंशसहित यो सामाग्रीको टुंग्याउनी `…मानिस भ्रम र भ्रान्तीको चक्रव्युहमा धेरैपटक फस्छ। हाम्रो निधारभित्रको कराइमा सधैं उम्लिरहेको हुन्छ खिचडी । पाकिरहन्छ कैयौं कैयौं विषय । अविरल चलिरहन्छ चेतनाको भट्टी…´

यो लेख इकागज अनलाईनमा असार ३०, २०८० ११:४५ बजे  सन्दिग्ध शताब्दीः कविताजस्तै निबन्ध ! शीर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना