• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कान्तिपुरको आँखाः २० वर्ष २ महिना अघिको माओवादी आन्दोलन!

२०५२ सालदेखी २०६२ सम्म नेपालमा चलेको जनयुद्धमा दोलखा पनि प्रभावित भयो। जनयुद्धको समयमा बेदिङ क्षेत्रको भ्रमण गरेका कान्तिपुरका पत्रकार राजेन्द्र मानन्धरले २०६० साउन १ गते कान्तिपुर दैनिकमा सो बारे संस्मरण लेखेका छन् । सगरमाथा चढ्नेहरूको गाउँ जाँदा भेटिएका माओवादी शिर्षकमा लेखिएको सामाग्रीले अहिले त्यस बेलाको परिवेश बुझ्न सजिलो होला भन्ने आशयका साथ यो सामाग्री प्रकाशन गरिएको छ।

झमक्कै साँझ परिसकेको थियो रोल्वालिङको शेर्पा बस्ती बेदिङ गाउँ पुग्दा । दोलखाको सदरमुकाम चरिकोटबाट पाँचौं साँझ मुस्किलले बास बस्न त्यहाँ पुगेका थियौं । साझको हिम सिरेटोले लगलग काँप्दै बेदिङ गाउँ पस्नमात्र के पाएथ्यौं । एउटा अधबैंसे युवती हातको इसाराले हामीलाई रोक्दै अगाडि बढिन् । उनको इसारा कुनै खतराको संकेत हो भन्ने लाग्थ्यो । हामी एउटा घरमा छेलिएर अडियौं । नजिकै आइपुगेकी ती युवतीले सचेत गर्दै भनिन्- 'यो गाउँमा ३५ जना माओवादी बसेका छन्, तपाईंहरू अगाडि नबढ्नुस् !'

ड्रेस र बन्दुक बोकेका माओवादीहरू च्छोरोल्पातिर जाँदैछन् भन्ने कुरा हामीले बाटोमा नै सुनेका थियौं । रोल्वालिङ क्षेत्रकै सिमीगाउँमा काठको ढोका बनाएर उनीहरू त्यतातर्फ गएका रहेछन् । हामीलाई रोक्ने महिलाको अनुहारमा त्रासको रंग स्पष्ट देखिन्थ्यो । उनको आग्रहसँगै हामी अडियौं । हाम्रो समूहलाई माओवादीसँग कुनै खतरा थिएन । उनीहरूसँग भेटेर कुरा गर्ने हाम्रो चाहना हुँदाहुँदै पनि महिलाको आग्रहलाई स्वीकारेर उनकै पछि लाग्यौं सुरक्षित घरतिर । किनभने हाम्रो टोलीलाई बास पाइँदैन कि भन्ने चिन्ता बढी थियो । करिब पाँच दर्जनमात्र घर भएको बेदिङवासीमध्ये अधिकांश अर्को गाउँमा खेती लगाउन गएका रहेछन् । पर्यटकलाई सेवा गर्न बसेका केही घरबाहेक सबैजसो घरहरूमा मान्छे थिएनन् । विभिन्न घरमा फिंजारिएर माओवादी बसेपछि हामीलाई टुकी पनि जलाउन नदिई अगेनामा दाउरा बालेर चियादानीमा पानी बसालिन् । 'माओवादीलाई आलु र पिठो झिकिदिएर तपाईंहरूलाई खाना पकाउन आउँछु' त्यसो भन्दै महिला गइन् । हामीलाई बसाइएको घर पनि आफ्नै भएकाले ढुक्क हुनसमेत महिलाले सुझाइन् ।

राती नौ बजिसकेको थियो । अँध्यारो कोठा, पिलपिल अगेनामा बलेको आगोको सहारामा हामी तीन जना घरबेटी महिलाको प्रतीक्षामा थियौं । ३ हजार ६ सय ९० मिटरको उचाइमा हिमालको घेराभित्रको गाउँ बेदिङमा चिसो बढ्दै थियो । चिसो र भोकको पीडा सहनै नसक्ने भएपछि सहयोगी मीनबहादुरले आलु खोजेर उसिन्न थाले । सोनाम छिरिङ स्मृति प्रतिष्ठानका अध्यक्ष तथा इन्जिनियर महेन्द्रबहादुर कार्की थाकेको अनुभव गर्दै स्लिपिङ व्यागभित्र गुटुमुटु पर्नुभयो । मीनबहादुर र म आलु खाँदै भोक मार्न थाल्यौं । ११ बजेतिर महिला आएर खाना पकाएर खाँदा बाह्र बजिसकेको थियो ।

बेदिङका तीन दर्जन युवाले सगरमाथाको सफल आरोहण गरेका छन् । तीन सय जति जनसंख्या भएको बेदिङबाट त्यति धेरै युवाले हिमाल चढेको जानकारी लिने उत्सुकताले नै समूहका अरू साथीलाई छाडेर त्यहाँ बास बस्न पुगिएको हो । प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पालाई सगरमाथा पुर्‍याउन मद्दत गर्ने सोनाम छिरिङ शेर्पाको घर पनि वेदिङ नै हो । पासाङ र सोनाम सगरमाथा पुगेर फर्कदा एकैपटक हिउमा हराएका थिए । पछि पासाङको शव भेटिए पनि सोनामको शव भने अहिलेसम्म सगरमाथाबाट फर्कन सकेको छैन । यस्तै ऐतिहासिक पृष्ठभूमिबाट अभिप्रेरित हुँदै म र सोनाम छिरिङ प्रतिष्ठानका अध्यक्षलाई बेदिङ पुग्न हतारो थियो । त्यसैले साथीहरूलाई छाडेर एक बास मिच्दै बडो कठिनसँग त्यहाँ पुगिएको थियो ।

सिमीगाउँबाट पर्यटकहरू क्याल्चे वा डोवाङ बास बसेरमात्र बेदिङ जाने गर्छन् । गाउँलेको हुटहुटीमा लागेर हामी भने साथीहरूलाई डोवाङ बास बसेर आउने सल्लाह दिँदै कस्सियौं । जंगलैजंगलको लेकाली बाटो हिँड्न कठिन भए पनि बेदिङ पुगेरै छाड्ने लक्ष्य हाम्रो थियो । जति माथि गयो उति अक्सिजनको समस्याले हिँड्न सकिंदैन थियो । सातु, लसुन र बिस्कुटको सहारा लिंदै उकालो लाग्दा पाइला सार्न नसकिने अवस्था भयो । लौरो, भित्ताको सहारामा घस्र्दै बल्लतल्ल एउटा गाउँछेउ पुगियो । तर, त्यो गाउँ बेदिङ भने होइन रहेछ । गाउँमा चार दर्जन जति घरहरू छन् । अब अगाडि बढ्न नसक्ने महसुस भएपछि महेन्द्र दाइले थाकेको स्वरमा भन्नुभयो- 'राजेन्द्र अब यहीं बसौं ।' सदरमुकाम चरिकोटबाट लगातार चार दिनसम्म सँगै विभिन्न रमाइला र उपयोगी गफ लगाउँदै बाटो कटाउने दाजुको स्वरमा सिथिलता आएको महसुस गरी मैले पनि त्यहीं बस्ने सहमति जनाएँ । तर, अचम्म ! गाउँमा कोही रहेनछन् । घर सबै तालाबन्द छन् । हरेक घर चहार्दा पनि मान्छे नभेटिएपछि फेरि अगाडि बढ्नै पर्‍यो । 'अब एक घन्टा छ सर, बढौं अघि ।' धेरै चोटि भरिया कामले हिँडडुल गरेका सहयोगी मीनले भने। मीनबाट थाहा भयो- त्यो गाउँको नाम निवारे हो । बेदिङवासी जाडो छल्नमात्र हिउँ परेका बेला निवारे झर्ने गर्छन् । निवारे, बेदिङ, ना गाउँ फरक भए पनि गाउँले भने एउटै रहेछन् ।

भोलिपल्ट सवेरै माओवादीसँग भेटघाट गर्न भएभरका लुगा भिरेर बाटोमा झर्‍यौं। सिठ्ठी फुकेपछि विभिन्न ठाउँमा छरिएर बसेका माओवादीका सेनाहरू एकत्रित हुँदै थिए। त्यो समूह कमान्डर अरुणसँग आएका १ नं. बटालियन भएको माओवादीबाट नै थाहा भयो। केटाकेटीदेखि युवा उमेरका महिला-पुरुष सबै सैनिक पोसाकमा सजिएका थिए । पेस्तोल भिरेका एक युवकले हामीलाई सामान्य जानकारी दिँदै अरू कुरा कमान्डरसँगै बुझ्न सुझाएर बाटो लागे । अरुण, एक महिलासहित तीन जनाको समूह च्छोरोल्पाबाट फकदै गरेको पनि थाहा भयो । हात लम्काए पनि भेटिने चारैतिर हिमालले घेरिएको सुन्दर वेदिङका फोटा र जानकारी संकलन गर्दै हामी एउटा होटलमा तातो पिउन पस्यौं । होटलकी महिला माओवादीले ढिंडो पकाएर खाएको ठूलो डेक्ची र भाँडाकुँडा माझदै रहिछिन् । आफूले खाएको भाँडा आफैँले माझ्नुपर्ने उनीहरूको सिद्धान्त भए पनि कामरेडहरूले अल्छी गरेछन्, हामी यस्तो अनुभव गर्दै थियौं, त्यतिखेरै अरुणको टोली आइपुग्यो । चिनजानपछि उनीहरूसँग सौहार्दका साथ कुरा भयो । युद्धविरामको बेला फुर्सदमा च्छोरोल्पा ताल हेर्न र सिमीगाउँमा डोको निर्माण गर्न उनीहरू रोल्वालिङ खटिएका रहेछन् ।

पैदल यात्रामा देशकै महत्त्वपूर्ण मानिने रोल्वालिङ क्षेत्रमा विदेशी पर्यटकको धुइरो लाग्छ । बेदिङ, ना हुँदै च्छोरोल्पा जाने र त्यहाँबाट हिमाल छिचोल्दै सगरमाथा जाने पर्यटकहरूको चापले बेदिङ र नाको व्यवसाय फस्टाएको छ । बेदिङबाट तीन घन्टा हिंडेपछि ना पुगिन्छ । त्यहाँबाट दुई घन्टा उक्लिएपछि च्छोरोल्पा पुगिन्छ । सदरमुकामबाट विकट क्षेत्र रोल्वालिङ पुग्ने पर्यटकसँग माओवादीले चन्दा असुल्ने गरेको कुरामा भने स्थानीयहरूलाई बढी नै चित्त दुःखेको रहेछ । पाहुनालाई पैसा मागेर दुःख दिन थालेपछि पर्यटकको आवतजावत कम हुन्छ भन्ने चिन्ता उनीहरूलाई रहेछ । माओवादीबाट हाम्रो टोली पनि चन्दा असुलाईमा पर्ने हो कि भन्ने त्रासले जोगाउन खोजेको महिलाले सुनाइन् । हाम्रो टोली र माओवादीबीच लामो कुराकानी भएको देखेपछि महिलाले ठट्यौलो भाषामा भनिन्- यसरी त माओवादीसँग कसैले पनि कुरा गर्न सक्दैन थिए, कहीं तपाईंहरू पनि माओवादी नै त होइन ? पुरुषहरू सबै हिम आरोहण पेसामा संलग्न भएकाले बेदिङमा महिला, बूढाबूढी र केटाकेटी मात्र भेटिन्छन् । नौ दिनपछि फर्केर सिंगटी बजार आइपुगेपछि माओवादीका जिल्ला इन्चार्ज अस्मितासँग रोल्वालिङ क्षेत्र जाने पर्यटकसँग चन्दा असुल्ने कुराले त्यस क्षेत्रको पर्यटन व्यवसायमा असर परेको जानकारी गराउने अवसर पनि मिल्यो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना