• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

दशकअघिको त्यो एउटा पत्र र केहि सम्झना !

पछाडी फर्कनु सामान्यतया राम्रो मानिन्न । मान्छे अझ भनौं प्रकृतिको स्वभावै हो अगाडि जाने । अगाडि जाने स्वभावकै कारण आज संसारमा प्रतिष्पर्धा छ प्रगतिको । विकासको । अग्रगमनको । 


यो सामग्री भने झण्डै १ दशक पूरानो हो । कैलेकाँही पछाडि फर्केर हेर्नु पनि रमाइलै हुने रहेछ । एकदमै छोटो समयको भेटमा सुदर्शन खतिवडा सरले यो सामग्रीका लागि उत्प्रेरित गर्नुभो । मैले रेडियो शैलुङ दोलखामा चलाएको तार्किक निश्कर्ष कार्यक्रमका बारेमा सामग्रीका लागि । अलिकति तत्कालै लेखेको पूरानो सामग्री र केहि थपथाप सम्झनाहरू !

… 

झण्डै ३५ अंक प्रसारण भइसक्दा पनि कसैले एउटा पत्रसम्म लेखेनन् कार्यक्रमका लागि । प्रत्येक कार्यक्रमको अन्तमा कार्यक्रमका लागि प्रतिक्रिया माग्नका लागि रेडियोको पत्राचार तथा इमेल ठेगाना दिने गरिन्थ्यो । बाटोतिर भेट्दा कार्यक्रम राम्रो छ भन्ने भेटिन्थे कोही कोही । कुनै कुनै बेलामा मनमा आउँथ्यो, यत्ति धेरै दौडधुप गरेर बनाएको कार्यक्रम केहि न केहि कामको त भएको छैन ?



४५ मिनेटको कार्यक्रम, सरदरमा ६ जना वक्ताहरू । एक विषयमा कार्यक्रम अवधिभर पक्ष वा विपक्षमा मात्र रहनुपर्ने । धेरैजना मानिस रहेका कारण एकजना वक्ताले कार्यक्रमलाई जन्ति बहस भन्ने नाम पनि दिएका थिए । विषय खोज्यो उपयुक्त मान्छे पाईन्न । मान्छे भेटियो उनिहरूका समय लिन नै कठिन । समय लियो सबै मानिसहरू एकै समयमा आइदिन्नन । अगाडी आउने मान्छे दिक्क मान्न थालीसक्छन । अर्को पक्ष आइपुगेको हुँदैन । फोन गर्‍यो आँउदैछु भन्छन । कत्तिपटक त ल मैले विर्सेछु सरी है भन्ने जवाफ पनि आँउछ । बल्ल बल्ल समय मिलाएको मानिसलाई आज कार्यक्रम रेर्कड हुन सकेन भनेर फर्काउनुपर्दाको अप्ठ्यारो आफ्नै ठाँउमा छ ।


कार्यक्रमको तयारीका लागि पर्याप्त सामग्री पाइन्न । इन्टरनेटमा खोज्यो अधिकांश सामग्री अंग्रेजी भाषामा हुन्छन । ती पनि अन्य देशका । स्थानिय सवालसँग तिनको गोरु वेचेको साईनोसम्म पनि हुँदैन । केही सामग्री भेटियो भने तिनकै आधारमा आकलन गरेर विभिन्न विषयहरू वनायो कार्यक्रम चलायो ।


विभिन्न सवालहरूमा बहस चलाउने संस्था सामाजिक संवादका लागि सहकार्य (ASD)को एउटा कार्यक्रममा पोखरामा थियौं । कार्यक्रममा विभिन्न ठाँउबाट आएका साथीहरूले विभिन्न योजना पेश गरे । मसँग त्यस्तो कुनै योजना थिएन । म त्यहाँ योजनाका साथ गएको पनि थिईन । साथीहरूका योजना सुन्दै गर्दा एउटा रेडियो कार्यक्रम नै किन नबनाउने भन्ने लागेर हामी छलफलको एउटा रेडियो कार्यक्रम निर्माण गर्छौ भन्ने प्रस्ताव राख्यौं । यो प्रस्तावमा हौसला आएन वरु झारा टार्न बनाईएको प्रस्तावका रूपमा लिए सबैले । कार्यक्रम उत्पादनका लागि मसँग त्यस्तो ज्ञान थिएन । समाचार संकलकका रूपमा मैले रेडियो पत्रकारीता सुरु गरेको थिएँ । त्यसमा पनि रेडियो पत्रकारीताका लागि नभै नहुने आधारभुत रेडियो पत्रकारीता तालिम पनि लिएको थिइन ।


एकजना मानिसलाई ल्याएर अन्तरवार्ता गर्ने काम त सबैले गरिरहेका नै थिए । त्यो काम गर्दा कुनै पनि नयाँपन ल्याउन सकिने थिएन । सामुहिक रूपमा मानिसहरू वोलाएर गरिने अन्तरवार्ता पनि केही ठाँउमा गरिएकै थियो । हामीले त्यसभन्दा अगाडी गएर कुनै एक सवालमा पक्ष र विपक्ष नै जम्मा गर्ने योजना निर्माण गरियो ।


कार्यक्रम १० अंक जत्ति चलाउन सकिएला त्यसपछि त्यत्ति नै बेला सोचौंला जतिखेर आवाश्यक पर्छ भन्ने सोचाई थियो सुरुमा । पछि गर्दै जाँदा ३० अंक पूरा गरियो । त्यसपछि कार्यक्रम रोकियो नै । कार्यक्रम उत्पादनका लागि सहयोग गर्ने कोही सहयोगी पनि थिएनन् ।


एकदिन एउटा फोन आयो । मोबाईलमा नम्बर सेभ थिएन । आवाज युवती अझ भनौ किशोरीको थियो । उनले भनिन हामी तार्किक निष्कर्श पुन सुरु गर्नुपर्छ भनेर यहाँ सहयोग संकलन गर्ने अभियानमा छौ । म के जवाफ दिने के जवाफ नदिने अन्यौलतामा परें । 


स्थानीय ठाँउमा मानिसले एउटा रेडियो कार्यक्रमका लागि सहयोग उठाँउदा त्यसलाई कसरी लेलान भन्ने थियो । मैले त्यसै भएर म रेडियोसँग कुरा गरेर तपाँईलाई फोन गरौंला भनें । यसमा सहयोग लिने मनसाय भन्दा पनि टार्ने मनसाय थियो । 


फोन गर्ने रामेछापको सुमी मगर थिईन । रेडियोका धेरै कार्यक्रम नियमित सुन्ने श्रोता थिईन उनि । मैले युवाहरूका बारेमा केन्द्रित तन्नेरी पुस्ता चलाँउदा उनका पत्र आउने तथा मेरो मोबाईलमा म्यासेजहरू आउने गर्थे । 


कार्यक्रममा एस एम एस प्रतिक्रियाका लागि मेरो मोबाईल नम्बर दिने गरिएको थियो । मैले उनलाई चिनेको त्यत्ति सम्म मात्रै हो । पैसा उठाउने कुरा सुन्दा म अचम्ममा परें । लाग्यो यो किशोरमनको एउटा रमाईलो पूरा नहुने रहर हो ।


गाँउमा छँदा रेडियो धेरै सुनिन्थ्यो कत्ति कार्यक्रमहरू आँउथे र निश्चित समयपछि बन्द हुन्थे । बन्द गर्नुभएन भनेर चिठी पनि लेखियो होला थुप्रै पटक । तर यसरी साथीहरूविचमा पैसा नै उठाउन भने लागिएन । गाँउमै एउटा कार्यक्रम आयोजना गर्न पनि पैसा जम्मा हुँदैनथ्यो । पैसा उठाउने कुरा गर्दा मच्चिएर कुरा गर्नेहरू पैसा झिक्ने बेलामा भने विभिन्न बहाना राखेर तर्कने गर्थे । कत्ति पटक त साथीहरूका विचमा झगडै भएको छ ।


पैसा उठाँउछौं भनेको केहीदिनपछि फेरी फोन आयो । फोन गर्ने सुमी नै थिईन । हामीले अलिकति पैसा संकलन गरेर पठाएका छौं । त्यसले तपाँईहरूलाई अलिकती भए पनि सहयोग गर्ला भन्ने आश छ । कुराकानीका क्रममा अँ अँ । हो । ए । भन्ने भन्दा कुनै बढि कुनै कुरा भनिन । के भन्ने के नभन्ने भन्ने कुरा सोच्दा सोच्दै फोनको कुरा सकियो ।


एकदिन रिर्पोटीङ्ग सकेर रेडियो पुगेको थें । निर्मला दिदीले तपाँईलाई एउटा चिठी आएको छ भनेर भनिन । मलाई चिठीको बारेमा धेरै उत्सुकता जागेन । कसैले पठायो होला भन्ने सोचें । उनले चिठी रामेछापबाट आएको छ भनेर भनिन । मलाई चिठी सुमिले पठाएको होला भन्ने थियो । चिठी कहाँ छ भन्ने कुरा भयो । सबैले चिठी देखेको सम्म वताए । तर कसैले चिठी यहि ठाँउमा छ भनेर बताउन सकेनन ।


बल्ल बल्ल चिठी भेटियो । एकापट्टिको भागमा पुरै टिकटले छोपेको थियो । ५ रुपैंया जाने ४ वटा र १ रुपैंया जाने ५ वटा टिकटका कारण त्यस भागमा थोरै मात्र ठाँउ बाँकी थियो ।


चिठीमा रकम पनि छ भन्ने मलाई थाहा थियो । स्टेशन म्यानेजर रामचन्द्र गिरी आफ्नै कार्यकक्षमा थिए । मैले उनलाई चिठी देखाँए । सँगै कार्यकारी निर्देशक पनि थिए होम पाठक । उनिहरू दुवैलाई यसले उत्साहित पारेको थियो ।


खाममा चिठी । चिठी भित्र जतनसाथ बेरीएका नोटहरू २१ ओटा । जम्मा रकम १ हजार २ सय ८० रुपैंया । सबैभन्दा ठुलो नोट १ हजारको थियो । सानो ५ रुपैंयाको । त्यसभन्दा साना त छापिनै छोडीसके क्यार ।


चिठी पढें । धेरै कुरा लेखिएको थिएन । गौरीशंकर उच्च माध्यामिक विद्यालयमा पढ्ने साथीहरू विचमा संकलन गरिएको जानकारी र रकम प्रदान गर्ने २५ जनाको नाम थियो । स्कुले जीवन पैसा नै कहाँ हुन्छ र ? साथीहरू बिचमा १५ रुपैंयादेखी १ सय ५० रुपैंयासम्म उठाइएको रहेछ । धेरैले रकम दिने वाचा गरेर पनि दिएनन् पत्रमा लेखिएको थियो ।


नाप्ने आधार केलाई बनाउने भन्ने कुराले न हो धेरै र थोरै छुट्ट्याउने । यो अत्यन्तै धेरै ठूलो रकम थियो । विद्यार्थीहरूले आफ्नो गाँस काटेर जम्मा गरेका । त्यो भन्दापनि ठुलो कुरा कार्यक्रमको आवश्यकता कसरी महशुस गरिएको रहेछ भनेर थाहा पाउने एउटा माध्यम पनि भयो यो मेरा लागि ।


यो पत्रपछि कार्यक्रम पुन सञ्चालनमा आयो । केहि समयपछि मैले रेडियो छाडें । रेडियोसँग काम गर्दाका केहि गज्जबका अनुभवमध्ये यो विशेष अनुभव बनेर रहेको छ मेरो जीवनमा । आखिर जीवन भन्नु नै केहि आशा, केहि अपेक्षा, केहि अनुभव र केहि सम्झनाहरूको जोड न हो !

यो सामाग्री अनलाइन खबरमा २०८० साउन ६ गते १२:५२ मा दशकअघिको एउटा पत्र र केही सम्झना शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना